योमरी अर्थात् मनपर्ने रोटी

Read Time = 17 mins

✍️ इन्द्रबहादुर शाक्य

यो भनेको मन परेको र मरी भनेको रोटी हो । यो योमरी कुन बेला आविष्कार भयो भन्नेमा धेरैलाई जिज्ञासा हुन सक्दछ । प्रकृतिले दिएको चिजबाट यो योमरी तयार हुन्छ । कृषिउपजबाट यो चिज बन्दछ ।

यो कुन समयमा आयो ?
अनुसन्धान गर्दा योमरी त्रेतायुगमै बनेको थियो । यो योमरी खानाका लागि तयार गरेको थियो । नेपाल राष्ट्रभित्र जनकपुर अथवा मिथिलाका राजाको समय राजा जनकको पालामा योमरी बनाएको त्यस भेगका बासिन्दाले भन्दै आएका छन् । मन परेको रोटीलाई मिथिला भाषाबाट बगिया रोटी भन्दछन् ।

राजाले किन यस्तो रोटी बनाएर खाए त ?
त्यतिबेला राजा पनि खेती गर्दथे । मिथिला राज्य अथवा जनकपुरको भूमिमा राजा जनकले पनि खेती गर्दथे । राजाले पनि धान रोप्ने समयमा, खेतमा धान रोप्थे । त्यसैले मिथिला भूमिलाई कृषिभूमि अथवा खेती गर्न योग्य जमिन पनि भनिन्छ । असार महिनामा धान रोपेको धान पाकिसेपछि मंसिर महिनामा काटेर घरभित्र राखिन्छ । राजाले पनि धान बताएर दरबार (घर)भित्र राखेका थिए । धान कुटेर चामल बनाई खाना बनाउने चलन छ । चामलबाट विभिन्न प्रकारका खाना बनाएर खाने चलन छ । त्यस खानामध्ये आफूलाई मनपर्ने रोटी बनाएर खाने पनि चलन त्यतिबेला नै चलिसकेको थियो ।

राजा जनकले पनि नयाँ धानको चामलबाट आफूलाई अति मन पर्ने एक प्रकारको रोटी बनाएर खाएको कुरा इतिहासमा छ । त्यो रोटीको नाम बगिया हो भन्ने त्यहाँका मानिसहरूको भनाइ छ । राजाले चामललाई पिठो पारी त्यसलाई मुछी डल्लो पारी त्यस डल्लो पिठोलाई हातले प्वाल पारेर भित्र खोक्रो बनाएर त्यसभित्र भएको दाल, तरकारी राखेर उसिनेर मम पकाएजस्तो गरी पाकेपछि पकाएको भाँडाबाट झिकेर एउटा पातको टपरीमा राखेर अलि अमिलो अचार बनाएर खाने चलन त्यतिबेला नै चलिसकेको थियो ।

त्यतिबेला राजाले साइत हेरेर शुभदिन मिलाएर मन परेको रोटी खाएका थिए । धानलाई पूजा गर्ने दिन, धान्यपूर्णिमा, योमरी पूर्णिमा, बगिया पूर्णिमा धानलाई काटेर घरभित्र राखी नयाँ धानलाई पूजा गरी चामललाई पनि पूजा गरी खाने चलन छ । त्यो शुभदिन भनेको पूर्णिमाको दिन हो । मंसिरको धान्यपूर्णिमालाई पहिलो धान भकारीमा राखेर पूजा गर्ने भएकाले यो पूर्णिमालाई धान पूर्णिमा पनि भनिन्छ । धानपूर्णिमा अपभ्रंश भएर धान्य पूर्णिमा हुनगएको हो । यस दिनमा नयाँ धान भकारीमा राखी पूजा गरी त्यही धानबाट प्राप्त चामलबाट आपूmलाई मन पर्ने रोटी बनाएर खाने दिन पनि यही पूर्णिमाको दिन हो । यस्तो शुभ साइत गरी मन परेको रोटी बनाएर खाने दिनलाई धान, धन्या, योमरी, मन परेको रोटी पूर्णिमा भनिन्छ ।

