जुम्लामा चार उम्मेदवारको जमानत जफत

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । जुम्लामा चार जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका दुई-दुई उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत भएको हो । कार्यालय प्रमुख शर्माले भन्नुभयो, “ प्रतिनिधिसभातर्फ नेपालमजदुर किसान पार्टी उम्मेदवार डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाको जमानत जफत भएको छ । काफ्ले दोस्रो संविधान सभा २०७० सालका समानुपातिक सांसद हुनुहुन्छ ।

स्वतन्त्र उम्मेदवार डा.रोकायालाई माओवादीनिकट मानिन्छ । उहाँले चुनाव चिह्न प्राप्त गरेपछि आफ्नो उम्मेदवारी निष्क्रिय गरे पनि मत प्राप्त गर्नुभएकाे छ । प्रतिनिधिसभातर्फ नेमकिपाका काफ्लेले २.२३ प्रतिशत तथा स्वतन्त्र उम्मेदवार डा.रोकायाले १.२७ प्रतिशत मत मात्र प्राप्त गरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । ”

यस्तै, प्रदेश सभा (क) मा नेमकिपाका राजेश्वर देवकोटा र प्रदेश सभा (ख) मा नेपकिपाकै विर्षबहादुर रावतको जमानत जफत भएको छ । देवकोटाले २.९४ प्रतिशत र रावतले ६.०३ प्रतिशत मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जुम्लाबाट प्रतिनिधिसभाका लागि पाँच तथा प्रदेश (क) र (ख) मा चार-चारजनाको उम्मेदवारी परेको थियो ।

निर्वाचन खर्च बुझाउँदै उम्मेदवार

यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आफ्नो चुनाव अवधिभर निर्वाचनमा खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालय जुम्लामा बुझाउन थालेकाछन् । एकवटा संघीयसभा सदस्य निर्वाचन क्षेत्र र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा जम्मा १३ जना उम्मेदवामध्ये १० जनाले निर्वाचन खर्चको विवरण बुझाएको निर्वाचन कार्यालय जुम्लाका सुचना अधिकारी अभिनन्द्र चौलागाईले जानकारी दिनुभयो ।

प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गोमा कुँवर (गौतम), राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) नेमकिपाका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चौलागाईंले बताउनुभयाे । उहाँले भन्नुभयो,“प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानबहादुरले १३ लाख ३ सय, डिल्लीप्रसाद काफ्लेले ४ लाख ३८ हजार, गोमा कुवर (गौतम) ले २१ लाख ९९ हजार, डाक्टर कलबहादुर रोकायाले १३ हजार रूपैयाँ बराबरको निर्वाचन खर्च विवरण बुझाएका छन् । ”

प्रदेशसभा (क) तर्फ देवेन्द्र बहादुरी शाहीले १० लाख २८ हजार, ललित जंग शाहीले ८ लाख ६६ हजार, राजेश्वर देवकोटाले १ लाख ८३ हजार ५ सय रुपैयाँ निर्वाचन खर्च भएको विवरण बुझाएको कार्यालयका सुचना अधिकारी चौलागाईले बताउनुभयो । यस्तै प्रदेशसभा (ख) तर्फ टेकराज पछाईले १० लाख २१ हजार, धनबहादुर बस्नेतले २ लाख ५२ हजार ५ सय, र विर्ख बहादुर रावतले १ लाख ६३ हजार रूपैयाँको खर्च विवरण बुझाएकाछन् ।

प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार रतननाथ योगी र प्रदेशसभा (क) बाट एमालेका उम्मेदवार धिरेन्द्रराज गिरीले खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । यस्तै प्रदेशसभा (ख) तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा समाजवादी पार्टीका नेता पदमबहादुर रोकायाले निर्वाचन खर्च बुझाउनु भएकाे छैन । पहिलो हुने निर्वाचित प्रणालीतर्फ निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को अनुसूची ४० बमोजिमको ढाँचामा खर्च विवरण आयोगलाई बुझाउनु पर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?