चिसो बढेसँगै रित्तिन थाले उच्च पहाडी क्षेत्रका चौंरी र भेडीगोठ

हिमालय टाइम्स
Read Time = 4 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडी गोठ न्यानो स्थानको खोजीमा बेसी सार्न थालिएको छ ।
म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेसीमा चहलपहल बढेको छ ।

मुस्ताङको थासाङ,निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मुलीखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा/खयर तथा बयली लेकका चौरी, रघुगंगा र धवलागिरि गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा चरनका लागि लगिएका भेडालाई बस्तीनजिकका न्यानो क्षेत्रमा झारिएको हो ।

मुस्ताङ र म्याग्दीको उच्च लेकाली क्षेत्रमा पालिएका चौंरी र भेडा गर्मीमा लेक र जाडोमा वेसी झार्ने गरिन्छ । घुम्ती गोठ बनाएर चौरी र भेडा पालन गर्दै आएका मुस्ताङको मुली, बतासे क्षेत्रका चौंरी नाउरीकोट, बोक्सीखोलाका चौरी पालक कृषकहरुले चरनका लागि चौरीलाई गर्मी महिनामा धौलागिरि,निलगिरि र टुकुचे हिमालको फेदमा रहेका खर्कहरुमा लैजाने गर्छन् भने जाडे सुरु भएपछि बेसी झार्ने गर्दछन् ।
मुस्ताङका चौरी पालक कृषक शहेन्द्र शेरचनले लेकाली क्षेत्रमा अत्यधिक चीसो बढ्नुका साथै हिमपात हुन सुरु भएपछि चौंरीलाई नीलगिरि फेदीका चौंरी चोखोपानी, सौरु, टिटी क्षेत्रमा सारिएको जानकारी दिनुभयो ।

यता म्याग्दीको अन्नपूर्ण क्षेत्रका चौंरीहरुलाई लरेनी क्षेत्रमा ओरालिएको चौरी पालक कृषक सोभित खोरजाले बताउनु भयो ।
अहिले बेसी झारिएका चौंरीलाई वैशाख लागेपछि मात्रै पुनः बुकी (लेक) फर्काइने उहाँको भनाइ छ ।

‘चिसो छल्न बेंसी झरे पनि चौंरीलाई चरनको समस्या रहेको किसानहरुले गुनासो गरेका छन् । सामुदायिक वन उपभोक्ता समूहले बन क्षेत्रमा चरिचरनलाई रोक लगाएपछि समस्या उत्पन्न भएको छ’ खोरजाले भन्नुभयो ‘लेकाली क्षेत्रमा चरनको समस्या छैन,तर बेंसीका चरन क्षेत्रमा चरनको अभाव हुनेभएकाले चौंरी पाल्ने किसानको संख्या कम हुँदै गएको छ ।’

त्यसैगरी मुस्ताङको मुली लेकका चौंरीपालक किसान सकेन्द्र गौचनले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो ‘जाडो बढ्न थालेपछि हामी चौरीगोठ बेसीतिर झार्छाैं गर्मी सुरु भएपछि फेरी लेकतिर ल्याउने गर्छौ । जाडोले पशुचौपाया मात्र नभई मानिसलाई समेत समस्या हुने भएकाल बेसी झर्नु बाध्यता हो ।’ गौचन जस्तै यहाँका सबै चौरी किसान बेसी झर्न थालेका छन् । यहाँका किसान ६ महिना लेकतिर र ६ महिना बेसीतिरको खर्कमा चौरी तथा गाइभैंसी पाल्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?