पूर्णता पाउँदै ‘बेनी मिनी रंगशाला’

हिमालय टाइम्स
Read Time = 5 mins

बेनी । म्याग्दीको ‘बेनी मिनी रंगशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका-७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिनुभयो ।

‘बेनी नगरपालिकाले विनियोजन गरेको ५० लाख बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट आएको आठ लाख बजेटको काम उपभोक्ता समितिमार्फत् कार्यान्वयन थालिएको छ,’ उहाँले भन्नुभयो, ‘अधुरो खेलमैदानलाई पूर्णता दिने प्रयासमा छौँ । ठेक्का प्रतिस्पर्धामा हुँदा घटेको १४ लाख बजेटबाट पनि थप काम गर्न पहल गरेका छौँ ।’

म्याग्दी नदीतर्फ पर्खाल र प्याराफिट निर्माणका लागि उत्तरगंगा निर्माण सेवाले यही मंसिर पहिलो साता ३५ लाख ९३ हजार १०१ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै मजदुर परिचालन गरेर निर्माण थालेको छ । ठेक्कामार्फत् पर्खाल र पिल्लर उठाएर ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको बेनी नगरपालिकाका प्राविधिक गोपाल मगरले बताउनुभयो ।

प्रदेशको बजेट कार्यान्वयनका लागि गठन भएको उपभोक्ता समितिले कालीगण्डकी किनारतर्फ अधुरो पर्खाललाई पूर्णता दिने र माटोले पुरेर ‘फिलिङ’ गर्न थालेका छन् । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।

फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुलामञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यहीँ हुने गर्छ । त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ ।

कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो । म्याग्दी नदीको किनारतर्फ १०५ मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ । पर्खालमाथि करिब ५० मिटर प्याराफिट बनेको छ ।
कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । हाल नौ÷नौजनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ । प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ ।

हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट एक लाख बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले विसं २०७१ मा ६ लाख ५० हजार र २०७३ मा ५९ लाख ६७ हजार विनियोजन गरेको थियो ।

विसं २०७४ मा एक करोड र २०७५/७६ मा ६० लाख विनियोजन भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाले नौ लाख, अर्थ मन्त्रालयले ५० लाख, खेलकुद मन्त्रालयले ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट ५० लाख विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७/७८ र ७८/७९ मा कुनै पनि निकायबाट बजेट विनियोजन नहँुदा खेलमैदान निर्माण रोकिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?