गठबन्धनको निर्णय गठबन्धनकै पक्षमा

हिजो किन गठबन्धन भयो, त्यसको आवश्यकता र औचित्य थियो कि थिएन भन्ने समीक्षाको सान्दर्भिक समय यही हो । राजनीतिशास्त्रका विद्वानहरूबाट अब त्यो काम होला पनि । एक पक्षले यसलाई महाराष्ट्रवादी कदम ठान्लान् भने अर्को पक्षले महाराष्ट्रघाती कदम पनि ठान्लान् । पक्ष–विपक्षका आँखाबाट हेर्दा त्यस्तो देखिएला, राजनीति गर्नेहरूको एउटा एउटा हेराइ र पक्ष पनि हुन्छ तर स्वतन्त्र रूपमा विश्लेषण गर्नेहरूले निष्कर्ष निकाल्ने बेला चाहिँ यही हो । त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकाधिकार लाद्न खोजेका हुन् भनियो र त्यही कारण मजबुत रूपमा रहेको नेकपा चिराचिरामा विभक्त हुनपुग्यो । त्यसपछि दोहोर्‍याई-दोहोर्‍याई प्रतिनिधिसभा विघटनका सिफारिशहरू उहाँबाट हुन पुग्यो । अस्तित्वको लडाइँमा उत्रिनु परेपछि उहाँकै सहकर्मीहरू प्रतिस्पर्धी बनेर लाग्नुभयो ।

त्यसको परिणाम सोच्दै नसोचेको ढंगले देखिन आयो । उहाँहरूबाट प्रमुख प्रतिपक्षको हातेमालोमा पुगेर सरकार बनाउनेलगायत कार्यहरू भए र पाँच दलीय गठबन्धन हुनपुग्यो । त्यो गठबन्धन यस्तो मजबुत बन्नपुग्यो कि इतिहासमै एउटा अनौठो प्रयास गर्‍यो । के भने सरकार बनाउन विभिन्न दलको तालमेल वा सहकार्य अन्यत्र पनि हुनेगरेको छ तर निर्वाचनमा समेत गठबन्धन गरेर गएको भने नौलो हो । अब भने सबैतिरको परिणाम आइसकेको छ । सोचेनुसार गठबन्धनले परिणाम ल्याएकै मान्नुपर्छ । हुन त गठबन्धनको निष्कर्ष आफूले सोचेनुसारको परिणाम ल्याउन नसकेको भन्ने छ । कसैके केहीको चाहना गर्दा मैले अझै राम्रो गर्नुपर्ने थियो भन्ने नै रहन्छ ।

त्यसलाई सकारात्मक सोच मान्नुपर्छ । अब सरकार बनाउन उनीहरूले सक्ने अवस्था छ । हिजो एकै मन गरेर उनीहरू निर्वाचनमा गएका थिए अहिले पनि त्यो आवश्यकता छँदैछ । कोही कता कोही कता फर्केर र टेडिएर बस्ने हो भने सरकार बन्न सक्दैन, राष्ट्रको राजनीतिले एउटा निस्चित गति लिन सक्दैन । हिजो जसरी सबै एकै ठाउँमा उभिएर निर्वाचन गराए त्यसरी नै भावी राजनीतिको रथ हाँक्न उनीहरू अघि सर्नुपर्ने हुन्छ । उनीहरूबीच गठबन्धन हुनुको मूल कारण भनेकै नेकपा एमालेलाई पाखा लगाउनु थियो । उनीहरूको अभियान यही थियो र हाल उनीहरूले सोचेजति पर धकेल्न नसके पनि सरकार बनाउन नसक्ने हैसियतमा त उनीहरूले एमालेलाई पुर्‍याएकै छन् ।

त्यस अर्थमा अब सरकार बनाउने सन्तुलिन रूपमा पद बाँडफाँट गर्ने, सरकारलाई सन्तुलित रूपमा सञ्चालन गर्ने जिम्मेवारी इमानदारीपूर्वक सत्तारुढ गठबन्धनले निर्वाह गर्नुपर्छ । राष्ट्र सञ्चालनको विषय यो कसैलाई चित्त नबुझ्ला र भोलि छोडेर हिँड्ला अनि यसैगरी कोही सरकारमा सामेल हुन आउला त्यो एक प्रकारको प्रक्रिया हो भने अर्को किसिमले सरकार भनेको अविछिन्न उत्तराधिकारीवाला संस्था हो । त्यसैले यहाँ मूल भएर रहने राजनीतिक शक्तिले भने जाने आउने प्रक्रियालाई स्वाभाविक मानेर आफू भने धैर्यपूर्वक सरकारको साँचो आफ्ना हातमा लिएर त्यसको सञ्चालनमा लागि रहनुपर्ने हुन्छ । राजनीतिक स्थिरता त्यसैबाटै प्राप्त हुन सक्छ । यसर्थ अब सरकार बनाउने कार्यमा गठबन्धनमा सामेल दलहरू नै अगाडि बढ्ने सम्भावना त छँदैछ तर सरकार बनाउकै लागि मात्र सरकार बनाउनु हुँदैन ।

सरकार कसैको व्यक्तिगत लाभ र हानीका लागि होइन राष्ट्रको समग्र हित हुनेगरी निर्माण हुनुपर्दछ । नेतृत्वमा रहने व्यक्ति आफ्नो, आफ्ना र आफ्नाका आफ्नाहरूको घेराभित्र रहनु हुँदैन, त्यस परिधिबाट पर रहन सक्नुपर्छ । आफ्नो सम्पूर्ण योगदान देशकै लागि गर्नसक्ने व्यक्तिको छनोट हुनसक्यो भनेमात्र देशको भलाइ हुनसक्छ । धेरै आदर्शले भरिपूर्ण मानिस त नेपालको राजनीतिक क्षेत्रमा खोज्न नसकिएला तर सकेसम्म बढी गुण र सामथ्र्य भएको मानिस छनौट हुनुपर्छ । आममानिसले नरुचाहेको मानिसले सरकाको नेतृत्व गर्न पुग्यो भने त्यसको विरोधको प्रारम्भ भइहाल्छ, सरकार अस्थिर हुनजान्छ । सरकार जति नै अस्थिर बन्छ त्यति नै देशको विकास पछाडि धकेलिन्छ । त्यसैले त्यतातिर सरकार निर्माणको प्रारम्भिक चरणदेखि सोचिनु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?