इरानमा महिलालाई हिजाब लगाउन बाध्य पार्ने नैतिकता प्रहरी एकाइ खारेज

हिमालय टाइम्स
Read Time = 2 mins

तेहरान । हिजाब नलगाएको आरोपमा पक्राउ परेकी एक युवतीको मृत्युसँगै देशव्यापी फैलिएको दुई महिना लामो प्रदर्शनपछि इरानले अन्ततः आफ्नो नैतिकता प्रहरी एकाइहरू खारेज गरेको एक शीर्ष न्यायिक अधिकारीले जानकारी दिएका छन् ।

हिजावसम्बन्धी नियम उल्लंघन गरेको भन्दै नैतिकतासम्बन्धी प्रहरीले सेप्टेम्बरको मध्यमा महसा अमिनिलाई पक्राउ गरेको थियो । उनको हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युको विरोधमा भएका प्रदर्शनमा मात्र ३०० जनाभन्दा बढीको मृत्यु भएको छ । प्रहरीले हजारौँलाई पक्राउ गरेको छ । पक्राउ परेका सयौँविरुद्ध सरकारले मुद्दा लगाएको छ ।

नैतिकता प्रहरी इकाइहरू खारेज गर्न विपक्षी दलहरूको तीव्र दबाबबीच सरकारको पछिल्लो निर्णय आएको हो । उनीहरुले नैतिकतासम्बन्धी प्रहरीका गतिविधि नियन्त्रण गर्न पनि माग गरेका थिए ।

‘नैतिकता पुलिसको न्यायपालिकासँग कुनै सरोकार छैन र यसलाई खारेज गरिएको छ’, एक धार्मिक सम्मेलनमा ‘नैतिकता प्रहरीलाई किन बन्द गरिँदै छ ?’ भन्ने एक सहभागीको प्रश्नको जवाफ दिँदै महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्ताजेरीले भने । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?