पोल्याण्डलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा, एम्बाप्पेले गरे दुई गोल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । फ्रान्स कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा पोल्याण्डलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । अल थुमामा रंगशालामा आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोलले पराजित गर्दै फ्रान्सले नकआउट पार गरेको हो ।

फ्रान्सको जितमा किलियान एम्बाप्पेको दुई तथा ओलिभर जिरुडले एक गोल गरे । पोल्यान्डका लागि पेनाल्टीमार्फत रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा दुई गोल थप्यो । खेलको पहिलो हाफमा फ्रान्सका स्ट्राइकर ओलिभिएर जिरुडले गोल गर्दै पहिलो अग्रता लिए । उनले खेलको पहिलो हाफको ४४औँ मिनेटमा किलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको ७४औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सको जीत पक्का भएको थियो ।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टीमार्फत् एक सानत्वना गोल गर्यो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाए पनि रेफ्रीले पुनः प्रहार गर्न निर्णय दिए । प्रहार गर्नुअघि गोलरक्षक लोरिस गोललाइनबाट बाहिर आएकाले पुनः प्रहार गर्न पाएका थिए । दोस्रो प्रयासमा भने उनले गोल गर्न सफल भए ।

विश्वकपमा फ्रान्स समूह डिको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो भने पोल्यान्ड समूह सिको उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

अब फ्रान्सले अन्तिम आठमा इंग्ल्यान्डसँग खेल्नेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?