पुस ८ देखि छैटौँ सिन्धुली महोत्सव-२०७९ हुने

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । दमकल आगो नियन्त्रणको प्रभावशाली साधन हो । आवश्कताअनुसार सहजरूपमा समयमै यसको उपलब्धता नहुँदा करोडौं क्षति हुँदै आएको छ । आगलागीबाट हुने क्षति तत्कालै न्यूनीकरण गर्न पूर्वतयारी स्वरूप सिन्धुलीमा दमकल खरिद हुने भएको छ । जिल्लामा समय-समयमा अचानक हुने आगलागी नियन्त्रणका लागि दमकल किन्न महोत्सवको आयोजना गरिएको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताउनुभयो ।

‘पुस ८ गतेदेखि १८ गतेसम्म सिन्धुलीमाडीमा छैटौँ सिन्धुली महोत्सव-२०७९ सञ्चालनको तयारीमा छौँ । यसको मुख्य योजना शक्तिशाली दमकल किन्ने छ,’ उहाँले भन्नुभयो । उहाँले दमकल खरिद गर्न एक करोड २५ लाख लाग्ने सुनाउनुभयो । सिन्धुली सदरमुकाममा कम क्षमता भएको एउटामात्र दमकल भएको र ठूलो आगलागी हुँदा तत्काल नियन्त्रण गर्न नसकेर बर्सेनि करोडौंको सम्पत्ति क्षति हुँदै आएको छ ।

गत वर्ष कमलामाई नगरपालिका-६ रातमाटामा रहेको एक हार्डवेयर पसलमा आगलागीका कारण पसल र गोदाम रहेका पाँचवटा भवनमा क्षति भएको थियो । गोदाममा रहेका सबै सामान जलेर नष्ट भएको स्मरण गर्नुहुँदै उहाँले रामेछापबाट दमकल झिकाएर घण्टौंपछि आगो नियन्त्रणमा आएको कुरा सुनाउनुभयो । सोही अवस्थालाई मध्यनजर गरेर दमकल किन्ने योजना बनाइएको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिकामा कम क्षमताको एउटा दमकल छ । थप अर्को पनि अति आवश्यकता खड्किएको उहाँले भन्नुभयो । सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सव समुन्नत तथा समृद्ध सिन्धुली निर्माणका लागि पनि भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘कृषि उद्योग र पर्यटनमा अभिवृद्धि गरौँ, समृद्ध र समुन्नत सिन्धुली निर्माणका लागि अघि बढौँ’ महोत्सवको मुख्य नारा हो । जिल्लाको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, कृषि, स्थानीय व्यापार, उद्योगको विकास, स्थानीय कृषि तथा मौलिक उत्पादन, स्थानीय परम्परागत सीप, कला र संस्कृति तथा लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने उहाँको धारणा छ ।

उहाँले भन्नुभयो, ‘सिन्धुलीमा ऐतिहासिक, धार्मिक, भौगोलिक, सामाजिक, सांस्कृतिक सुन्दरताको भण्डार छ । जिल्लामा रहेका यी सबैको प्रचारप्रसार गरी आन्तरिक तथा बाहृय पर्यटन प्रवद्र्धनका लागि महोत्सवले सघाउनेछ ।’

दश दिनसम्म चल्ने महोत्सवमा तीन सयवटा स्टलहरू रहनेछन् । महोत्सव अवलोकनकर्ताहरूले टिकट शुल्क ६० रुपैयाँ तिर्नुपर्नेछ । परिचयपत्रका आधारमा विद्यार्थी र एकल महिलालाई बीस रुपैयाँ छुट हुने तथा पूर्ण अपांगता भएका र ज्येष्ठ नागरिकलाई महोत्सवमा प्रवेश शुल्क निःशुल्क गर्ने योजनासमेत रहेको उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?