सरकार गठनको रस्साकस्सी सुरु

गैरकम्युनिष्ट अथवा कम्युनिष्ट सरकार बन्ने सम्भावना बराबर

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । मत परिणाम अन्तिम चरणमा पुगेसँगै राजनीतिक दलहरूबीच सरकार गठनको रस्साकस्सी सुरु भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि गठबन्धन सरकार गठन गर्न राजनीतिक दलका नेताहरूले आन्तरिक तथा द्विपक्षीय औपचारिक/अनौपचारिक छलफल तीव्र पारेका छन् । शनिबार बसेको सत्तारुढ दल माओवादी केन्द्रको सचिवालय बैठकले सरकार गठनमा सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै कुन दलको नेतृत्वमा सरकार बन्ने भन्ने विषय थप अनिश्चित बनेको छ । नेकपा एमाले र माओवादी केन्द्रमा वाम एकता, वाम पक्षधरको सरकार बनाउनुपर्ने आवाज बलियो बन्दै गएको सन्दर्भमा आगामी सरकार वाम दलको नेतृत्वमा बन्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ । अर्कोतिर वाम दल बाहेकको सरकार बन्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

वाम दल बाहेकको सरकार बन्ने सम्भावना कति ?
२७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार गठनका लागि १३८ जना सांसदको समर्थन अनिवार्य चाहिन्छ । निर्वाचन परिणामअनुसार कम्युनिष्टइतर राजनीतिक दलहरूको सांसद संख्या सामान्य बहुमत पुग्ने देखिन्छ । औपचारिक रूपमा निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक नगरे पनि कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने लगभग निश्चित भइसकेको छ । प्रत्यक्ष तर्फको १६५ मध्ये १६४ सिटको नतिजा सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फ पनि कुन दलले कति सिट पाउनेछन् भन्ने अनुमान गर्न कठिन छैन ।

हालसम्मको निर्वाचन परिणामअनुसार पनि कम्युनिष्टइतर दलहरूलाई सरकार बनाउन बहुमत पुग्ने देखिएको छ । सरकार गठनका लागि आवश्यक १३८ सांसद गैरवाम दलबाट निर्वाचित भएका छन् । ५७ सिट प्रत्यक्षमा जितेको कांग्रेसले समानुपातिकबाट ३२ सिट पाउने देखिन्छ । जसअनुसार कांग्रेसको सांसद संख्या ८९ हुनेछ । कांग्रेसकै नेता अमेरशकुमार सिंह स्वतन्त्रबाट निर्वाचित हुनुभएको छ । सिंह जोड्दा कांग्रेसका सांसदको संख्या ९० पुग्नेछ । प्रत्यक्षतर्फ सात सिट जितेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १४ सिट पाउने निश्चित भएसँगै जम्मा २१ जना सांसद हुनेछन् । गैरवाम दल राप्रपाले प्रत्यक्षतर्फ सात सिट जित्दा समानुपातिकमा सात सिट नै पाए पनि सांसद संख्या १४ हुनेछ । निर्वाचनमा एमालेसँग तालमेल गरे पनि राप्रपा दक्षिणपन्थी पार्टी हो । सरकार बनाउने बेला उसको भूमिका कस्तो रहन्छ भन्ने खुलेको छैन । प्रत्यक्षमा एक सिट जितेको सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा चार सिट पाउँदा जम्मा सांसद संख्या पाँच हुनेछ । यसैगरी, प्रत्यक्षमा तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीसँग एक स्वतन्त्रसहित चार जना सांसद छन् । तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसके पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सिट जितेको छ । प्रभु साहसहित केही तीन स्वतन्त्र सांसद कतै खुलेका छैनन् । यसरी हेर्दा स्वतन्त्र सांसदलाई छोडेर पनि गैरवाम दलहरूको सांसद संख्या १५८ पुग्छ । जुन सरकारको लागि आवश्यकभन्दा निकै ठूलो संख्या हो ।

वाम सरकार बन्ने सम्भावना कति ?
शनिबार बसेको सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै वर्तमान सत्ता गठबन्धन भत्किए वाम गठबन्धन बन्ने सम्भावनाको ढोका खुला भएको छ । मुलुकको राजनीतिक परिदृश्य २०७४ सालको आम निर्वाचनपछि बनेको वाम सरकार जस्तै आगामी सरकार पनि वाम दलहरूको बन्ने सम्भावना देखिएको छ । नेकपा एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । एमालेले समानुपातिकतर्फ ३४ जित्ने देखिन्छ । यसरी हेर्दा प्रतिनिधिसभामा एमालेको सांसद संख्या ७८ हुने देखिन्छ । प्रत्यक्षतर्फ १७ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ १५ सिट जित्ने देखिन्छ । यसरी प्रतिनिधिसभामा माओवादीको सांसद संख्या ३२ हुने देखिन्छ । अर्को वाम दल नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने सम्भावना न्यून छ । प्रत्यक्षतर्फ सात सिट जितेको जनता समाजवादी पार्टी जसपाले समानुपातिकबाट चार सिट पाउने सम्भावना भएसँगै प्रतिनिधिसभामा उसको ११ सांसद हुने देखिन्छ ।

कम्युनिष्ट घटकहरू नेमकिपा र जनमोर्चाले प्रत्यक्षतर्फ एक/एक सिट जिते पनि समानुपातिकतर्फ तीन प्रतिशत थ्रेस होल्डको सीमा कटाउन सकेनन् । यस्तै, कम्युनिष्ट पृष्ठभूमिका तीन जनाले स्वतन्त्रबाट निर्वाचन जितेका छन् । यसरी हेर्दा स्वतन्त्रबाट जितेका तीन जनासमेत जोडेर वाम दलहरूको प्रतिनिधिसभामा जम्मा सांसद संख्या १३६ हुने देखिन्छ । जुन सरकार गठनको लागि सामान्य बहुमतको लागि दुई सांसद कम हो । वाम सरकार गठनको लागि वाम दलहरूले गैरवाम दलका दुईजना सांसद आफूतिर तान्नैपर्ने देखिन्छ । तर, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा र स्वतन्त्र सांसदहरू अहिले सरकार गठनको सम्भावित कुनै पनि पक्षमा खुलिनसकेकाले यसै भन्न सकिने अवस्था छैन ।

गठबन्धनको विकल्प खोजिएको छैन : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पारेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले अहिले सरकारको विकल्प नखोजिएको र एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताउनुभएको हो । महासचिव गुरुङले एमालेसँग कुनै प्रकारको कुराकानी नभएको स्पष्ट पार्नुभयो । माओवादी केन्द्रले सरकार गठनको लागि पहिलो प्रयास गठबन्धनभित्रै गर्ने उहाँले बताउनुभयो ।

उहाँले बैठकले निर्वाचनमा अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल र परिणाममुखी भएको निष्कर्ष निकालेको बताउनुभयो । निर्वाचनमा देखिएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्दै पार्टीलाई सुदृढ गर्दै अघि बढ्नुपर्नेमा बैठकमा छलफल भएको गुरुङले बताउनुभयो । उहाँले सोमबार गठबन्धनको बैठक बोलाइएको र निर्वाचन तथा सरकार गठनका विषयमा छलफल हुने जानकारी दिनुभयो ।
यसअघि शनिबार बसेको पदाधिकारी बैठकपछि माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धनलाई तोड्ने कुनै निर्णय नभएको भन्दै सरकार गठनको सबै विकल्प खुला राख्ने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?