पार्टीहरूको प्रष्ट चित्र

अब भने नेपालका राजनीतिक पार्टीहरूको प्रष्ट चित्र कोरिइसकेको छ । पहिलेदेखिका जे जस्ता अन्दाज र अनुमान थिए ती अब यथार्थमान परिणत भइसकेका छन् । ती सार्थक भए कि भएनन् त्यो फरक पाटो हो । कसैका अनुमान मिले होलान् भने कसैका निमिलेका पनि होलान् । अब भने जे जस्तो परिणाम आएको छ त्यससँगै मिल्दोजुल्दो गरी मेरो अनुमान ठ्याक्कै मिल्यो भनेर गफ लगाउनेहरूको बाक्लो संख्या चोक गल्लीका चिया पसलहरूमा सुन्न पाइन्छ । त्यतिमात्र होइन हिजो कुनै अर्कै पार्टीका लागि काम गरेर वा एउटा पार्टीको सदस्य हुँ भनेर अर्को पार्टीलाई सहयोग गरेकाहरू आज जसजसले जितेका छन् तिनकै खाट्टी कार्यकर्ता बनेर उभिएका छन् ।

कतिपय व्यक्ति भने आफ्ना छोराछोरीको जिम्मा नेताहरूलाई नै लगाउन थालेका छन् । पढाइदिने, जागिर लगाइदिने, जागिर खाँदै गरेका भए राम्रो ठाउँमा सरुवा गरिदिने वा समय पुगेको भए बढुवा गरिदिने जस्ता आफ्ना माग तेस्र्याएर रातदिन नेताहरूका पछिपछि लागिरहेका भेटिन्छन् । सही कार्यकर्ता अहिलेदेखि नै किनारामा बसेर हेर्ने रमिते बनेका छन् वा फड्के किनाराको साक्षी बनेर हेर्न बाध्य भइरहेका छन् । बीपी कोइरालाले भनेको प्रजातन्त्र आएपछि सुकिलामुकिलाको हावी हुने र तिनका विरुद्ध वा त्यस्तो प्रवृत्तिका विरुद्धमा सच्चा कार्यकर्ताले फेरि एकपटक संघर्ष गर्नुपर्छ भनेको बेला यही हो । नेताहरूले पनि यस्ता आफूलाई घेरेरमात्र बस्ने तल्ला तहका नेता र कार्यकर्ताको घेराबाट बाहिर आउन सक्नुपर्छ, यस्तो प्रवृत्ति चिनेर पन्साउन सक्नुपर्छ ।

नेताहरूले व्यक्तिको कामभन्दा सामूहिक कामलाई प्राथमिकतामा राख्नुपर्छ । यसको मतलव नेताले कुनै व्यक्तिको केही काम गर्नु हुँदैन भन्ने होइन तर तिनको आवश्यकता निर्धारण गर्न भने सक्नुपर्छ । व्यक्तिका काममा मात्र लागिरहने हो भने नेताहरू सधैं कार्यकर्ता र मतदाताका घेरामा मात्रै बसिरहनुपर्ने हुन्छ । त्यस्तो प्रवृत्तिबाट नेता र कार्यकर्ता दुवै पक्ष मुक्त हुन सक्नैपर्छ । हिजो जे जस्तो परम्परा र प्रवृत्ति थियो आज पनि त्यही प्रवृत्तिले निरन्तरता पाउनु हुँदैन । अब भने देशको विकासका क्रममा कहाँ-कहाँ के के नमिलेका पक्ष छन् तिनलाई मिलाउन सक्नु पर्दछ । देशको बिग्रिँदै गएको अर्थतन्त्र सुधार्ने, परराष्ट्र सम्बन्धमा सुधार गर्ने, रोजगारीको सिर्जना गर्नेदेखि सम्पूर्ण व्यवस्था मिलाएर देशलाई समग्र रूपमा समृद्ध बनाउने जिम्मा अब जनताले हाल निर्वाचित भएका नेताहरूलाई नै सुम्पिएको छ ।

नेताहरूले त्यस कुरालाई बुझ्न सक्नुपर्छ । हालको सत्तारुढ गठबन्धन नचाहँदा नचाहँदै प्राप्त भएको एउटा अवसर थियो । अब त झन् यही गठबन्धन लगभग सरकार बनाउन आवश्यक पर्ने सिट संख्याका निकटमा पुगेको छ । अन्य केही साना दल र स्वतन्त्रहरूको सहयोग लिनासाथ त्यसले सजिलै सरका बनाउँन सक्छ । त्यसभित्र हुने राम्रा मन्त्रालय र यस्तै अन्य सेवासुविधा पाइने ठाउँको तानातानमा तिनले भुइँको टिप्न खोज्दा पोल्टाको पोखेको जस्तो गर्नु हुँदैन । अबको सबै दलको अर्जुनदृष्टि भनेको देश हुनुपर्दछ । देशको उन्नति हामी सबैको उन्नति हो । नेताहरूले बुझ्नुपर्ने कुरा यही हो र यही हुनुपर्दछ । जुन माटोमा हामी उभिएका छौँ त्यही माटाको भलाइ हुने कामतर्फ ध्यान केन्द्रित रहने गरेमात्र देशको भलाइ हुनसक्छ ।

सरकार बनाउने अभ्यास सुरु भइसकेको छ । यो स्वााविकता हो । यत्रो निर्वाचन भएर आएका नेताहरूबाट यस्तो प्रायास त हुनै पर्छ, यो प्रक्रिया नै हो तर यो प्रक्रिया अगाडि बढाउँदा उहाँहरूको ध्यान सरकार र त्यहाँ जाँदा प्राप्त हुने आफ्नो सुखसुविधामात्र हेर्नु हुँदैन । सरकारको नेतृत्व कसले गर्ने, को प्रधानमन्त्री बन्ने, को को वरिष्ठ मन्त्री बन्ने भन्ने कुरामै अल्झिने हो भने पूर्ववर्ती सरकार र अब बन्ने लोकतान्त्रिक सरकारबीच अन्तर नै भेट्न सकिँदैन । त्यसो हुनाले जनताले थाहा पाउने गरी देशमा केही गर्न सक्ने व्यक्तिले सरकारको नेतृत्व गर्नेगरी सरकार बन्नुपर्छ । यति भयो भनेमात्र जनताले परिवर्तनको अनुभूति गर्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?