✍️ प्रा.डा.अर्जुनदेव भट्ट
विषय प्रवेश
बनावटको कारणले गर्दा प्रोष्टेट ग्रन्थि ठूलो वा सुकेर सानो भए पनि मूत्रप्रवाहमा अवरोध खडा गर्छ र थुप्रै समस्या उत्पन्न हुन्छन् । पिसाबमा देखिने समस्या के हुन् र त्यसको उपचार कसरी गर्ने ? भन्ने कुरा मूत्रलक्षणहरूको अध्ययन तथा स्वमूल्यांकन गरेर कसरी उपचारबारे निर्णय गर्न सकिन्छ ? यो प्रस्तुतिमा विश्लेषण गरिएको छ ।
मूत्रलक्षणहरू
प्रारम्भको अवस्थामा प्रोष्टेट ग्रन्थिबाट अवरोध सिर्जना हुँदा पिसाब फेरिसकेपछि अन्त्यमा पिसाब थोपा थोपा चुहिने हुन्छ । रोग विकसित भएपछि पिसाबको धारा कमजोर हुने, राति पिसाब फेर्न उठ्नुपर्छ । अवरोध बढ्दै गरे पिसाब फेर्न गएपछि तुरुन्तै पिसाब नआएर कुर्नुपर्ने तथा पिसाब धेरैपटक फेर्नुपर्ने हुन्छ । कसैलाई पिसाब लागेपछि रोक्नै नसक्ने वा चुहिनै हाल्ने तथा पिसाब फेरिसकेपछि थैली खाली नभएको अनुभव हुन्छ ।
प्रोष्टेट संलग्न मूत्रलक्षण प्रायः ४० वर्षपछि देखा पर्दछन् । यी लक्षण ग्रन्थिको साइज ठूलो भएर वा मूत्रनलीको सुरुको प्रोष्टेटले घेरिएको भागको लचकतामा कमी भएर पनि हुन सक्छन् । पिसाब फेर्न जाँदा केही समयपछि मात्र पिसाब हुने, पिसाबको धारा लुलो तथा मसिनो हुने, एकै पल्ट सरर सबै पिसाब नहुने, पिसाब फेरेपछि निख्रेको अनुभव नहुने, राति पिसाब फेर्न उठीराख्नुपर्ने जस्ता लक्षणले पुरुषलाई चिन्तित पारेका खण्डमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्दछ ।
पिसाबथैलीको मांसपेशी कमजोर हुँदै गएपछि पेटको र मलद्वार वरिपरिको मांसपेशी खुम्च्याउँदै कनेर पिसाब फेर्नुपर्छ । पुरुषलाई उपलब्ध गराइने ‘मूत्रलक्षण स्वमूल्यांकन तालिका’मा पछिल्लो एक महिनामा पिसाब कसरी भयो ? भन्ने विभिन्न सात प्रश्नमा कतिपल्ट कस्तो अनुभव भयो ? त्यसको आधारमा शून्य अंकदेखि पाँचसम्म अंक प्रदान गर्नुपर्दछ । प्रश्नहरूले अवरोधक (लुतो पिसाबको धारा, कनेर पिसाब फेर्नुपर्ने र रोकेर पिसाब हुने) तथा उत्तेजनात्मक (पिसाब फेरिसकेपछि निख्रेको अनुभव नहुने, छिटोछिटो पिसाब फेर्नुपर्ने, पिसाब रोक्न गाह्रो हुने, राति पिसाब फेर्न उठिराख्नुपर्ने) दुवै खालका लक्षणलाई समेटेको छ ।
उल्लेखित सात लक्षणहरूलाई मूल्यांकन गरेर बिरामी आफैँले आफ्नो रोगको अवस्थाको जानकारी पाउन सक्दछ । यी लक्षणकै आधारमा रोग कसरी विकसित हुँदैछ।, उपचार कति प्रभावकारी छ ? त्यसको अड्कल काट्न सकिन्छ । रोगको मूल्यांकन गर्न प्रश्न र उत्तरको ‘मूत्रलक्षण स्वमूल्यांकन तालिका’ बनाएर प्रस्तुत गरिन्छ । अनुभव गरेका लक्षणको जवाफले प्राप्त गरेको शून्यदेखि ३५ अंकको आधारमा मूत्र अवरोध तथा समस्यालाई तीन भागमा बाँडिन्छ ।
१. प्राप्त अंक १ देखि ७ सम्म भए हल्का अवरोध,
२. प्राप्त अंक ८ देखि १९ भए मध्यम खालको अवरोध र,
३. प्राप्त अंक २० देखि ३५ पुगे त्यस्तो अवरोधलाई कडा भनिन्छ ।
पिसाबका लक्षणहरू प्रोष्टेटको कारणबाट मात्र नभएर अरू कारणबाट हुनेभएकाले यी लक्षणलाई ‘प्रोष्टेट विशेष’ मान्नुहुन ।
उपचार केमा भर पर्छ ?
