चुनाव जितेसँगै सिके राउतको म्याराथन : एक सातामै भेटे सबै शीर्ष नेता

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सिके) यतिबेला राजनीतिक भेटघाटमा व्यस्त हुनुभएको छ । ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत राउतले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएको हो ।

निर्वाचित भएसँगै अध्यक्ष राउतको राजनीतिक व्यस्तता ह्वात्तै बढेको छ  । राउतलाई प्रधानमन्त्रीदेखि स्वतन्त्र रूपमा निर्वाचन जितेका उम्मेदवारलाई भेट्न भ्याइ नभ्याई देखिन्छ । कुनै बेला मधेशलाई छुट्टै देशको रूपमा स्थापित गर्नुपर्ने पक्षमा रहेका डा राउत यतिबेला विखण्डनकारी मुद्दा छाडेर शान्तिपूर्ण राजनीतिमा सक्रिय हुनुहुन्छ ।

सप्तरी २ बाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरसहित पराजित गरेसँगै राउतको राष्ट्रिय मिडियादेखि र राजनीतिक दलसम्म माग बढेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट मात्र जिते पनि मधेशमा राउतको उदयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मधेशको नाममा लामो समयदेखि सत्ता राजनीतिका खेलाडी मानिनु हुने जसपा अध्यक्ष यादवलाई पछि पार्दै उदाएका राउत राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित हुन खोज्दैहुनुहुन्छ । उहाँले राजधानी काठमाडौं आएलगत्तै राजनीतिक भेटघाट बाक्लो बनाउनु भएको छ ।

राउतको भेटघाट डेटलाइन

राउतले सबैभन्दा पहिलो भेट कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसँग गर्नुभयो । गत बुधबार  (१४ मंसिर) दिउँसो भएको करिब एक घण्टा लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको जनाइएको छ ।

निधि निवास नयाँबानेश्वरमा भएको भेटघाटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठनलगायतका विषयमा कुराकानी भएको उल्लेख छ । उहाँले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई समेत भेट्नुभएको छ ।

त्यसपछि राउतले कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभयो ।  गत बिहीबार ९१५ मंसिर० प्रधानमन्त्री देउवा र राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो । प्रधानमन्त्रीसँग भएको भेटमा राउत सत्तारुढ गठबन्धनमा सामेल हुनेप्रति सकारात्मक हुनु भएको थियो । नयाँ सरकार गठनमा सिके राउतको अपरिहार्यता महसुस गरेर प्रधानमन्त्री देउवाले राउनलाई भेटेको देखिन्छ ।

बिहीबार साँझ नै गृहमन्त्री बालकृष्ण खाँणको सरकारी निवास पुल्चोकमा राउत र खाँणबीच भेटवार्ता भएको थियो ।  भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको बताइएको छ ।

यस्तै, बिहीबारै (१५ मंसिर) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा राउतबीच भेटवार्ता भएको थियो । प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तातमा भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान तथा आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र अध्यक्ष राउतबीच आइतबार भेटवार्ता भएको छ । बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक घटनाक्रममा समेत उहाँहरूबीच छलफल भएको समेत जनाइएको छ ।

आइतबार (१८ मंसिर) कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र अध्यक्ष राउतबीच खड्काको निजी निवास गल्फुटारमा भेटवार्ता भएको थियो । खड्काले राउतलाई उहाँको पार्टीको विजयका लागि बधाई तथा शुभकामना दिएको बताइएको छ। यस्तै, भेटमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ।

अध्यक्ष राउतले सांसद प्रभु साहसँग पनि भेटघाट गर्नुभएको छ । अध्यक्ष सिके राउत र नेता साहबीच आइतबार भेटवार्ता भएको हो । साहले आफूहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको  सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । साह एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनु भएको हो ।

यसैबीच, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि अध्यक्ष राउतले भेट गर्नुभएको छ। नेपाल निवास कोटेश्वरमा सोमबार (१९ मंसिर) उहाँहरूबीच भेटवार्ता भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष नेपाल र जनमत पार्टीका अध्यक्ष डा। राउतबीच भेटवार्ता भएको हो । कोटेश्वरमा प्रचण्ड र नेपालको भेटवार्ता भइरहेको क्रममा जनमत पार्टीका अध्यक्ष राउत पनि पुग्नुभएको थियो । उक्त वार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको बुझिएको छ ।

अध्यक्ष राउत र लोसपा वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटघाट भएको छ । उहाँहरुबीच सोमबार १९ मंसिर०  भेटवार्ता भएको हो । अध्यक्ष राउत र वरिष्ठ नेता महतोबीचको भेटवार्तामा के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

सोमबार नै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा राउत (सिके) बीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको डा. भट्टराईले जानकारी दिनुभयो ।

राउत अहिले गठबन्धन दलका निम्ति दरिलो साथी हुन खोज्दै हुनुहुन्छ । कुनै पनि दलको बहुमत पुग्ने स्थिति नभएकाले सरकारको धार्नी पुर्‍याउन थ्रेस होल्ड पार गरेका दलहरूलाई सरकारमा अटाउन खोजिँदै छ । जसको पहिलो विकल्प अध्यक्ष राउत नै रहेकोमा सत्ता गठबन्धनको पछिल्लो दौडधुपले पनि पुष्टि गरेको छ ।
-विष्णु रैगाईं

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?