मुगुका निर्वाचित सांसदहरू मतदातालाई धन्यवाद दिन गाउँ-गाउँमा

हिमालय टाइम्स
Read Time = 5 mins

नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित संघीय तथा प्रदेश सांसदहरू यतिबेला जिल्लाका गाउँ-गाउँमा घुमिरहेका छन् । मंसिरअघि गाउँ-गाउँमा मतदातासँग आफूलाई मतदान गर्न आग्रह गर्दै घुम्दै आएका उम्मेदवारहरू निर्वाचित भएपछि मतदाताहरूलाई धन्यवाद दिन मुगु जिल्लाका गाउँ-गाउँमा घुमिरहेका हुन् ।

मुगुका १ प्रतिनिधिसभा र २ प्रदेशसभा क्षेत्र रहेकोमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांगे्रसका उम्मेदवार ऐनबहादुर शाही एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई पछि पार्दै निर्वाचित हुनुभएको थियो । यस्तै, प्रदेशसभा सदस्यमा क्षेत्र नं. २ का एमाले उम्मेदवार कर्णबहादुर मल्ललाई पछि पार्दै एकीकृत माओवादी केन्द्रका मंगलबहादुर शाही र प्रदेश क्षेत्र नं. १ मा एकीकृत समाजवादीका गोपालबहादुर बमलाई पछि पार्दै एमालेका जितबहादुर मल्ल विजयी हुनुभएको थियो ।

निर्वाचित हुनेबित्तिकै संघीय राजधानी र प्रदेश राजधानीतिर हानिने पुरानो चलनलाई तोड्दै यो बेला निर्वाचित तीनैजना माननीयहरू गाउँतिर लागेका हुन् । प्रतिनिधिसभाका सांसद शाही आफ्नो जन्मस्थान सोरु गाउँपालिकाका विभिन्न गाउँ बस्ती र खत्याड गाउँपालिकातिर लाग्नुभएको छ भने प्रदेश सांसद मंगलबहादुर शाही माओवादी पकड रहेको खत्याड गाउँपालिकाका विभिन्न बस्तीहरूमा मतदाताहरूलाई धन्यवाद दिँदै खुशियाली साटिरहनुभएको छ ।

यता, प्रदेश क्षेत्र नं. १ का माननीय जितबहादुर मल्ल पनि छायाँनाथ रारा नगरपालिकाका विभिन्न बस्तीहरूमा मतदाताहरूका गुनासा, विकासका योजनाबारेका आशाहरू सुनिरहनुभएको छ । प्रतिनिधिसभाका सांसद ऐनबहादुर शाही निर्वाचित भएको प्रमाणपत्र बुझेको तीन दिन पछिदेखि सोरु गाउँपालिकाका आँसिधारा, कच्चे, सिप, पुरुमुरु, सोरुकोट, नार्थपु, जडेपानी, भिई र नाथर्पु गाउँ हुँदै खत्याड गाउँपालिकातिरका गाउँ बस्तीहरूमा घुमिरहनुभएको छ ।

माओवादीबाट निर्वाचित प्रदेश क्षेत्र नं. २ का सांसद मंगलबहादुर शाही निर्वाचित प्रमाणपत्र बुझेको दोस्रो दिनदेखि नै खत्याड गाउँपालिकातिर लाग्नुभएको थियो । उहाँले उक्त गाउँपालिका खमाले, श्रीकोट, सेरी, डुमाना गम्थालगायतका गाउँहरूमा पुगी मतदाताहरूलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा ती बस्तीहरूमा गर्न सकिने विकासका कामहरूबारे सुझाव लिइरहनुभएको छ ।

यता, प्रदेश क्षेत्र नं. १ का सांसद जितबहादुर मल्ल पनि नगरपालिकाभित्रका कार्कीवाडा, ढुम, पिना, कोटिल्ला, बाम, रुगातिरका बस्तीहरूमा धन्यवाद दिँदै हिँडिरहनुभएको छ । नगरपालिकामा रहेका ८७ वटा बस्तीहरूमा सकभर पुगेर स्थानीय जनताका गुनासा सुन्ने, आफूले पूरा गर्न सक्ने कामहरूको आश्वासन दिने जस्ता कार्य गरिरहनुभएको नेकपा एमाले पार्टी सचिव डबलबहादुर रोकायाले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?