नयाँ धान भकारीमा राखी पूजा गरी त्यही धानबाट प्राप्त चामलबाट आपूmलाई मन पर्ने रोटी बनाएर खाने दिन यही पूर्णिमाको दिन हो । यस्तो शुभ साइत गरी मन परेको रोटी बनाएर खाने दिनलाई धान, धन्या, योमरी, मन परेको रोटी पूर्णिमा भनिन्छ ।

सन् १९८६ सालमा नेपाली प्रतिनिधि मण्डल नेपाल हस्तकला महासंघबाट अध्यक्ष स्व. ताराबहादुर शाक्यको अध्यक्षतामा हामी चार जना चीनको बेइजिङ भ्रमण गएका थियौँ । त्यतिबेला बेइजिङ हस्तकला र संस्कृति विभागबाट त्यहाँको हस्तकला बारे अध्ययन पनि गरियो । राति रात्रिभोजनको लागि एउटा रेस्टुरेण्टमा खानाको बन्दोबस्त गरिएको थियो । त्यतिबेला बेइजिङ चाइनिज हस्तकला र संस्कृति विभागबाट त्यस रेस्टुराँमा हामीलाई योमरीको आकार र हाँसको मासु एउटा प्लेटमा राखेर देखाउन अगाडि ल्याइयो । हामी सबैले हे¥यौँ, एकछिनपछि त्यसलाई मासुभित्र राखी बन्द गरी हाम्रो अगाडि राख्न ल्याए ।

उनीहरू पूरा हातले बनाएको खाना, नेपाली हस्तकलाका व्यापारीहरूलाई खुवाउनुपर्छ भनेर हाम्राअगाडि राख्न ल्याए । उनीहरूको धेरै पुरानो ७० हजार, ८० हजार वर्षअघिको खाना भनेर भन्छन् । हामीले पनि यो खानालाई बनाएर ल्याएको हे¥यौँ । त्यो खाना हाम्रो योमरीको आकारमा थियो । अलिअलि फरक देखिन्छ । यो खानामा उनीहरूले ससेज पनि राखेका थिए । उनीहरूसँगै बसेर हामीले यो ससेज चोपेर खायौँ खाना मिठो भयो । स्वाद नौलो थियो । हामीले भन्यौँ यो मासु भएको योमरी पर्‍यो, नेपालमा छैन । उनीहरूले भने नेपालीहरू कला, संस्कृतिमा धनी छन् । हाम्रो पनि संस्कृति, खानामा धनी छ तपाईंहरूलाई यो त्यसैले खुवाएको हो । यस्तै जापानमा २००० सालमा र द. कोरियामा १९९३ सालमा मेलामा जाँदा पनि यस्तो मासु राखेर बनाएको योमरी किनेर मैले खाएको छु ।

नेपालमा उपत्यका बाहिर :
नेपालमा यो खाना पनौतीबाट सुरु भएको हो । पनौतीवासीले यो खानालाई योमरी भन्दछन् । यसमा चाकु र तिल राखेर बनाइन्छ । यो एउटा भाँडामा छोपेर पानीको बाफले मात्र पकाइन्छ । यो मम बनाउने भाँडा जस्तोमा राखेर त्यसै गरी पकाइन्छ । पनौतीमा यो योमरी चलेको द्वापर युगमा ७० हजार वर्ष भइसक्यो भन्ने त्यस ठाउँका बासिन्दाहरू भन्छन् ।

पनौतीबाट स्वयम्भू दहभित्र (उपत्यका भित्र) ल्याएको तण्डुकार जाति अथवा वर्गले हो । उनीहरूले योमरी बनाएर सबैभन्दा पहिले स्वयम्भू देवतालाई चढाई, गजुरमाथि चढेर योमरी छरेका थिए । त्यो दिन भनेको धान्य पूर्णिमा हो । नेवारीमा यसलाई योमरी पूर्णिमा भन्दछन् । वास्तविक यो धान पूर्णिमा हो । यो दिनमा योमरी छर्ने भएको हुनाले योमरीवाःगाई (पानी पर्ने) भन्दछन् ।

