पेनाल्टीमा चुक्यो जापान, लिभाकोभिच चम्कँदा क्रोएसिया क्वार्टफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्वकपको अन्तिम १६ को खेलमा जापानलाई हराउँदै साबिक उपविजेता क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीसँगै खेल अतिरिक्त समय धकेलिएको थियो ।

उक्त समयमा पनि गोल हुन नसकेपछि माथिल्लो चरणमा जाने टोलीको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो ।पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो ।

पेनाल्टीबाट क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएका छन् । उनले जापानले प्रहार गरेको तीन गोल रोकेका थिए ।

क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा पेनाल्टीमा चुके ।

जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् ।

पेनाल्टीमा जानु अघि खेलमा सुरुआती अग्रता भने जापानले बनाएको थियो । खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए । योशिदाको पासमा उनले गोल गरेका हुन् ।

तर, दोस्रो हाफमा क्रोएसिया खेलमा फर्किएको थियो । खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । उनले डेजोन लेभ्रोनको पासमा हेडमार्फत उत्कृष्ट गोल गरे ।

यससँगै क्रोएसियाले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। क्रोएसियाले सोमबार राति ब्राजिलसँग सेमिफाइनल प्रवेशका लागि खेल्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?