विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

Read Time = 6 mins

दोहा । एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप-२०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राती पोर्चुगल र स्विट्जरल्याण्डबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै आठ टोलीको टुंगो लागेको हो ।

साबिक विजेता फ्रान्स, साबिक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्याण्ड, नेदरल्याण्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् । नेदरल्याण्ड्सले अमेरिकालाई ३-१, अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१, फ्रान्सले पोल्याण्डलाई ३-१, इंग्ल्याण्डले सेनेगललाई ३-०, ब्राजिलले दक्षिण कोरियालाई ४-१ ले र पोर्चुगलले स्विट्जरल्याण्डलाई ६-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका छन् ।

यस्तै, क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३-१ र मोरक्कोले स्पेनलाई टाइब्रेकरमै ३-० ले पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएका छन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्स, तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्याण्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।

पोर्चुगलको सानदार जित
नकआउट चरणमा मंगलबार राती भएको खेलमा स्विट्जरल्याण्डमाथि पोर्चुगलले ६-१ गोलअन्तरको सानदार जित हात पारेको पार्‍यो । पोर्चुगलका लागि गोन्कालो रामोसले हृयाट्रिक गनुभयो । त्यसबाहेक पेपे, राफेल गुरेरियो र राफेल लियोले थप तीन गोल थप्नुभयो । स्विट्जरल्याण्डका लागि म्यानुअल अकाञ्जीले एक गोल फर्काउनुभयो ।

गोन्कालो रामोस कतार विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्नुभयो । पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राख्दै युवा स्टार रामोसलाई मैदानमा उतार्नुभयो । रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्नुभएका रामोसले १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गर्नुभएको हो ।

पोर्चुगलको उमेर समूह हुँदै सिनियर टोलीमा स्थान बनाउनुभएका उहाँले १७ नोभेम्बर २०२२ मा नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलबाट सिनियर टोलीमा डेब्यु गर्नुभएको थियो । त्यसयता उहाँले चार खेलमा चार गोल गरिसक्नुभएको छ ।

१७औँ मिनेटमा रामोसले पोर्चुगललाई अग्रता दिलाउनुभएको थियो । पेपेले ३३औँ मिनेटमा अग्रता दोब्बर पार्नुभयो । बु्रनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत् गोल प्रहार गर्नुभएको थियो । ५१औँ मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । ५५औँ मिनेटमा राफाएल गुरेरोले रामोसकै पासमा गोल गर्नुभयो ।

६७औँ मिनेटमा रामोसले हृयाट्रिक पूरा गर्नुभयो । इन्जुरी समयमा लिआओले गुरेरोको पासमा गोल गर्दै खेलमा पोर्चुगललाई जित दिलाउनुभयो ।

स्पेनसँग मोरक्को स्तब्ध
स्पेनलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरक्कोले अन्तिम आठमा स्थान बनायो । स्पेनलाई टाइब्रेकरमा ३-० ले स्तब्ध पार्दै मोरक्कोले पहिलोपटक क्वाटरफाइनलमा स्थान बनाएको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । त्यसमा मोरक्कोले बाजी मार्न सफल भयो ।

टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गर्नुभयो । बदर बनोउनेले गोल गर्न सक्नुभएन । स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो । त्यसपछि कार्लाेस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई यासिन बोनोले बचाउँदै टोलीलाई क्वाटरफाइनलमा प्रवेश गराउनुभयो । अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?