चिसो बढेपछि भेडा बेसी झार्न थालियो

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins
A A- A+

बागलुङ । “चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अब फागुनको आधाआधीपछि मात्रै लेक उक्लिने हो, अहिले त घाँस पनि सकिन थाल्यो बेसी मै बस्ने, धेरैजसो गोठालाहरु झ¥यौँ, अरु पनि झर्छन् अब ।”
निसीखोला–६ का वीरबल घर्ती यतिबेला बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्र तिर हुनुहुन्छ । पातीहाल्नेभन्दा माथिल्लो क्षेत्र खालीखोला, तिलाचन लगायतका क्षेत्रमा अत्याधिक चिसो बढेपछि घर्तीसहितका भेडा गोठालाहरु तल्लो क्षेत्रमा झर्न थालेका हुन् । केही गोठालाहरु बेसी झरिसकेका छन् भने घर्ती पनि अब केही दिनमा बेसीमै आउने तयारीमा हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ–“पानी प¥यो भने अब माथि मात्रै होइन यहाँ पनि हिउँ पर्छ, माथि चिसो भएपछि यहाँ झरेका हौँ, यहाँ पनि चिसो बढ्दै छ, अब बेसीमै झर्ने हो, अब एक सातामा तलै झर्छौँ, भेडाका पाठा कठ्याङ्ग्रिन थाले, तल नझरे मर्झन फेरि, गाउँमा गोठ बनाएर तयार बनाई सक्न लागे छन् ।”

घर्तीका गोठमा अहिले ४०० भन्दा बढी भेडा र पाठापाठी छन् । उहाँले मंसिर पहिलो साता झण्डै २०० भेडा बेचेको बताउनुहुन्छ । “मंसिर महिनामा धेरैको पूजाआजा हुन्छ, यो बेलामा भेडाको खोजी निकै हुने गर्छ, यसपाली तीन जना भएर बजार तिर गएका थियौँ, तिहार सकाएर गएको व्यापार राम्रो भयो, अलिकति दुःख छ, तर पैसा पनि छ यो व्यवसायमा” घर्तीले भन्नुभयो ।

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका अधिकांश स्थानीय पशुपालनमा आवद्ध छन् । त्यसले गर्दा उनीहरु वर्षमा दुई पटक लेक बेसी गर्ने गर्छन् । वर्षातको समय लेक र हिउँदको समय बेसी गर्ने उनीहरुको परम्परा जस्तै हो । तमानखोला भेडा पालक कृषक मीनबहादुर रोका पनि यति बेला बेसी तिर झर्नु भएको छ । उहाँले अब चैत पहिलो हप्ता मात्रै लेक चड्ने बताउनुहुन्छ ।

“हामीहरु यहाँबाट म्याग्दी हुँदै धौलागिरी हिमालको फेँदसम्म भेडा लिएर जान्छौँ, अहिले त त्यो क्षेत्रमा हिउँ परेको छ, त्यहाँ बस्न सकिन्न भेडाबाख्रा राख्न पनि सकिन्छ, दुई हप्ता जति हुन लाग्यो हामी बेसी झरेको केही दिन सोलेडाँडामा बस्यौँ,” रोकाले भन्नुभयो–“अब चैत महिनासम्म यहीँ हुन्छौँ, डाला घाँस काटेर खुवाउनु पर्छ यो समय, चिसोमा लेकमा बस्न सकिदैन ।”

उहाँले पौष र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै हुने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कहरुमा जाने बताउनुभयो । अहिलेसम्म लेकमा बस्दा घाँस पनि सकिएको र गाउँका बारीहरुमा डालेघाँसहरु हुँदा दुई महिना भेडालाई डालेघाँस खुवाएर पाल्ने रोकाको भनाई छ ।
रोकाले भन्नुभयो–“चिसो भनेर के गर्नु घरमा बसेर पशु अघाउँदैनन्, लेक बेसी त गर्न प¥यो, नत्र भेडा भोकले मर्छन्, भेडागाठालेहरुलाई दुःख छ, घामपानी, वर्षाझरी भन्न पाइँदैन, यि सम्पत्तिले खान खोज्छन्, मैले भेडासँग लेक बेसी गर्न थालेको ४३ वर्ष भयो, अहिले म ५४ वर्ष भएँ, ११ वर्षको उमेरदेखि भेडा गोठालो गर्न थालेको हुँ ।”