योमरी कसरी बनाउँछन् ?
चामललाई पिठो बनाई भाँडामा पानी राखी आगो बाली पानी उमालिन्छ । उमालेको पानीमा पिठो हालेर घोलिन्छ । ढिँडोे जस्तै बनाइन्छ, चामल पाकेपछि चुलाबाट झिकी एउटा भाँडामा राखी कपडाले छोपिन्छ वा राख्दछ, योमरी बनाउनका लागि एउटा डल्लो लिएर त्यस डल्लालाई हातको औंलाले डल्लोमा प्वाल पारी औंला घुसारी, औला घुमाउँदै घुमाउँदै प्वाललाई ठूलो बनाइन्छ । स्वयम्भूको स्तुपको आकार अथवा भकारीको आकार बनाई गजुर पनि निकाली यसमा चाकु र तिल मिसाएको झोल दुई चम्चा राखेर त्यो प्वाल भएको योमरीभित्र राखिन्छ । अनि पछि प्वाललाई अर्को पातलो चक्की बनाएको पाताले टालिन्छ । चाकुलाई पानी हालेर पकाई चाकु पग्लिएपछि भुटेको तिललाई सो चाकुमा मिसाइन्छ र चाकु र तिल मिसिएको झोल तयार हुन्छ ।

भाँडामा पानी तताइराखेको, त्यसमाथि प्वाल प्वालहरू भएका पातामा बनाएको योमरी राखी, बाफलेमात्र उसिनेर पकाइन्छ । मम जसरी भाँडामा राखेर पकाउने गरिन्छ । २० मिनेट जति राखेपछि यो पाक्छ । अनि भाँडाबाट झिकेर खाइन्छ । नयाँ धान बाली काटेर भकारीमा राखिन्छ । भकारी गोल आकारमा बनाएको हुन्छ । यसमा धान राखिन्छ ।

योमरीलाई पनौतीबाट स्वयम्भू दहभित्र ल्याएको तण्डुकार जातिले हो । उनीहरूले योमरी बनाएर सबैभन्दा पहिले स्वयम्भू देवतालाई चढाई, गजुरमाथि चढेर योमरी छरेका थिए । त्यो दिन धान्य पूर्णिमा हो । नेवारीमा यसलाई योमरी पूर्णिमा भन्दछन् ।

नयाँ धानको बालीको चामलको पिठोबाट यो योमरी बनाई, मंसिरको पूर्णिमा, धान पूर्णिमा वा धान्य पूर्णिमाका दिनमा यो योमरी बनाई पूजा गरी दिनलाई नेवारले योमरी पूर्णिमा मनाउँदछन् । यो योमरीलाई देवतालाई र भकारीमा राख्ने छुटाई भकारीमा राखेर पूजा गरिसकेपछि मात्र खान सुरु गरिन्छ । पहिले धेरै प्रकारको रोटी नभएको बेलामा यो बनाएर खाएको होला । वर्षको एक चोटी नेवारहरूले यो पर्व मनाउँदछन् तर कोही नेवारहरूले यस दिन योमरी पर्व मनाउँदैनन् कारण किनभने योमरी खाएर मानिस मरेको हुनाले, त्यस दिन यो पर्व नमनाएको हो ।

योमरी मीठो हुनाको कारण के हो  ?
बनाउँदा यसमा चाकु तिल भएको गुलियो हुन्छ तर चिनी जस्तो गुलियो पनि हुँदैन । त्यसको स्वाद, माकु भने नेवारीमा नेपालीमा माकुको अर्थ छैन । यो मीठो हुन्छ, अलि अलि गुलियो पनि हुन्छ । दुई–तीनवटा खाइयो भने पेट पनि भरिन्छ । बुढाबुढीदेखि बच्चाहरू सबैलाई मन पर्ने रोटी हो योमरी । पहिला पहिला यो वर्षमा एक चोटिमात्र खाना गरिन्थ्यो तर आजकाल १२ महिना नै खाइन्छ । योमरी मात्र बनाउने रेस्टुरेण्ट पनि छन् ।

