विगत र भविष्यबारे सोच्नसक्ने सरकार बनोस्

२०७९ साल मंसिर ४ गते आइतबारका दिन सम्पन्न संघीय संसद सदस्य तथा प्रदेशसभा सादस्यहरूका लागि भएको निर्वाचनको परिणाम आएसँगै अब सरकार बनाउने अभ्यास सुरु भइसकेको छ । सरकार कस्को र कस्तो बन्ला भन्ने जिज्ञासा हुनु स्वाभाविक हो । जनसामान्यमा यस्तै जिज्ञासा छ । सबैले उत्सुकतापूर्वक यसलाई हेरिरहेका छन् । केहीले नयाँ पुस्तालाई चाहेका छन् भने केहीको नयाँ पुस्तामा भरोसा नभएको पाइएको छ । उही यथास्थितिवादी शक्तिहरूलाई मात्र कति अगाडि ल्याउने भन्ने चाहनेहरूले नयाँका लागि लबिङ गरिरहेका छन् । जुन पार्टीको भए पनि नयाँ पुस्ताको प्रधानमन्त्री बनिदिए हुन्थ्यो भन्ने सोच धेरैको छ । धेरै जना युवाले निर्वाचनमा विजय प्राप्त गर्न सफल भएका छन् ।

यसबाट युवाहरूमा आशाको सञ्चार पनि भएको छ तर यस पटकको निर्वाचन परिणामले देखाएको परिदृश्य के हो भने पुरानो पुस्ताबाट प्रधानमन्त्री बन्दा युवाको समर्थन आवश्यक पर्छ र युवा पुस्ताबाट प्रधानमन्त्री बन्दा पुरानो पुस्ताको सहयोग अपरिहार्य हुन्छ । दुवै पुस्ताले एकअर्काको सहयोग लिएर सरसल्लाहमा मात्र संसदीय दलको नेता छान्नुपर्ने आवश्यकता देखिन आएको छ । यो कुनै एक दलको मात्र कुरा होइन । यस पटकको निर्वाचनबाट प्राप्त परिणामलाई हेर्दा कुनै दलले अर्को दलसँग सहयोग नलिई सरकार बनाउन सक्दैन । विशेषगरी नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्न पुगेका कारण उसैले सरकार निर्माणको पहल गर्ला तर उसले आफूसँग गठबन्धनमा रहेका सबै दलहरूलाई आफूसँगै केन्द्रित गरिरहनुपर्ने टड्कारो आवश्यकता छ ।

निर्वाचनपूर्व सरकार सञ्चालन गर्न र निर्वाचनका बेला जसरी ती दलहरूबीच गठबन्धन भयो त्यही कारणले मात्र आफ्ना दलले यति भए पनि सफलता हासिल गर्न सकेको हो भन्ने सबैले ठान्नुपर्छ । ती दलहरू एक्लाएक्लै निर्वाचनमा भाग लिन गएका भए निश्चय तिनको यति उपलब्धि हुने थिएन । त्यो महसुस तिनले गर्नैपर्छ । केही दल त २०५६ सालका माले हुनसक्थे त्यसबाट गठबन्धन गर्नाले नै ती जोगिएका हुन् । त्यसबेला एमालेबाट फुटेको माले जसमा सहाना प्रधान, वामदव गौतम, सिद्धिलाल सिंह जस्ता नेताहरू पनि सामेल हुनुहुन्थ्यो र जनस्तरबाट पनि १५-२० जना सांसद त्यस पार्टीले जित्ला भनेर अनुमान गरिएको थियो तर त्यस पार्टीले त्यस निर्वाचनमा एकजना पनि जितेन । त्यसैले सरकाको नेतृत्वका लागि जसलाई नेतृत्व गर्न सुहाउँछ त्यसले मात्र दाबी गर्नु स्वाभाविक हुन आउँछ ।

एमालेको सरकार बनाउन सक्ने गरी सदस्या संख्या त छैन नै यसका साथै उसले गठबन्धन गरेका दलहरूको सहयोग लिएर पनि त्यो सम्भावना छैन । यतातिर सत्तारुढ गठबन्धनलाई पनि बहुमत प्राप्त त भएन तर अरू समर्थक र सरकारमा जान चाहनेहरूलाई मिलाउँदा सरकार बनाउन सक्ने स्थिति बनेको छ । त्यसले सरकार चाहिँ गठबन्धनकै बन्ने पक्कापक्की छ भन्दा हुन्छ तर जनचासो कसको नेतृत्वमा कसरी बन्ने हो भन्नेमात्र हो । केही निश्चित मानिसलाई कुनै निश्चित पार्टीको सरकार बन्दा फाइला पुग्ला तर सबैको चासो भने व्यक्तिको होइन सबैको भलाई काम गर्नसक्ने नेतृत्वको चाहना जनताको हो । जनताले गौरवबोध गर्न सक्ने व्यक्ति नेतृत्वमा पुगोस् र त्यसले राष्ट्रका बारेमा चिन्तन गर्न सकोस् । भोलिको परिस्थिति फेरिएन भने सरकार त वर्तमान सत्तारुढ गठबन्धनकै बन्छ ।

त्यसको संकेत र प्रतिबद्धताहरू पनि सार्वजनिक भइरहेका छन् । ती पार्टीका नेताहरूले उक्त कुरा बताइरहनु भएको पनि छ तर नेतृत्व गर्ने व्यक्तिको बारेमा भने पार्टी र व्यक्तिको समेत मतैक्यता देखिएको छैन । चाहना राख्नु स्वाभाविक हो तर आफ्नो पार्टीको शक्ति, सामथ्र्य र संख्या सबैले हेर्नुपर्छ । सरकार बनाउ आफ्नो पार्टीको आवश्यकता पर्ने भयो भन्दैमा अर्को ठूलो पार्टीसँग जे जस्तो बार्गेनिङ गरे पनि हुन्छ भन्ने सोच्नु देशलाई विकास र विकास दिनेभन्दा पनि तिनको संकीर्ण सोचको उपज हो भन्नुपर्ने हुन्छ । देश सबैको हो त्यसैले सोही भावनाअनुसार पदको छिनाझपटी होइन देशको हित हुनेगरी सरकार गठन गर्नु आवश्यक हो । कुन पार्टीको भन्दा फलानो पार्टीको र को भन्दा फलनो भनेका बखत सबैले ठीक छ भन्ने खालको सरकार बनोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?