विवाहको भोजले पाल्पाका ८० जना भन्दा बढी बिरामी

हिमालय टाइम्स
Read Time = 2 mins

पाल्पा । विवाहमा भोज खाएपछि पाल्पाको चिर्तुङधारा गाउँका ८० जनाभन्दा बढी बिरामी परेका छन् ।

पाल्पाको बगनासकाली गाउँपालिका-१ चिर्तुङधारास्थित बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जना भन्दा बढी बिरामी परेका हुन् । मंसिर १७ गते शनिवार चिर्तुङधारास्थित एक विवाहमा भोज खाएकाहरु बिरामी परेको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिअहेव अधिकृत नोदप्रसाद बस्यालले जानकारी दिनुभयो ।

घोरबन्दा गाउँका ताराबहादुर गाहा, रिखीराम गाहा, दलबहादुर गाहा, गुनबहादुर गाहा लगायत दर्जन बढी परिवारका सबै बिरामीलाई सोमवार जाँच गरिएको स्वास्थ्यचौकी प्रमुख बस्यालले बताउनु भयो । बिरामी भएकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको थियो ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि २२ जना बिरामीको तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा उपचार भएको वडाध्यक्ष शेरबहादुर रानाले जानकारी दिनुभयो । वडाध्यक्ष रानाका अनुसार विवाह भएको घरमा गएर भोज खाने प्रायः सबै बिरामी परेका हुन् ।

प्युठान नगरपालिका-६, गुरुङगाउँबाट जन्ती गएका उनीहरु बिरामी भएका थिए । कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?