जन्मदिनमा पनि योमरी बनाइन्छ :
नेवार जातिमा बच्चाको दुई वर्षको जन्म दिनमा योमरी बनाई जन्मदिनको शुभकामना दिने बेला, बच्चालाई मन पर्ने रोटी बनाई सगुण दिने बेलामा बच्चालाई अगाडि राखी योमरीले बच्चाको टाउकोमा खनाइदिन्दछन् । त्यस्तो काम तीनपटक गरिन्छ । अनि यो योमरी बाँडेर खाने गरिन्छ । रातो मत्यन्द्रनाथ, करुणामय, लोकेश्वरलाई पनि रातो मत्स्यन्द्रनाथको रथमाथि चढी गजुरमा बसेर योमरी छर्नेगरिन्छ । यो सुन्धारामा रथ पुगेपछि भुज्याका दिनमा हुन्छ ।

योमरी खाँदा हुने फाइदा :
योमरी खायो भने पेट भरिन्छ । यसबाट कुनै हानी छैन । चाकु र तिल भएको हुनाले तागत दिन्छ । फुर्ति बढ्छ । तिल भएको हुनाले यसबाट रगत सञ्चालनमा फाइदा पुग्छ । तिल एक प्रकारको जडिबुटी पनि हो । यो योमरी खाएपछि चाँडै भोक पनि लाग्दैन । यो बासी खाए पनि केही हुँदैन । बासी योमरीलाई आगामा राखी पोलेर अथवा फेरि एक चोटि उसिनेर खायो भने झन् मिठो हुन्छ । बासी खाएर शरीरलाई कुनै हानी गर्दैन । यसले फाइदा गर्दछ ।

अहिले यो राष्ट्रिय खाना भइसक्यो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्तरदेखि दक्षिणसम्म नेपाल राष्ट्रभरि योमरी खाने चलन चलिसक्यो । साथै अन्तर्राष्ट्रियस्तरसम्म पनि पुगिसक्यो । अहिले नेपालभित्र विदेशी पाहुनाहरूलाई नेपालको स्पेसल खानाका रूपमा योमरी खुवाउने चलन चलाएका छन् । नेपालमा योमरी खाना खुवाउने धेरै पसल अथवा रेस्टुरेण्टहरू छन् । नेपालबाहिर विदेशमा नेपाली रेस्टुराँमा पनि मेनुमा यसलाई राख्न थालिएको छ ।

विभिन्न प्रकारका र स्वादका योमरी :
पहिले एउटै प्रकारको योमरी बनाइँन्थ्यो तर अहिले विभिन्न प्रकारका स्वादका योमरी तयार गरिन्छ । जस्तो खुवाको योमरी, आलुको योमरी, सब्जीको योमरी, मासको योमरी आदि ।

आकारमा फरक :
पहिले योमरीको आकार स्तुपा जस्तो बनाउने गरिन्थ्यो भने अहिले विभिन्न आकारमा बनाइन्छ । अहिलेको योमरी स्तुपा जस्तो होइन योमरीको तल्लो भागमा अलि टुपो जस्तो दुईवटा भाग निकालिन्छ । अर्को तल्लो भाग (बेस) अथवा प्वाल बन्द गरेर बुट्टा राखेर पनि बनाइन्छ । योमरी बनाएर विदेशी मुद्रा पनि कमाएको छ । विदेशी आए भने नेपालमा उनीहरूसँग नेपाली मुद्राभन्दा विदेशी मुद्रा लिएर योमरी बेच्ने गरिन्छ । योमरीबाट मानिसको आर्थिक अवस्था सुधार भएको पनि समाजमा चर्चा छ । यो हातको सीपबाट हातले नै बनाउने भएकाले यसलाई हस्तकला योमरी पनि भन्न सकिन्छ ।

यसले नेपालको जीवनस्तरमा फरक देखाएको छ । यस्तो खाना खुवाएर आय आर्जन गरी आफ्नो जीवनमा प्रगति गरिराखेको हामीले देखेको छौँ । यो परन्तुसम्म रहिरहन सक्छ भन्नेमा आशावादी बन्न सकिन्छ । योमरी भन्ने बिरुवा पनि छ । यो बिरुवामा फल्दा यसको आकार स्तुपा जस्तै हुन्छ । यो फलपूmल (योमरी) मा भित्र अलि अलि रातो रङ हुन्छ । खाँदा मिठो (माकु) को स्वाद आउँछ । उपत्यकाभित्र धेरै ठाउँमा यो वनस्पति पाइन्छ । आजकल यो कम मात्रामा मात्र पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?