नाराययण गोपालका आवाज-सुकीर्ति

Read Time = 10 mins

✍️ बुलु मुकारुङ

नेपाली आधुनिक संगीत क्षेत्रका महान् गायक अर्थात् जनताका प्रिय र आदरणीय नारायणगोपालको (१९९६-२०४७) अवसान भएको पनि तीन दशक भइसक्यो । उनका कालजयी गीतहरूले भने हामीलाई कहिल्यै छोडेर जाने छैनन् । नारायणगोपालले नेपाली आधुनिक संगीतको सिर्जनशील–युगको एकक्षत्र नेतृत्व पनि गरेको थिए । साथै सुगम-संगीतको पाठशाला पनि उनैले निर्माण गरेको मानिन्छ ।

यस तीन दशकभित्र सुगम-संगीतका स्रष्टाहरू गोपाल योञ्जन, पुष्प नेपाली, नातिकाजी, शिवशंकर, अम्बर गुरुङ, तारादेवी, कोइलीदेवी, दिव्य खालिङ, फत्तेमान, अरुणा लामा, प्रेमध्वज, सरोजगोपाल, रमेश ताम्राकार, लासिमित राई आदि साथै लोकलयका लम्बोदर धर्मराज थापा, झलकमान, पाण्डव सुनुवार, वासुदेव मुनाल, गंगा राणा, सुन्दर श्रेष्ठ, राम थापा, युक्त गुरुङ, महाशंकर देवकोटा आदिले आफ्ना सङ्गीत सिर्जनामात्र छोडेर गए । नेपाली संगीत क्षेत्रका अगुवा र मध्यम श्रेणीका कलाकारहरू एकपछि अर्को महाप्रस्थान हुँदा नमिठो शून्यता अनुभूत गरिरहेको छ नेपाली गीतसंगीत क्षेत्रले ।
मैले गाएको गीतमा तिम्रै रसिलो प्यार छ
मैले लाएको प्रितमा तिमै हँसिलो मुहार छ । -भूपी शेरचन ।
प्रेम–माणिकको संगीतमा ‘आँखाको भाका आँखैले’ र ‘स्वर्गकी रानी मायाकी खानी’ प्रथम स्पूल रेकर्ड भएका गीतहरू मानिन्छन् भने ‘सबलाई रिझाऊँ भन्दा पसलमा बेचिएछु’ र ‘सानै हुरीमा बैंसको सपना’ प्रत्यक्ष प्रसारण समयमै लाइभ रेकर्ड भएका गीतहरू थिए । लामै समयसम्म गायन क्षेत्रमा वर्चश्व कायम राख्न सफल नारायणगोपाल गीतसंगीतको गरिमा, मर्म र उचाइ बढाउने थोरै संगीतकर्मी मध्येका एक थिए ।
गल्ती हजार हुन्छन् यहाँ होस हराको बेला
एक्लै तिमी नआऊ म मातिएको बेला । -गोपाल योञ्जन ।
नारायणगोपालको बौद्धिकता र विद्वान विशेषसँगको सहचरणले एक आदर्शवादी व्यक्तित्वको रूपमा मात्र होइन ‘बागीना’ नामक सांगीतिक पत्रिकाको सम्पादक बन्नेसम्मको तेजिलो अवस्था स्थितिमा समेत उनलाई पुर्‍याएको थियो । सत्ता र शक्तिसँग साझेदारी वा सम्झौता नगर्ने व्यक्तिका रूपमा पनि उनलाई लिने गरिन्थ्यो उबेला । तर कुनै बेला उनले लिएको सरकारी नियुक्तले भने ती कुराहरू स्वतः छिमल्दै गएको थियो । विशेषतः गोपाल योञ्जन, नगेन्द्र थापा र नारायणगोपालको सिर्जनात्मक त्रिवेणी नेपाली संगीत क्षेत्रले नबिर्सने सांगीतिक सङ्लो नदी थियो ।
बिर्सेर फेरि मलाई नहेर यहाँ एक जीवन आँसुमा डुब्छ
निको भइसकेको घाउ अनयासै फेरि बल्झेर दुःख्छ । - नगेन्द्र थापा ।
भाषा साहित्यका माध्यमबाट मात्र होइन गीतसंगीत र गायनका माध्यमबाट पनि नेपाल र दार्जीलिङको झोलुंगे पुल बनेको थियो नारायणगोपाल युगमा । हुन त अम्बर गुरुङ र अगमसिंह गिरीका सांगीतिक कृति र सुकीर्तिले त्यसभन्दा पहिले नै खनिसकेको गोरेटोलाई पनि हामी भुल्न सक्दैनौँ यसबेला । यद्यपि, नवीन बर्देवा, अशोक राई, हिरादेवी वाइबा, कर्म योञ्जन, दिलमाया, कुमार सुब्बा, रञ्जित गजमेर, बद्री-दुर्गा खरेल, दावा ग्याल्मो, डेजी बराइली आदि कलाकारहरू पनि सांगीतिक मूलमेसोमा जोडिने क्रम जारी नै थियो ।

