लिग आयोजनामा सहयोग गर्न राखेपलाई एन्फाको आग्रह

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । शहीद स्मारक लिगहरू आयोजनामा सहयोग गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग आग्रह गरेको छ । अध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा र महासचिव किरण राईले राखेप सदस्य-सचिव टंकलाल घिसिङलाई लिगका लागि बजेट व्यवस्था गरिदिन आग्रहसहित पत्र बुझाउनुभएको छ । एन्फाले तीनवटै श्रेणीको लिग आयोजनाका लागि ६ करोड रुपैयाँ सहयोगका लागि आग्रह गरेको छ ।

ए, बी, सी डिभिजन लिगका लागि १८ करोड रुपैयाँभन्दा बढी खर्च हुने उल्लेख गर्दै एन्फाले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपमार्फत् ६ करोड रुपैयाँ बजेट उपलब्ध गराइदिन अनुरोध गरेको हो ।

ए डिभिजनका लागि तीन करोड, बीका लागि २ र सी डिभिजनका लागि एक करोड रुपैयाँ सहयोगको अपेक्षा एन्फाले राखेको छ । ए डिभिजन सञ्चालनका लागि मात्र १० करोडभन्दा बढी खर्च हुने एन्फाले पत्रमा उल्लेख गरेको छ । लिगका लागि गत वर्षको तयारीको बाँकी र यो वर्षको ५० प्रतिशत रकम आफ्नै प्रतिबद्धताअनुसार एन्फाले उपलब्ध नगराएपछि पुस २६ गतेबाट सुरु हुने भनिएको ए डिभिजन लिग अन्योलमा परेको छ ।

तीनपटक समयसीमा तोकेर पनि एन्फाले तयारी रकम उपलब्ध नगराएको भन्दै १४ मध्ये ९ ए डिभिजन टोलीले संयुक्तरूपमा एन्फालाई पत्र बुझाउँदै तयारी खर्च उपलब्ध गराएको तीन महिनापछि मात्र लिग खेल्न सक्ने जनाएका छन् ।

यस्तै, एन्फाले ए डिभिजन लिग र अन्तर्राष्ट्रिय फुटबल आयोजनाका लागि राखेपको मातहतमा रहेको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला निःशुल्क उपलब्ध गराउन आग्रहसमेत गरेको छ ।

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको आयोजनाले फुटबल खेलको व्यावसायीकरणमा मद्दत पुग्नुका साथै नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर हुने, देशको अर्थतन्त्रमा समेत मद्दत पुग्नेछ,’ एन्फाले राखेपलाई बुझाएको पत्रमा उल्लेख छ ।’ पत्रमा उल्लेख गरिएको छ, ‘यसर्थ, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता दशरथ रंगशालामा आयोजना गरेबापत परिषद्बाट लिइने शुल्क संघको स्रोत र साधनसमेतले तिर्न नसक्ने भएको हुँदा अब आगामी दिनमा निःशुल्क दशरथ रंशगाला उपलब्ध गर्ने व्यवस्था मिलाई फुटबल खेलको विकास र विस्तारमा सहयोग गरि दिनुहुन समेत हार्दिक अनुरोध गर्दछाँै ।’

त्यसबाहेक एन्फाले प्रशिक्षक प्रशिक्षण, रेफ्री प्रशिक्षण, ग्रासरुट्स कार्यक्रमलगायत भविष्यमा नै ए, बी र सी लिग सञ्चालन गर्ने लक्ष्य रहेको भन्दै भोगचलनका लागि राखेपलाई च्यासल रंगशाला हस्तान्तरणका लागि आग्रह गरेको छ । ‘च्यासल रंगशाला पुनर्निर्माणको अवस्थामा यथाशीघ्र निर्माण कम्पनीसँग आवश्यक समन्वय गरी एन्फाले भोगचलन गर्ने गरी च्यासल रंगशाला हस्तान्तरण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ,’ एन्फाले बुझाएको अर्को पत्रमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?