लुम्बिनीको राजधानी दाङ सार्न नदिन चलखेल, बुटवलमै राख्न कसरत

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
डिबी शर्मा
Read Time = 8 mins

डिबी शर्मा/चन्द्रकान्त खनाल/हिटा
काठमाडौं, बुटवल । दाङमा राख्ने तय भएको लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्न नदिन चलखेल सुरु भएको छ । दाङमा पूर्वाधार नभएको भन्दै लुम्बिनीको राजधानी बुटवलमै राख्नुपर्ने भन्दै सार्न नदिन विभिन्न चलखेल सुरु भएको हो । बुटवल आसपासका जनप्रतिनिधि र कर्मचारी समेतको सक्रियतामा राजधानी बुटवलमै राख्न कसरत भइरहेको छ ।

स्थायी राजधानी दाङ तोकिए पनि कामकाज रुपन्देहीको बुटवलबाट हुँदै आएको छ । दाङमा पूर्वाधार नभएको भन्दै बुटवलबाटै काम चलिरहेको हो । पछिल्लो समय स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा सरकारका केही कार्यालय सार्न थालिएको छ । दाङको देउखुरी र भालुवाङ क्षेत्रमा सांस्कृतिक सहर निर्माण गर्ने र त्यहीँ नमुना पूर्वाधार तयार गरेर मन्त्रालय र मातहत कार्यालय सार्ने योजना थियो । तर, गुरुयोजना नै कार्यान्वयन हुन सकेको छैन । वर्तमान सरकारले गुरुयोजनालाई बेवास्ता गर्दै हतारमा कार्यालय सार्न थालेपछि कर्मचारीमा असन्तुष्टि तीव्र छ । पूर्वाधार तयार नभएको भन्दै कर्मचारीले राजधानी दाङ नलैजान विगतदेखि नै ‘लबिङ’ गर्दै आएका थिए । अहिले उनीहरूलाई रुपन्देहीका जनप्रतिनिधिले समेत साथ दिन थालेका छन् । गत बुधबार प्रदेश सरकारले पूर्वाधार नबन्दै बुटवलमा रहेका मन्त्रालयहरू दाङ लैजान लागेको भन्दै विभिन्न कर्मचारी संगठनहरूले आन्दोलनको चेतावनी दिएका थिए । कर्मचारी संगठनहरूले प्रदेश सरकारका प्रमुख सचिव डा. दीपक काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै हतारमा मन्त्रालयहरू दाङ लैजाने सरकारको निर्णय स्थगित गर्न उनीहरूले माग गरेका थिए । उनीहरूले जबरजस्ती मन्त्रालयहरू दाङ लैजान खोजे चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

२०७७ असोज २० गते प्रदेशसभाको दुईतिहाइ बहुमतले प्रदेश राजधानी दाङको देउखुरी क्षेत्रको भालुवाङ बजार र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो । बुटवलबाट राजधानी दाङ सारिएपछि त्यही बेला व्यापक विरोध भएको थियो । स्थायी राजधानी बुटवलमै राख्नुपर्ने भन्दै एउटा पक्षले आन्दोलनसमेत गरेको थियो । आन्दोलनकारीले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा समेत तोडफोड गरेका थिए ।

विरोधमा रुपन्देहीबाट नवनिर्वाचित जनप्रतिनिधि, कांग्रेस-एमालेको पनि साथ
लुम्बिनी प्रदेश सरकारले बिनायोजना र तयारी बुटवलमा रहेका मन्त्रालय दाङ सार्न थालेपछि रुपन्देहीबाट निर्वाचित जनप्रतिनिधिहरू विरोधमा उत्रिएका छन् । नेकपा एमाले रुपन्देहीबाट निर्वाचित लुम्बिनीका चार प्रदेशसभा सदस्यहरूले प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने प्रयास गरिएकोमा आपत्ति जनाएका हुन् । नवनिर्वाचित प्रदेशसभा सदस्यहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आइतबार एक विज्ञप्ति जारी गर्दै तत्काल राजधानी नसार्न आग्रह गरेका हुन् । यस्तै, नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ सार्न लागिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी लैजाने जिम्मा संरचनाहरू निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन् । यस्तै, नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले पूर्वाधारबिना लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल नसार्न ध्यानाकर्षण गराएको छ । वर्तमान कामचलाउ सरकारले सस्तो लोकप्रियताका लागि पूर्वाधार तयार नभएको अवस्थामा दाङको भालुवाङमा राजधानी सार्ने हतार गरिरहेको भन्दै यस्तो काम तत्काल रोक्न माग गरेको हो । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै नयाँ प्रदेशसभा निर्वाचित भइसकेको अवस्थामा कामचलाउ सरकारले कार्यालय थालेको राजधानी सार्ने काम तुरुन्त रोक्न माग गर्नुभएको छ ।

चुनावी मुद्दासमेत बनेको थियो राजधानी
नवनिर्वाचित जनप्रतिनिधि मात्रै होइन बुटवलबाट प्रतिनिधित्व गर्ने प्रमुख दलका ठूला भनिएका नेताहरू पनि राजधानी दाङ सारिएकोमा सन्तुष्ट छैनन् । केही नेताहरूले प्रदेशसभाको दुई तिहाइले गरेको निर्णयविपरीत बुटवलमै राजधानी राख्ने भन्दै चुनावी ‘स्टन्ड’समेत गरेका थिए । कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता विष्णु पौडेलले प्रदेश राजधानी बुटवलमै उपयुक्त हुने भन्दै चुनावी प्रचार गर्नुभएको थियो । खाँणले चुनावी अभियानका क्रममा प्रदेशको राजधानी हचुवामा दाङ सारिएको बताउनुभएको थियो । चुनावी घरदैलोका क्रममा गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल नै उपयुक्त भएको बताउनुभएको थियो । दाङमा लुम्बिनी प्रदेशको राजधानी सार्नु उचित नभएकाले राजधानी बुटवलमै फिर्ता गर्न जनताको साथ र सहयोगको अपेक्षा राखेको उहाँको भनाइ थियो । तर उहाँ प्रतिनिधिसभा सदस्यमा रुपन्देही-३ बाट पराजित हुनुभयो । यस्तै, एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी सबै दृष्टिकोणले बुटवल उपयुक्त रहेको बताउनुभएको थियो । प्रदेशसभाले चाहे पुनः प्रदेशको राजधानी अन्यत्र सार्न सक्ने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?