नयाँ बोतलमा पुरानो रक्सी

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 13 mins

संसद् र सांसद :
संसद् संस्कृत शब्द हो, यसको अर्थ हुन्छ असल नियतले काम गर्न जम्मा भएको समूहको घर या ठाउँ । देश र जनताका निमित्त गम्भीर चिन्तन गरेर नीतिनिर्माण गर्ने स्थललाई वेदमा सभा, विदत भनिन्थ्यो । रामायण कालमा आएर संसद शब्दको प्रयोग पहिलो पटक भएको देखिन्छ । यो पौरस्त्य परम्पराको कुरो भयो । पाश्चात्य परम्परामा संसदलाई पार्लियामेन्ट, अपर हाउस, लोअर हाउस आदि भन्ने शब्द दिइएको पाइन्छ । अब्राहम लिंकनले गरेको परिभाषमा प्रजातन्त्रसँग मिल्ने लक्षणकै आधारमा संसदको पनि परिभाषा बनाइएको देखिन्छ । देशका विभिन्न भागबाट त्यो देशका वासिन्दाको अभिमतबाट आएका जनप्रतिनिधिले देश र जनताका लागि आवश्यक पर्ने नीति या विधिको तर्जुमा गर्ने विदतलाई संसद भनिएको थियो ।

नेपाली जनताको दुर्भाग्य पटक-पटक देश र जनताका लागि शासन गर्ने कलामा मखुण्डी सावित भएका राजनीतिका भरियालाई नै रोज्नुपरेको छ । नयाँ कोही परिचय नै नखुलेका जादूगर जस्ता छन् त कोही रहर अनि लहडमा चुनावमा उठेका छन् ।

अहिलेका संसदमा जाने सांसद (संसदी प्रविशति इति सांसद) सम् सम्यक् प्रकारेण, सदृ सातत्य गमने, नित्य हिँंडिरहन्छ या सच्चिन्तन गरी हिँड्छ जसभन्दा संसद शब्दव्युत्पादन भएको देखिन्छ । नेपाली संसदमा गएका सांसदको कुरो गर्दा भने राम्रोसँग देश र जनता लुट्नका लागि नित्य चिन्तनशील रहने मानवीय अनुहारका गिदी तथा लाज शर्म नभएका दुई खुट्टे जीवको जमघटस्थल भन्ने हुँदोरहेछ । संसद् स्थापना भएदेखि मैले यस्तै अर्थ बुझेको छु नेपाली सांसद र संसद्को । अर्को अर्थ छ भने कथनीले होइन करनीबाट देखाइपाऊँ भन्ने माग छ मानवीय अनुहारका सांसद भनिने जीवसँग । दुई खुट्टाले हिँड्नु, ट्याउँट्याउँ बोल्नु नै मानव बन्नु होइन । जनहिताय चिन्तयति मननं करोती ती मानव यस व्युत्पत्ति अनुसार मानव र मान्छेमा पनि पार्थक्य रहेको देखिन्छ ।

दुनियाँ र हाम्रो कुरो :
बेलायतमा नारीलाई पुरुष र पुरुषलाई नारी बनाउने कामबाहेक सबै काम विदतले गर्दछ भन्ने भनाइ प्रसिद्ध छ । भारतमा पनि संसदले देश र जनताका निमित्त चिन्तन-विधायन) गर्दागर्दै कहिलेकाहिँ निजी उन्नति र खुशीयालीका निमित्त पनि सोच्न पुगेका घटनाहरू खोजिपसे भेटिएलान् झैँ लाग्छ मलाई किनभने ती पनि नेपालका आधाभन्दा धेरै जनताका सजातिमात्रै छैनन् अंशियार नै रहेका देखिन्छन् । नेपाली र भारतीय संसदले त देशको होइन आफ्नो र आफन्तको बढी चिन्ता र चिन्तन गर्ने गरेका उदाहरण पनि भेटिन्छन् । पूर्वभइसक्दा पनि प्रधानमन्त्री र गृहमन्त्रीलाई सुरक्षा गार्ड गाडी आदि केका लागि ? कुन चरित्र भएका मान्छे गृह र प्रम बनेका छन् ? नेपालका जिल्लालाई क, ख र ग गरी तीन वर्गमा विभाजन गरिएको छ ।

