पाल्पा बिहे भोजमा प्रयोग भएको पानीमा भेटियो ‘कोलिफर्म’

बिरामीको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने

तस्वीर : पाल्पाको चिर्तुङ्गधारामा विरामीको अवस्था बुुझ्दै स्वास्थ्यकर्मी ।

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका –१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ । ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको पानीमा कोलिफर्म भेटिएको प्रयोगशालाबाट पुष्टि भएको छ ।

बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ । बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराइले बताउनुभयो । उहाँका अनुसार ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षणमा कोलिफर्म भेटिएको हो । पानीको मूलमा वा अन्य समस्या हो भन्ने अझै पत्ता लागेको छैन । ड्रममा मात्र समस्या पनि हुन सक्ने उहाँले बताउनुभयो ।

गत शनिबार घोरबन्दाका स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका एक सय ८० जना विरामी भएका थिए । चिर्तुङ्गधाराका एक सय ३५ र प्यूठानबाट जन्ती आएका ४५ जना बिरामी भएको बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बताउनुभयो ।

गाउँलेले भोजमा बटुक, पाडा (राँगो) को मासु, पुलाउ, आलु, काेभीको तरकारी, मेवाको अचार, आलु मुलाको अचार खाएका थिए । भोज आएका अधिकांसमा झाडापखालाको समस्या देखिएको थियो । उनीहरुमा सामन्य ज्वरो आउँने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको हो ।

शनिबार साझाँदेखि स्थानीयहरु बिरामी हुन थाले पनि आइतबार, सोमबार र मंगलबार मात्र उनीहरु उपचारका लागि अस्पताल पुगेका थिए । अधिकांशलाई स्थानीय स्वास्थ्यचौकीबाट औषधि उपचार गरे पनि ठिक नभएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पु-याइएको थियो । कतिपयले आइतबार खप्न सकिन्छ कि भन्ने भए पनि सोमबार भने अधिकांश बिरामी आत्तिएर अस्पताल पुगेका हुन् । अस्पतालका अनुसार सोमबार २२ जना बिरामी उपचारका लागि आएका थिए ।

मंगलबार पुनः १२ जना बिरामी अस्पताल पुुगे । केही बिरामीहरु तानसेनका नीजि क्लिनिकमा समेत पुुगे । मिसन अस्पतालमा पुगेका ३४ जना बिरामी मध्ये पाँच जनालाई भर्ना लिएर उपचार गर्नु परेको छ । अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराईका अनुसार धेरै जसो बिरामी खतरामुक्त भएपछि घर पठाइएको हो ।

घरमा रहेका १ सय १ जना विरामीलाई भने गाउँपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले उपचार र परामर्श दिइरहेको छ । डा. सहितको स्वास्थ्यकर्मीले घर–घरमा पुगेर बिरामीहरुको चेक जाँच गरी आवश्यक औषधी दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

बिरामीहरु मध्ये ३८ जना पुुरुष र ६३ जना महिला रहेका छन् । जसमा १८ वर्ष भन्दा मुनिका १७ जना, ५ वर्ष मुनिका १ जना, १८ वर्षका १७ जना र १८ वर्ष भन्दा माथिका ६६ जना रहेका छन् । बिहेमा झण्डै ४ सय निम्तालु आएको बुुझिएको छ । गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, वडाध्यक्ष शेरबहादुर चिदी लगायत जनप्रतिनिधिहरु पनि बिरामीको अवस्था बारे बुझ्न बेला बेलामा घर–घरमा पुुग्ने गरेका छन् ।

प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती आएका थिए । जन्ती आएका एकै गाउँका ४५ जना पनि बिरामी परेका छन् । बेहुला बेहुलीसहित ४५ जना बिरामी भएका हुन् । प्युठान अस्पतालका अनुसार अहिले अधिकाशको अवस्था सामान्य रहेको छ ।

बिरामीको सबै खर्च गाउँपालिकाले बेहोर्ने

बगनासकाली गाउँपालिकाले बिरामी सबैको उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बिरामी सबैको औषधी उपचारमा लाग्ने खर्च र औधषीको व्यवस्था पालिकाले गर्ने बताउनुुभयो ।

उहाँले भन्नुुभयो, ‘घरमा रहेका र अस्पतालमा उपचार गराइरहेका सबै विरामीको खर्चपालिकाले व्यहोर्ने निर्णय भएको छ ।’ अहिले पालिकाको सबै स्वास्थ्यकर्मीको टोली, बुटवलबाट आएको बिज्ञ समुह लगायतले पनि उपचार र परामर्शको काम गरिरहेको छ । स्थानीय स्तरमा उपचाररत सबैको फलोअप परीक्षण समेत भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?