पिसाबमा हल्का अवरोध भए खासै उपचार गर्नुपर्दैन । तर, समस्याबारे चनाखो हुनुपर्दछ । छिनछिनमा पिसाब फेर्न उठ्न कम गर्न बेलुका धेरै झोलपदार्थको सेवन गर्नु हुँदैन । लिंगको अग्रचर्म नखुल्ने एवं त्यसको संक्रमण भए उपचार गर्नुपर्दछ ।
पिसाब लागेपछि ज्यादै अत्याउने र चुहिने समस्या मधुमेहबाट ग्रस्त बिरामीहरूमा बढी पाइन्छ । त्यसकारण रगतका चिनीको मात्रा ठीक राख्नुपर्दछ । पिसाबमा मध्यम अवरोध भए औषधि सेवन गरेर समस्यालाई समाधान गर्न सकिन्छ । बिरामीहरूले बेलुका र राति तरलपदार्थ कम प्रयोग गर्न, लिंग अग्रचर्मको सरसफाइमा ध्यान दिनु आत्यावश्क हुन्छ । साथै मूत्ररोग विशेषज्ञको सरसल्लाहअनुसार रगत र पिसाबको जाँच, अल्ट्रासोनोग्राफी र युरोफ्लोमेट्रीको परीक्षण गर्नुपर्छ ।
औषधोपचार गरे तापनि पिसाबमा संक्रमण भइराख्यो, पिसाबमा रक्तश्राव देखापरिरहृयो, मूत्रथैलीमा पत्थरी जम्यो वा पिसाब फेरिसकेपछि एक सय मिलिलिटरभन्दा बढी पिसाब बाँकी रहने गरिरहृयो भने प्रोष्टेटको शल्यक्रिया गराउनुपर्दछ ।
पिसाबमा कडा अवरोध भए प्रायः औषधोपचारको अर्थ हुन्न र प्रोष्टेटको शल्यक्रिया अनिवार्य गराउनुपर्छ । तर, बिरामी तथा उसका आफन्तसँग गहिरो परामर्श गरेपछि मात्र शल्यक्रिया गर्नुपर्दछ । उनीहरूले आफ्नो रोग के हो ? किन उपचार शल्यविधिबाट बढी उपलब्धिमूलक छ र शल्यक्रियापछि पिसाबका कुन-कुन लक्षणमा सुधार अपेक्षा गर्न सकिन्छ ? त्यो कुरा प्रष्ट बुझ्नुपर्दछ ।
शल्यक्रियाको लक्ष्य भनेको साँघुरिएको मूत्रनलीलाई आवश्यक मात्रामा वा केही प्रतिकूल अवस्थामा सम्भव भए जतिमात्र फराकिलो पार्नु हो । जसबाट बिरामीलाई पिसाब फेर्न सजिलो हुन्छ । शल्यक्रियाबाट निकालेको तत्नुको जाँच गरेर प्रोष्टेट गन्थ्रिको क्यान्सर भए, नभएको पत्ता लगाउनुपर्छ । यदि क्यान्सर देखापरे बिरामीलाई थप शल्यक्रिया तथा उपचार गर्नुपर्ने हुन सक्छ ।
लक्षण स्वमूल्यांकन र उपचार विधि
प्रश्न तथा उत्तरले बनेको ‘मूत्रलक्षण स्वमूल्यांकन तालिका’ सोझै पिसाबसँग सम्पर्क भएकाले पिसाबमा देखिएको अवरोध, यसको विकास र उपचारबाट लक्षणमा देखापरेको फरकलाई पहिचान गर्न तालिकाले सजिलो पार्छ । कुन उपचार कहिले गर्ने ? तालिकाबाट प्राप्तांकको आधारमा निर्णय गर्न सकिन्छ ।
