नेकपा एस पार्टीको सिद्धान्तसँग आफ्नो विचार मिल्ने भएकाले प्रवेश गरेँ : दीपक मनाङे

हिमालय टाइम्स
Read Time = 5 mins

पोखरा । मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद एवं गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबाट अविर र माला लगाएर उहाँ पार्टी प्रवेश गर्नुभएको हो । पार्टी प्रवेशसँगै उहाँले भन्नुभएको छ, ‘राजनीति कमाउनका लागि होइन । सेवाभावले निस्वार्थ रुपले जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यक्ता हो ।’ उहाँले त्यस पार्टीमा स्वच्छ छवी भएका नेता रहेकाले सोही पार्टीको सिद्धान्तसँग आफ्नो विचार मिलेको बताउनु भयो । उहाँले निस्वार्थ सेवाभावका रुपमा राजनीतिलाई चित्रण गरिरहँदा मनाङे आफैँ सत्ताका लागि पटक पटक पार्टी फेर्ने पात्रको रुपमा स्थापित हुनु भएको छ ।

२०७५ सालमा सांसदको सपथ लिनुअघि उहाँ जेलमा हुनु हुन्थ्यो । कर्तब्य ज्यान मुद्दामा दीपक मनाङे २०७४ को चुनावमा मनाङ (ख) बाट निर्वाचित हुनु भयो । उहाँलाई तत्कालीन बाम गठबन्धनले सघाएको थियो । निर्वाचित भएपछि करिव ८ महिना जेल बसेर निस्किनुभएका मनाङे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नै प्रयोग गरेर संसद छिर्नुभयो । सभामुख र मुख्यमन्त्रीले नचाहेको भए मनाङेले सपथ लिन समेत नपाउने अवस्था थियो । सपथ लगत्तै उहाँ नेकपा प्रवेश गर्नुभयो ।

२०७३ सालमा राप्रपाबाट मनाङ जिल्ला अध्यक्ष सर्वसम्मत चुनिनुभएका दीपक मनाङे २०७४ को निर्वाचनसम्म स्वतन्त्र भैसक्नुभएको थियो। उहाँले सबै राजनीतिक पार्टीबाट सन्यास लिनुभयो । राप्रपा कमजोर हुँदै गएको मनाङमा पार्टीबाट चुनाव जित्ने सम्भावना नदेखेपछि उहाँले स्वतन्त्र बनेर एमालेको साथ पाउनु भयो। राप्रपामा आवद्ध हुनुअघि मनाङे कांग्रेससँग निकट हुनु हुन्थ्यो। राप्रपा छाडेर केही समय संघीय समाजवादी नेपालसँग पनि आवद्ध हुनु भयो । मनाङे सांसदमा निर्वाचित भएपछि पक्राउ पर्नुभएको थियो ।

नेकपा विभाजनको संकेत पाउने वित्तिकै प्रदेश सभाको संसदीय दलमा नरहेको घोषणा गर्नुभयो। केही समय उहाँ सरकारमा युवा तथा खेलकुद मन्त्री बन्नुभयो । गुरुङको सत्ता ढलेपछि मनाङे गठबन्धनतिर ढल्किनुभयो । उहाँले नै समर्थन गरेर गण्डकीमा नयाँ सरकार बन्यो । मंसिर ४ गते सम्पन्न निर्वाचनमा मनाङ (ख) बाट पुनः उम्मेद्वारी दिनुभयो । उहाँका विरुद्धमा एमालेले जिल्ला सदस्यलाई उम्मेदवार बनाएको थियो । मनाङेले एमालेलाई फकाएर, आफुलाई सर्वसम्मत निर्वाचित गराउन सफल हुनु भयो । राजनीतिको केन्द्रमा रहन उहाँले पार्टीलाई ढाल बनाइरहनुभएको आरोप छ । अहिले गण्डकीमा सत्ता गठबन्धनको बलियो बहुमत छ । कांग्रेस र माओवादी मिल्दा पनि सरकार बन्न सक्छ । त्यसो हुँदा स्वतन्त्र चुनाव जितेका मनाङे सरकारमा नअट्ने अवस्था छ ।

त्यसैले मनाङेले दिमाग लगाएर स्वतन्त्रबाट सरकारमा जान नपाउने बुझेपछि उहाँ सत्ता गठबन्धनकै दलमा प्रवेश गर्नुभएको भनिन्छ । त्यो पनि कमजोर पार्टी, एकीकृत समाजवादीमा । उहाँ प्रवेश गरेसँगै गण्डकीमा एकीकृत समाजवादीले एक सांसद पाएको छ । उहाँको प्रवेशले मनाङे र एकीकृत समाजवादी दुवैलाई फाइदा छ । एसले संसदमा प्रतिनिधि पाएको छ भने मनाङेले मन्त्री पाउने लगभग निश्चित छ ।

-न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?