राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडी नगदसहित सम्मानित

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रंगशालामा आयोजित कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई सम्मान गरिएको हो । राष्ट्रिय खेलकुदमा स्वर्णपदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कुल ७२, रजत पदक विजेता ९२ र कास्य पदक विजेता १६० गरी ३२४ खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा समावेश ३६ खेलमध्ये गण्डकीले २८ खेलमा पदक जितेको थियो ।

गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपटक नवौँमा सातै प्रदेशमध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो भने समग्रमा विभागीय टिमपश्चात् चौथो स्थान प्राप्त गरेको थियो । यसैगरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ र २८ खेल संघलाई सम्मान गरिएको छ । गत असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ कास्य पदक जितेको थियो ।

प्रदेश सरकारले राष्ट्रिय खेलकुदमा एकलतर्फ स्वर्णपदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ हजार र कास्य पदक विजेतालाई आठ हजार प्रदान गरेको छ । यसैगरी टिममा स्वर्णपदक विजेतालाई जनही नौ हजार, रजततर्फ ६ हजार र कास्य पदक विजेतालाई चार हजार नगदसहित सम्मान गरिएको हो ।

यसैगरी प्रशिक्षकतर्फ स्वर्ण, रजत र कास्यपदक विजेतालाई क्रमशः जनही १० हजार, आठ हजार र ६ हजार नगद प्रदान गरिएको थियो । टिमका व्यवस्थापकलाई जनही आठ हजार, ६ हजार र चार हजार नगद प्रदान गरिएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव घनश्याम पौडेलले जानकारी दिनुभयो । खेल संघतर्फ स्वर्णपदक विजेतालाई नगद ४० हजार, रजत पदक विजेतालाई नगद ३० हजार र कास्य पदक विजेता संघलाई नगद २० हजार प्रदान गरिएको छ ।

नवौँमा ‘रेकर्ड ब्रेक’ गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजारसहित सम्मान गरिएको थियो । पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, नेपाली सेनाका पश्चिम पृतनापति दीपक बानियाँलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?