चुनौती समाधान गर्न आइएमएफसँगको सहकार्यमा जोड

Read Time = 4 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपालस्थित प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गरेको छ । सो अवसरमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, ब्याजदर, लगानीयोग्य रकम अभावलगायतका विषयले बैंक तथा वित्तीय संस्थामा चुनौती बढेको भन्दै नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्यका लागि आग्रह गर्नुभयो ।
आइएमएफकी आवासीय प्रतिनिधि सान्चेजले अहिले नेपालमात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्ति अवस्था खल्बलिँदा ब्याजदरसमेत उच्च भई मुद्रास्फीति बढेको बताउनुभयो ।

वर्तमान विषम परिस्थितिलाई सहज बनाउन सबै देशले मौद्रिक नीतिमार्फत् सावधानीपूर्वक परिस्थितिसँग सामना गर्न तयार हुनुपर्ने उहाँको भनाइ थियो । नेपालको अर्थतन्त्र विश्वका दुई ठूला अर्थतन्त्र र बजार भएका भारत र चीनबीचमा रहेकाले नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व वृद्धि, आन्तरिक उपयोगमा प्रोत्साहन र विशिष्ट विशेषता भएका मौलिक उत्पादनको निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकका पूर्व-प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले बैंक तथा वित्तीय संस्थाको नन-फण्डेड आम्दानी कम हुँदै गएको भन्दै बैंक तथा वित्तीय संस्थाले उत्पादन र लगानीका क्षेत्र आफैँ पहिचान गरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले कम उत्पादनमूलक क्षेत्रमा अत्यधिक लगानी भएका कारण पनि नेपालको उत्पादन प्रणाली र कृषि क्षेत्र कमजोर रहेको र त्यसको प्रत्यक्ष असर आयातमा परेको बताउनुभयो । उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, नेपाली उत्पादन उपभोगमा प्रोत्साहन र मौलिक उत्पादन निर्यात प्रवद्र्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न सकेमात्र आयातमुखी अर्थतन्त्र निर्यातमुखी अर्थतन्त्रमा बदल्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले नेपालको आर्थिक एवं वित्तीय क्षेत्र सुधार र स्थायित्वका विविध क्षेत्रमा आइएमएफ र सिबिफिनबीच पारस्परिक सहयोग र सहकार्यमा जोड दिनुभएको थियो ।

सो अवसरमा सिबिफिनका महासचिव केशवबहादुर रायमाझी, कोषाध्यक्ष तुलसीराम अग्रवाल, कार्यकारी सदस्य तुलसीप्रसाद गौतम, उपेन्द्र केशरी न्यौपाने, उपेन्द्रप्रसाद पौडेल, महेन्द्रकुमार गोयल, दशरथ रिजाललगायतको पनि सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?