सूर्य नेपाल ओपनको दोस्रो दिन पनि रवि शीर्षस्थानमा

Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन पनि रवि खड्का चार अण्डर ६४ को स्कोर गर्दै समग्रमा १०- अण्डर एक सय २६ सहित शीर्षस्थानमा कायमै रहन सफल हुनुभएको छ । ३६ होलको समाप्तिमा रविले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्नुभएको हो । लिडर रविलाई दबाब दिनुभएका भुवनले दोस्रो दिन रविले जत्तिकै चार अण्डर ६४ अंक जोड्दा समग्रमा नौ अण्डर एक सय २७ को स्कोरमा दोस्रो स्थानमा रहेको आयोजकले जनाएको छ ।

लगातार दोस्रो दिन एक अण्डर ६७ खेल्दै समग्रमा दुई अण्डर एक सय ३४ स्कोरसाथ रमेश अधिकारी तेस्रो स्थानमा उक्लिनुभएको छ ।
शुक्रबहादुर राई, प्रदीपकुमार लामा र राजेन्द्र श्रेष्ठ प्रधान समग्रमा इभन-पार एक सय ३६ को स्कोरमा संयुक्तरूपमा चौथो स्थानमा रहनुभएको भने दाबेदार मानिनुभएका शुक्रले खराब प्रदर्शन गर्ने क्रममा तीन ओभर ७१ मा दोस्रो दिनको खेल पूरा गर्नुभयो ।

प्रदीप र राजेन्द्रले समान दुई अण्डर ६६ को स्कोर कार्ड तयार पारेको बताइएको छ । समग्रमा एक ओभर एक सय ३७ सहित कृष्णमान राजबाहक सातौँ तथा दुई ओभर एक सय ३८ को नतिजामा सूर्यप्रसाद शर्मा र जयराम श्रेष्ठ संयुक्तरूपमा आठौँ स्थानमा रहनुभएको आयोजकले जनाएको छ । कुल छ लाख ७० हजार पुरस्कार राशि रहेको प्रतियोगिता विजेताले एक लाख १६ हजार प्राप्त गर्नेछन् भने उपविजेता खेलाडीले ७४ हजार तथा तेस्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?