नेपाली संगीत पेशा आर्जन नबनिसकेको अवस्थामा नारायणगोपाल नाचघरको जिएम बन्नु स्वाभाविक थियो । आर्थिक अभावको अक्कर सामु कसैको आदर्शको पहाड अडिन सक्दैन । अभाव र आवश्यकताले भोर्लेफेदीतिर तानिदिन्छ । उनलाई कसैकसैले अरोगन्ट र इक्सेन्ट्रिक स्वभावको मान्छे हो पनि भने ।

यतिबेला नेपाल र सिक्किम संगीत तथा साहित्यको सेतुबाट नजिक छ यदि छ भने । दार्जीलिङ यसबेला अस्तित्व र पहिचानको समरमा देखिन्छ । हुनसक्छ हजारौं नारायणगोपालहरू आहुतिको चरुमा तिलक बनेका छन् । ती गोपालहरूलाई एक संगीतकर्मी भएको नाताले नमन नगरी रहनँ सकिन्न । पूर्वातीत खोँचमा फर्किने हो भने मा. मित्रसेन, मेलवादेवी, सेतुराम, उ.साहिँला वा हिनादेवी, हीरा वाई, मिस पाताल चाइना, पारुल बाला आदि सम्झिनै पर्छ । त्यसपछि रत्नदास प्रकाश, कृष्णमान, ज्ञानबहादुर, हरिबहादुरहरूका सुकीर्ति हरक अझै आइरहेकै छ । क्रमशः रसिक–भोजपुरे, नवीनकिशोर, एलपी जोशी, दीप श्रेष्ठ, कविता आलेसम्म उल्लेखनीय छन् ।
दुईटा फूल द्यौरालीमा सँगै राख्यौँ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ । -ईश्वर बल्लभ ।
सन् १९८५-०८६ पछि नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाको साङ्गीतिक ट्राइपोर्ट अष्पृष्य रूपमा भाँचिन गयो । फलस्वरूप नारायणगोपालले ‘द ब्लु नोट्स’ नामक एलपी डिष्क रेकर्ड दिव्य खालिङ र आफ्नै संगीतमा प्रकाशनमा ल्याएका थिए । जसबाट नारायणगोपालले स्वतन्त्रता र स्वतन्त्र व्यक्तित्व निर्माण गर्न खोजेको देखिन्छ सिर्जनामा । त्यस सफलताका बारेमा प्रा.डा.अभि सुवेदीले मीठो र सटिक आलेख पनि लेखेका छन् ।
मलाई नसोध कहाँ दुःख्छ घाउ
म जे छु ठीकै छु बिथोल्न नआऊ । -हरिभक्त कटुवाल ।
‘द ब्लु नोट्स’ पछिका दिनहरू नारायणगोपालको साङ्गीतिक अनुलोम–विलोम व्यावसायिक संगीतमा पनि अगाडि बढेको देखिन्छ । जसबाट उनले आर्थिक उपार्जन गर्ने मनसुवा राख्न खोजेको हुनसक्छ । केही हल्का मनोरञ्जनात्मक नेपाली चलचित्रका, केही गीति क्यासेटका तथा नेपाल टेलिभिजनमा एकल गायनको आरम्भ पनि नारायणगोपालदेखि नै सुरु हुन्छ । सुगम संगीतका हकमा गायन-संगीतलाई व्यावसायिक तुल्याउनुपर्छ भन्ने हेतु उनैले राखेको पाइन्छ । नत्र उनले रूपरेखा संगीत यात्रादेखि दार्जीलिङ-डुवर्ससम्मको एकल गायन यात्रा किन गर्दथे होला ।
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा । -चाँदनी शाह ।
नेपाली संगीत पेसा आर्जन नबनिसकेको अवस्थामा नारायणगोपाल नाचघरको जिएम बन्नु स्वाभाविक थियो । आर्थिक अभावको अक्कर सामु कसैको आदर्शको पहाड अडिन सक्दैन । अभाव र आवश्यकताले भोर्लेफेदीतिर तानिदिन्छ । साथीभाइसँग खुलेर जोक्स गर्न रुचाउने उनलाई कसैकसैले अरोगन्ट र इक्सेन्ट्रिक स्वभावको मान्छे हो पनि भने । मेरा अनुभव र सम्झनामा नारायगोपाल सरल र मिलनसार हुन् । बडोपन र बनावटी बानी-व्यक्तित्व कहिल्यै पाइनँ मैले । उनलाई पढ्न नसक्ने वा प्रतिभालाई परख गर्न नसक्नेहरूले जे जे आकलन गरे पनि । नारायणगोपाल नेपाली गायनको दुनियाँमा अमर-अम्बर आकाश बनेर फैलिएका देखिन्छन् ।

लामोपोखरी मार्ग-२३६,
चाबेल-७, काठमाडौं, नेपाल ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?