पिसाबमा हल्का अवरोध हुँदा पुरुषले सचेत भएर जीवनशैलीमा फरक ल्याउनुपर्दछ तर मध्यमखालको अवरोध हुँदा औषधोपचार गर्नुपर्छ । औषधोपचारले फाइदा नभए वा उपलब्ध फाइदामा पुरुष सन्तुष्ट नभए शल्यक्रिया गर्नुपर्छ । मूत्रसञ्चालनमा कडा अवरोध भएको खण्डमा शल्यक्रिया प्रायः अनिवार्य हुन्छ । बिरामीको स्वास्थ्य शल्यक्रियाको निम्ति मेल नखाने र जोखिमपूर्ण भए औषधोपचारको फाइदामै चित्त बुझाउनुपर्दछ अथवा सधैंका निम्ति नली लगाएर पिसाब सञ्चालन गर्नुपर्छ ।
तरलपदार्थ प्रयोगको समय तथा मात्रामा फरक पारेर पनि धेरै फाइदा उपलब्ध गर्न सकिन्छ । यो रोगमा औषधोपचारको पहिलो र मुख्य उद्देश्य मूत्रथैलीको घाँटी तथा मूत्रनलीको सुरुको भाग खुकुलो पार्ने हुन्छ र दोस्रो उद्देश्य ठूलो प्रोष्टेट बढ्न नदिने तथा सुकाउने हुन्छ । यी दुवैथरीका औषधिले यौन गतिविधिमा केही शिथिलता तथा वीर्यस्खलनमा असर पार्न सक्छन् ।
मूत्रलक्षण स्वमूल्यांकन तालिकामा आफ्नो निम्ति सही उत्तर खोज्दै उपयुक्त अंक प्रदान गरी मूत्रसञ्चालनको अवस्था के छ ? निष्पक्ष भएर थाहा पाएका खण्डमा प्रोष्टेट ग्रन्थिको तौल के छ ? ग्रन्थि कति बढेको वा खुम्चेको छ ? भनी अन्दाजको भरमा सोच्नुपर्दैन । ग्रन्थिको तौल महत्वपूर्ण कुरो होइन, पिसाबमा कति अवरोध छ र उत्तेजनात्मक लक्षणले कति सास्ती दिएको छ भन्ने कुरा मुख्य कुरो हो । प्राप्तअंक अनुसार कुन उपचार गर्नुपर्ने अवस्थामा मूत्रअवरोधक तथा उत्तेजनात्मक लक्षण पुगेका छन् ? त्यसको स्वनिर्णय गर्न सकिन्छ ।
निचोड
प्रोष्टेट संलग्न मूत्रलक्षण प्रायः ४० वर्षपछि देखापर्दछन् । यी लक्षण ग्रन्थिको साइज ठूलो भएर वा मूत्रनलीको सुरुको प्रोष्टेटले घेरिएको भागको लचकतामा कमी भएर पनि हुन सक्छन् । पिसाब फेर्न जाँदा केही समयपछिमात्र पिसाब हुने, पिसाबको धारा लुलो तथा मसिनो हुने, एकै पल्ट सरर सबै पिसाब नहुने, पिसाब फेरेपछि निख्रेको अनुभव नहुने, राति पिसाब फेर्न उठिराख्नुपर्नेजस्ता लक्षणले पुरुषलाई चिन्तित पारेका खण्डमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्दछ । यही सिलसिलामा प्रोष्टेट ग्रन्थिको क्यान्सर भए/नभएको प्रारम्भीक जाँच गर्ने गरिन्छ ।
तरलपदार्थ प्रयोगको समय तथा मात्रामा फरक पारेर धेरै फाइदा उपलब्ध गर्न सकिन्छ । यो रोगमा औषधोपचारको पहिलो र मुख्य उद्देश्य मूत्रथैलीको घाँटी तथा मूत्रनलीको सुरुको भाग खुकुलो पार्ने हुन्छ, दोस्रो उद्देश्य ठूलो प्रोष्टेट बढ्न नदिने तथा सुकाउने हुन्छ । यी दुवैथरीका औषधिले यौन गतिविधिमा केही शिथिलता तथा वीर्यस्खलनमा असर पार्न सक्छन् । औषधोपचारबाट सन्तोषप्रद फाइदा नपाए शल्यक्रियाको सहयोग लिनुपर्दछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका