दार्चुलामा भारतीय पक्षको बलमिच्याइँ, सरकार र प्रमुख दलहरू मौन

तटबन्धनले नेपालतर्फ ठूलो क्षति हुने स्थानीयको भनाइ

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । दार्चुलामा भारतीय पक्षले महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन बनाउन खोजेपछि विवाद उत्पन्न भएको छ । सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा आइतबार भारतीय पक्षले पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध बनाउन खोज्दा विवाद उत्पन्न भएको हो । विवादले उग्ररूप लिएपछि सीमामा नेपाली र भारतीय पक्षबीच ढुंगा हानाहानसमेत भएको हो । पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारीविपरीत भारतीय पक्षले काम गरेपछि खलंगा क्षेत्र तनावग्रस्त बनेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान हुँदा केही घाइते भएका छन् । महाकाली पारि भारतीय पक्षले तटबन्धन बनाउन ग्याबिन वालहरू लगाइरहेको छ । तटबन्ध निर्माण गरेर नदीको धार परिवर्तन भइरहेको भन्दै स्थानीयले आइतबार दिउँसो नेपाल-भारत जोड्ने झोलुंगे पुल अढाई घण्टा बन्द गरेका थिए ।

सोमबार बिहान झण्डै दुई घण्टा भारतीय पक्षले पनि झोलुंगे पुल बन्द गरेपछि आवागमन नै बन्द भएको थियो । भारतले निर्माण गरिरहेको तटबन्धनले नेपालतर्फ ठूलो क्षति हुने स्थानीयको भनाइ छ । महाकाली नदीको धार नै नेपालतर्फ फर्किने र त्यसले बर्सात्मा ठूलो क्षति हुने भन्दै उनीहरूले एकपक्षीय रूपमा भइरहेको तटबन्धन निर्माण रोक्न माग गर्दै आएका छन् । समस्याबारे पटक-पटक जानकारी गराउँदा पनि नेपाली पक्षबाट कुनै पहल नभएको स्थानीयको गुनासो छ । महाकालीमा गत वर्षबाटै तटबन्ध निर्माण गरिरहेको छ । दार्चुलामा दुई पक्षबीच विवाद भएको यो पहिलोपटक होइन । कहिले महाकालीमा तटबन्धन निर्माण त कहिले सडक निर्माणका कारण दार्चुलामा सीमा विवाद हुँदै आएको छ ।

आइतबारको घटनापछि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको टोली भारततर्फ गएर उताको प्रशासनसँग छलफल गरेको थियो । छलफलपछि दुवै पक्षबीच सहमति गरेर मात्रै काम अघि बढाउने मौखिक सहमति भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नदीको उत्तरतर्फ तटबन्ध गर्ने काम रोकिएको छ । छिट्टै दुवै पक्षको बैठक बसेर विवाद निरूपण गर्ने समझदारी उहाँले बताउनुभयो । दार्चुला घटनाबारे सरकारले औपचारिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन भने प्रमुख लदहरूसमेत मौन देखिएका छन् । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराए पनि प्रमुख दलहरू सोमबार साँझसम्म मौन देखिएका हुन् ।

भारतसँग निरीहताको निरन्तरता नयाँ पुस्तालाई स्वीकार्य छैन : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीले महाकाली घटनाबारे सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाले सोमबार विज्ञप्ति जारी गर्दै भारतीय पक्षबाट महाकालीमा भएको ज्यादतिको विरोध जनाएको हो । महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहँदा दार्चुलाका स्थानीयले विरोध गरेपछि भारतीय पक्षको ढुंगा लागेर नेपालका एक बालक घाइते भएको घटनाप्रति रास्वपाले विरोध जनाएको हो । अन्तर्राष्ट्रिय सन्धि सम्झौता र भारतसँगको द्विपक्षीय सन्धि सम्झौताविपरीत भारतले गतिविधि गरिरहँदा सरकार मूकदर्शक बनेको रास्वपाले आरोप लगाएको छ । राजनीतिक दलहरूका साथै सरकार सञ्चालनमा रहेका दलहरू केवल राजनीतिक लाभ हेरेर देशको सिमाना र नागरिकको जीवनरक्षाको निम्ति नबोल्ने संस्कारले राष्ट्रियता कमजोर भएको प्रवक्ता तथा महामन्त्री मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल र भारत सरकारबीच भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा सीमा र नागरिकको रक्षा गर्न कूटनीतिक पहलमार्फत समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाकालीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेको सम्बन्धमा भारतसँग निरीहताको निरन्तरता नयाँ पुस्तालाई स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । नवनिर्वाचित सांसदसमेत रहनुभएका लामिछानेले राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भइसकेकोले नयाँ शिराबाट कुरा गर्नुपर्ने बताउनुभएको छ । ‘दार्चुलामा भेट्ने हो कि, काठमाडौंमा भेट्ने हो, कि दिल्लीमा भेट्ने हो, तय गरौँ,’ उहाँले भन्नुभएको छ, ‘तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन ।’ सभापति लामिछानेले भारतसामु सरकारको वर्षौंको निरीहताको कारण के होला ? भनेर प्रश्नसमेत गर्नुभएको छ ।

दार्चुला घटनामा सरकार मौन रहेकोप्रति अनेरास्ववियुको आपत्ति
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दार्चुला घटनामा सरकार मौन रहेकोप्रति आपत्ति जनाएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । ‘पछिल्लो एक वर्षमा मात्र तीनपटक सीमा विवादका कारण स्थानीयहरूबीच वारिपारि ढुंगा हानाहान भई असहज परिस्थिति उत्पन्न हुँदासमेत सरकार मौन छ,’ अध्यक्ष बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उल्टै भारतको मिचाहा प्रवृत्तिको विरोध गर्ने नेपालीहरूलाई नै निरन्तर दमन र लाठीचार्ज गर्ने नेपाल सरकारको रवैयाप्रति अनेरास्ववियु घोर भत्र्सना गर्दछ । भारतीय पक्षको हेपाहा प्रवृत्तिको कुनै प्रतिक्रिया नजनाउनुले नेपाल सरकार देशको सार्वभौमिकता र आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तव्य र जिम्मेवारीबाट विमुख हुँदै गएको स्पष्ट भएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?