यसरी हेर्दा प्रमुख जिल्ला अधिकारी पनि तीन श्रेणीका हुने नै भए । जब चुनाव आउँछ अनि प्रहरी निकाय र प्रशासनिक निकायलाई (१) बाट एक करोड, (२) बाट पचास लाख र (३) बाट पच्चीस लाख चुनावी सहयोग माग्नु भनेको ज्यादती हो कि होइन ? हुन त यसपटक यसलाई जनताले ज्यादती नै मानेछन् । यसो गर्नेलाई संसद् छिर्न दिएन छन् । उनका थैली र बन्दुक अनि घँगारुले पनि जनता थर्काउन सकेनन् । यद्यपि वामदल भएको भए जसरी पनि जितेरै छाड्ने थिए । बालुवाटारको जग्गा बेच्ने विष्णु पौडेल जितेरै आएछन् । त्यो हद चाहिँ बालकृष्ण खाँणले नदेखाएकामा सन्तोषै गरौँ । जग्गा बेचुवाका नाइके को-को हुन् त्यो त थाहा भएन तर विजय गच्छदार पनि हारेछन् । भगवती चौधरी पनि सारै राम्रो छाँटकी त कहाँ हुन् र ?

भारतीय संसद् र सम्बद्ध संस्थाले त काम गरेर देखाएको छ । लालु यादव हाम्रा विष्णु पौडेल र विजय गच्छदारभन्दा अब्बल चरित्रका हुन् । तिनी अहिले जेलमा चक्की पिँध्दैछन् । हाम्रो अख्तियार सेटिङमा हिँड्छ । अनि साना भुरालाई सताएर बडेका चरण धोएर चरणामृत ग्रहण गर्दछ । अर्कातिर न्यायालयमा पनि मोलमोलाइ नै चलेका धेरै प्रमाण बाहिरिएका हुनाले फोहोर चलाई मुख छिटा किन गर्नु ? असाध्य निष्पक्षताको अभिनय गर्ने दिनेश थपलियाको तुजुक पनि देखियो ।

भ्रष्टाचारप्रति शून्यसहनशीलता भएका गफाडीको असली चेहरा पनि देखियो । प्रजातान्त्रिक समाजवाद र संवैधानिक राजतन्त्रको फलाको फलाक्ने लिङदेनका खुट्टी पनि नेपाली जनताले चाल पाएकै कुरो हो । अचेल ठूला अनुसन्धाता बनेर निक्लेका छन् ‘सामन्तको गर्धन काटियो, तातो रगत चाटियो’ भनेर सामन्त मासेको प्रायश्चित्त पशुपतिको जलहरी र ठोरीमा रामको मूर्ति स्थापना गर्नेका हृयाउ पनि त नेपालीले देखे नै होला । अचेल नेपालमा राजनीति पनि कलमी हुन थालेको छ । हुन त पहिले पनि कलमी नै थियो ।

मुग्लानमा बसेर राजनीति सिकेर आउँथे अनि एक थरीलाई राजनीतिक मुद्दा नै त्यही हुन्थ्यो भारतीय दलाल, भारतीय विस्तारवादी भनेर जीवनभरि घोक्थे बरा विचराहरू । आफू बोलो कि झनै ठूलो स्वरमा फलाक्ने भन्या के गर्नु र नि । अमेरिका बेलायतबाट राजनीतिका बेर्ना आउन थालेका छन् । बेलायती बेर्नु त जे भेट्यो त्यसैमा बेरिएर बस्न विवश भयो तर अमेरिकन बेर्नाले भने पुरानाको गानु नै चलायो ।

अझै घरघरमा घण्टी बजाएर यो साम्राज्यवादीले के गर्न खोजेको हो भनेर विचरा ओलि चिन्तित भएर हलाहल विष वमन गर्न लागेका छन् । विचराले अनुसन्धान पनि कत्रो ध्यान दिएर गरेछन् त्यो साम्राज्यवादी देशको कुन पार्टी हो र त्यसको जेजस्तो उद्देश्य र चिहृन छ त्यो पनि पत्ता लाएर नेपालीलाई लाउनसम्मको गुन लाए । हनुवा गोरु पनि बाघ देख्यो भने त गोठालाका अघिल्तिर आएर लुटुक्क परेर बस्छ नि । निर्धालाई होक्काँ गर्ने र बलियाको ताबेदारी त जीवको जन्मजात गुणै हो नि ओलीजी ।