ढोरपाटन–९ का गंगाबहादुर पुनले ढोरपाटनको माथिल्लो क्षेत्रमा चिसो ह्वात्तै बढेको बताउनुभयो । चिसो बढेपछि सबै भेडागोठालेहरु तल्लो क्षेत्रमा झरेको पुनको भनाई छ । उहाँले पानी नपरे पनि गोठनै पुरिने गरि तुसारे परेपछि भेडापालकहरु बेसी झरेको बताउनुहुन्छ ।
“अहिले छिटै चिसो बढ्यो, पहिले पुस लाग्दा बल्ल गाउँ झरिन्थ्यो, अहिले पुस लाग्न १०/१२ दिन छँदै सबै गोठालाहरु बेसी झरि सकेका छन्, चिसोले भेडाहरु बिरामी पर्न थाले, गोठालाहरु पनि बिरामी हुन लागेपछि हामीहर सबै तल आएका छौँ” पुनले भन्नुभयो– “अहिले ढोरपाटनमा भएकाहरु पनि एक पटक पानी प¥यो भने सबै बोबाङ, अधिकारीचौर निसी झर्छन् ।”

पुनले पछिल्लो समय भेडी गोठालेको संख्या घट्दै गएको बताउनुभयो । उहाँले पहिले एउटै गाउँका २०÷२० घरमा भेडा पाल्ने गरेकोमा अहिले १० घरले मात्रै पाल्दै आएको बताउनुहुन्छ । भेडापालनका लागि पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ताहरु यो व्यवसाय तिर नलाग्दा भेडा गोठालेहरु वर्षेनी घट्दै गएको उहाँको भनाई छ ।

“पहिले–पहिले गाउँका धेरै मान्छेहरुले भेडा र गाईभैँसी पाल्ने गर्थे, लेक तिर जाँदा पनि रमाइलो हुन्थ्यो, सबै एकै पटक जान्थ्यौँ, नजिक नजिक गोठहरु बनाएर बस्ने गथ्र्यौँ, अहिले हरेक वर्ष गोठालाहरु घट्दै गएका छन्” पुनले भन्नुभयो–“पुराना बुढापाकाहरु नसक्ने भए, युवा केटाहरु सहर बजार बस्ने विदेश तिर जाने गर्न थालेपछि भेडापाल्नेहरु कम भएका छन् ।”

उहाँले अरु व्यवसायको तुलनामा भेडापालन निकै चुनौतिपूर्ण भएकाले अहिलेका युवाहरु गोठमा नबस्ने र पशुचौपाया पाल्न तिर चासो नदिने बताउनुभयो । भेडापालनबाट एक वर्षमा न्यूनतम चार लाखसम्म आम्दानी हुने उहाँको भनाई छ । उहाँले भेडाको मासु मात्रै नभएर उनबाट बनेका कपडाको समेत राम्रो मूल्य पर्ने बताउनुभयो ।

“भेडापालन गरेत धेरै फाइदा छ, दुःख त कुन पेसा गर्दा हुँदैन र ?, सबै पेसा व्यवसायमा परिश्रम गर्नु पर्छ, केही पेसामा अलि बढी होला केहीमा कम, तर दुःख त हुन्छ जहाँ पनि, भेडा पाल्ने हो भने दुई तिरबाट लाभ लिन सकिन्छ, मासु पनि राम्रो मुल्यमा बिक्छ, अझ बढी त्यसको रौँबाट बनेका कपडाहरुको पर्छ, नेपालमा मात्रै होइन विदेशमा पनि रौँको कपडाको मूल्य बढी पर्छ” पुनले भन्नुभयो ।”

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?