आयात प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

गाडी, मोबाइल र मदिराको आयात पुस १ गतेदेखि खुल्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले प्रतिबन्धित वस्तु आयात खुलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धित वस्तुको आयात आगामी पुस १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको हो । यसअघि आयातमा प्रतिबन्ध लगाइएका गाडी, मोबाइल, मदिरा र मोटरसाइकल जस्ता विभिन्न प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । ‘मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो, मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको हो, मंसिर २९ पछि आयात खुल्छ’ बडूले भन्नुभयो ।

विदेशी मुद्रा सञ्चितिको अवस्थामा पछिल्लो समय केही सुधार आएसँगै नेपालले वस्तु आयातलाई खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा गएको र सोहीअनुसार निर्णय भएको बताइएको छ । गत वैशाख ११ गतेदेखि निश्चित वस्तुहरू तोकेर आयात प्रतिबन्ध लगाइएको थियो । सुरुमा कुर्कुरे, कुर्मुरे लेज, तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल फोन सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यान, २५० सिसीभन्दा माथिका मोटरसाइकल, खेलौना, तासको आयात रोकिएको थियो । तर, अहिले पनि तीमध्ये चार वस्तुमा मात्रै प्रतिबन्ध कायम छ । तिनमा एम्बुलेन्स बाहेकका निजी गाडी, ३०० डलरमाथिको मोबाइल फोन, १५० सिसीमाथिका मोटरसाइकल र मदिरा मात्र छन् । यो व्यवस्था मंसिर मसान्तसम्मको लागि कायम छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले पुस १ गतेदेखि ती सामानसमेत आयात खुल्ला गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुन्छ ।

यस्तै, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा अहिलेको सरकारले नै ब्याजदरमा हस्तक्षेप गर्नुपर्ने आवाज उठेको छ । पछिल्लो पटकको मौद्रिक नीतिलाई परिमार्जन गर्दै ब्याजदरमा हस्तक्षेप गर्नुपर्ने तीन मन्त्रीहरूले माग गरेका हुन् । उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएको दाबी गर्दै तीन मन्त्रीले ब्याजदरमा हस्तक्षेपको आवश्यकता औँल्याएका थिए । गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले अहिलेको मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै हस्तक्षेप गर्नुपर्ने बताएको एक मन्त्रीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?