प्रदेश १ को कृषिलगायत औद्योगिक अवस्था निराशाजनक

Read Time = 8 mins

काठमाडौं । अन्य प्रदेशजस्तै प्रदेश १ मा पनि कृषि बालीको क्षेत्रफल घट्दै गएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश १ मा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले घटेर १० लाख ४१ हजार एक सय ८६ हेक्टरमा सीमित हुन पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल १.५ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रदेश १ को आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७८/०७९ अनुसार समीक्षा वर्षमा मकै, गहुँ र कोदोले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको हो ।

समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८७.६ प्रतिशत, तरकारी बालीको ५.४ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ७.० प्रतिशत रहेको छ । कृषि उपजले ढोकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१.६ प्रतिशत रहेको छ ।

धान बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले बढेको छ भने मकै बालीले ढाकेको क्षेत्रफल २.२ प्रतिशत, गहुँ बालीले ढाकेको क्षेत्रफल ७.५ प्रतिशत र कोदो बालीले ढाकेको क्षेत्रफल ३.५ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा समग्र कृषि बालीको उत्पादन १.४ प्रतिशतले घटेको छ । विशेषगरी खाद्य बालीअन्तर्गतका धान, गहुँ र आलुको उत्पादन घटेकाले प्रदेश १ को समग्र कृषि बालीको उत्पादन घटेको देखिन्छ ।
खाद्य तथा अन्य बालीको उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.९ प्रतिशतले घटेको छ । खाद्य बालीअन्तर्गत धान उत्पादन ३.३ प्रतिशत र गहुँ उत्पादन ९.६ प्रतिशतले घटेको छ भने मकैको उत्पादन १.६ प्रतिशतले बढको छ ।

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा तरकारीे बाली उत्पादन ९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो उत्पादन १.२ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३६.६ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३५.९ प्रतिशत रहेको थियो । कुल सिञ्चित क्षेत्रफल २.० प्रतिशतले बढेको छ । त्यस्तै, दूध उत्पादन ०.२ प्रतिशत, अण्डा उत्पादन ०.९ प्रतिशत, मासु उत्पादन १.३ प्रतिशत र माछा उत्पादन २२.१ प्रतिशतले बढेको छ भने काठ उत्पादन १०.४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा काठ उत्पादन ३९.२ प्रतिशतले बढेको थियो ।

२०७८ असारको तुलनामा २०७९ असारमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेश १ को कृषि क्षेत्रमा प्रवाहित कर्जा १७.८ प्रतिशतले वृद्धि भई ५४ अर्ब ५२ करोड पुगेको छ । २०७९ असारसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १०.० प्रतिशत रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ५२.६ प्रतिशत रहेको छ । २०७७÷०७८ मा ती उद्योगको औसत क्षमता उपयोग ५३.४ प्रतिशत रहेको थियो ।

विशेषगरी तयारी लत्ताकपडा उत्पादन गर्ने गार्मेण्ट उद्योग, सिन्थेटिक कपडा, फलामे छड तथा पत्ती, चप्पलजस्ता वस्तु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोगमा कमी देखिएको हो ।

नमुना छनोटमा परेका उद्योगको पछिल्लो पाँच वर्षको औसत क्षमता उपयोग ५७.८ प्रतिशत रहेको छ । उत्पादित वस्तुअनुसार समीक्षा वर्षमा तोरी तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९२.० प्रतिशत रहेको छ भने वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.४ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा अध्ययनमा समेटिएका ठूला ४२ उद्योगमा कार्यरत ५.९ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् भने २०७८ असारको तुलनामा २०७९ असारमा कुल औद्योगिक कर्जा १६.५ प्रतिशतले घटेर एक खर्ब २१ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ११.५ प्रतिशतले बढेको थियो ।

विशेषगरी निर्माण, खानी र विद्युत्, ग्याँस तथा पानी उत्पादन गर्ने उद्योगमा प्रवाह भएको कर्जा घटेकाले समग्र औद्योगिक कर्जा घटेको हो । २०७९ असारसम्म प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २२.३ प्रतिशत रहेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा होटलको औसत अकुपेन्सी दर ४०.४ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २५.७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा होटलको औसत अकुपेन्सी दर १४.८ प्रतिशत रहेको थियो । होटलमा आन्तरिक पर्यटक संख्या ५८.४ प्रतिशत र बाहृय पर्यटकको संख्या ३०८.३ प्रतिशतले बढेको छ ।

त्यस्तै, समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाका थप १४४ शाखा विस्तार भएका छन् । २०७८ असारको तुलनामा २०७९ असारमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५.८ प्रतिशतले वृद्धि भई तीन खर्ब ६६ अर्ब पुगेको छ भने कर्जा १३.२ प्रतिशतले वृद्धि भई कुल पाँच खर्ब ४४ अर्ब पुगेको छ । २०७९ असारमा कर्जा निक्षेप-अनुपात १४८.४ प्रतिशत रहेको छ । २०७८ असारमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १३८.७ प्रतिशत थियो ।

२०७९ असारसम्म पुनर्कर्जा र सहुलियतपूर्ण कर्जाको बक्यौता रकम क्रमशः १३ अर्ब तीन करोड र ३६ अर्ब दुई करोड पुगेको छ । २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ६७.७ प्रतिशत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?