भाग्य नै फल्छ न विद्या न पुरुषार्थ :
नेपाली जनताको दुर्भाग्य पटक-पटक देश र जनताका लागि शासन गर्ने कलामा मखुण्डी सावित भएका राजनीतिका भरियालाई नै रोज्नुपरेको छ । नयाँ कोही परिचय नै नखुलेका जादूगर जस्ता छन् त कोही रहर अनि लहडमा चुनावमा उठेका छन् । सडेका आलुका थुप्राबाट जनताले कसरी सद्दे आलु छान्ने ? हुँदै नभएको चिज ल्याउने जनता या मतदाता जादुगर त होइनन् । सत्ता, शक्ति, धन, डनका भरमा आठ दशकभन्दा बढी उमेरका भरिया भारी बोक्न तयार भएर चौतारामा हातमा नाम्लो डोरी बोकेर बसेका छन् त दाँतै नसाटिएका बछेडा पनि म म भनेर अघिसरेको देख्दा जनता एकछाक खाएर आठ दस हजार रुपैयाँमा लोभिए भने के आश्चर्य भयो त ?

गोर्खा, डडेल्धुरा, रौतहट, झापा र काठमाडौं एक यसका राम्रा नमुना हुन् । मेरा घरमा चारवटा मत थिए । म विवश पनि थिएँ मतदान गर्ने ठाउँ नै थिएन । मेरो अप्ठ्यारो प्रकाशमानले भेटेर कुरा गरेर फुकाइदिए । रूखबाहेक मतदान गरेर गाईको आहारा गधालाई दिन पनि मन थिएन । प्रकाशजीका चिन्तन व्यवहारले म पनि वाक्क भएको थिएँ । चुनाव जित्नै भने पनि उहाँले मलाई भेट्नु भएको हुनाले मलाई सजिलो भयो । यस्तै अवस्था धेरैलाई परेको हुनसक्छ ।

अहिले पाँच दलीय गठबन्धनका कसैले पनि वर्ष-वर्ष दिनका किसानका समस्या, शिक्षाका समस्या, उद्योगका आयोजना, रोजगारी सिर्जनाका कुरा, परराष्ट्र सम्बन्धका समस्या, रक्षाका नीति र समस्या जस्ता विषयका सम्बन्धमा योजना केही छैन । प्रधानमन्त्रीकै मात्र ध्याउन्न छ ।

अहिले पाँच दलीय गठबन्धनका कसैले पनि वर्ष वर्ष दिनका किसानका समस्या, शिक्षाका समस्या, उद्योगका आयोजना, रोजगारी सिर्जनाका कुरा, परराष्ट्र सम्बन्धका समस्या, रक्षाका नीति र समस्या जस्ता विषयका सम्बन्धमा योजना केही छैन । प्रधानमन्त्रीकै मात्र ध्याउन्न छ । नयाँको पनि र बुढा त बुढा भइगए बानी परेका जनता ढाँट्न । दिमागमै छलछाम र षड्यन्त्रमात्र खेल्दो हो नानीदेखि यिनले यही त सिके । उखानले भन्छ दिएर आफ्नो र खौरेर मसिनु हुँदैन तर यिनीहरू सधैं दुई कौडी मौकामा फालिदिएर चौका दाउ पार्न माहिर ।

गगन, विश्वप्रकाश, प्रदीप, बद्री पाण्डे आदि युवकले अब पार्टी मिलेन भने व्यक्तिगत धारामा पुर्‍याएरै भए पनि सरकार निर्माणमा हस्तक्षेप गर्नैपर्छ । धृतराष्ट्र जेठा भए पनि जन्मान्ध भएका हुनाले राज्य सञ्चालन गर्न अयोग्य मानिएर पाण्डु राजा बनेका थिए । सिंहप्रताप शाहभन्दा हजार गुना योग्य बहादुर शाह भए पनि गद्दीमा सिंहप्रताप शाह नै बसेका थिए । योग्य व्यक्ति भेटिँदा नियम र परम्पराका नाममा बन्धक बनेर मुलुकलाई पुरानै चक्रवातमा धकेल्नु बुद्धिमानी होइन ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2022-12-07 3:25 pm

मर्मस्पर्शी भनाइ

नेपाली संसदमा गएका सांसदको कुरो गर्दा भने राम्रोसँग देश र जनता लुट्नका लागि नित्य चिन्तनशील रहने मानवीय अनुहारका गिदी तथा लाज शर्म नभएका दुई खुट्टे जीवको जमघटस्थल भन्ने हुँदोरहेछ । संसद् स्थापना भएदेखि मैले यस्तै अर्थ बुझेको छु नेपाली सांसद र संसद्को ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?