फिन इलेक्ट्रो टेक सुरु, जलविद्युत् आयोजनाको पिपिए खुलाउन माग

Read Time = 7 mins

काठमाडौं । नेपालको समृद्धि, ऊर्जा खपत अभिवृद्धि भन्ने नाराका साथ ‘फिन इलेक्ट्रो टेक २०२२’ बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित फिन इलेक्ट्रो टेक उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले समृद्धिको आधार विद्युत् भन्दै निर्यातभन्दा पनि स्वदेशमै बढीभन्दा बढी खपतको वातावरण बनाउनुपर्ने बताउनुभयो । साथै उहाँले ब्याजदरको विषय समाधानका लागि सरकार प्रयासरत भएको भन्दै व्यवसायीलाई सडक आन्दोलनभन्दा सरकारसँग छलफलमा आउन आग्रह गर्नुभयो । अर्थमन्त्री शर्माले भन्नुभयो, ‘व्यवसायीले सडक रोज्ने होइन, तपाईंको सरकार हो, आउनुस्, निजी क्षेत्रबिना सरकार चल्ने अवस्था छैन तर केही दबाब र चाप छ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउन प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताउनुभयो । उहाँले नेपालमा उत्पादित विद्युत् नेपालमै खपत बढाउन विभिन्न इभी एक्स्पोका साथै चार्जिङ स्टेशन विस्तार, इन्डक्सन कुकिङलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । विद्युत् प्रसारण, वितरण र सबस्टेशनको विकास नभई विद्युत् खपत बढाउन नसकिने भएकाले प्राधिकरण गुणस्तरीय विद्युत् र चाहेजति विद्युत् सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा पुगेको उहाँको भनाइ थियो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘अहिले नेपालमा नै विद्युत् खपत बढाउन इभी एक्स्पोदेखि इभीको प्रमोसन भएको छ । चार्जिङ स्टेशन बढेका छन् । प्राधिकरणले इन्डक्सन कुकिङमा जोड दिइरहेको छ ।’ उहाँले विद्युत् निर्यात गर्नु सरकारको सफलता नभए पनि खपत नभएको विद्युत् खेर फाल्नुभन्दा निर्यातको विकल्प नरहेको बताउनुभयो । साथै घिसिङले आगामी दुई वर्षपछि नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था नहुने दाबी पनि गर्नुभएको छ ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुन सक्ने चेतावनी दिनुभयो । सरकारले १५ सय मेगावाटसम्मको जलविद्युत् आयोजनाको पिपिए गर्ने निर्णय गरेर पनि कार्यान्वयन हुन नसकेको भन्दै निजी क्षेत्रबाट भएको लगानी पिपिए गर्न ढिला भए खर्बाैंको लगानी अलपत्र पर्ने बताउनुभयो । विद्युतीय पूर्वाधार विकास नहुँदा विद्युत् प्रसारण र वितरणका लागि उत्पादित विद्युत् प्राधिकरणले लिन नसकेको ढकालको भनाइ थियो । वरिष्ठ उपाध्यक्ष ढकालले बजारमा बैंकिङ तरलता, ब्याजदरलगायतका समस्याले मुलुकको अर्थतन्त्र थप संकटमा जान सक्ने बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्रको आत्मबल कमजोर भए अर्थतन्त्र माथि उठ्न नसक्ने भन्दै सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान अवस्थामा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।

२०औँ संस्करणको राठी स्विच एण्ड केबलद्वारा प्रायोजित मेला मुलुकमा उत्पादित विद्युत् विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाई देशलाई आर्थिकरूपमा सबलीकरण गर्दै लैजान र ऊर्जा तथा विद्युतीय व्यवसायीको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ मेला आयोजना गरिएको महासंघले जनाएको छ । महासंघ अध्यक्ष सुदर्शनप्रसाद पौड्यालका अनुसार कुल ७५ प्याभिलियन तथा स्टल रहेको मेलामा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीका उत्पादन, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीका स्टल रहेका छन् ।

मेलाका लागि महालक्ष्मी वायर एण्ड केबुल प्रालि, मित्तल ओभरसिज प्रालि, उग्रतारा मल्टी सोलुसन प्रालि, एनजी इलेक्ट्रिकल्स प्रालि, जानकी केबल इन्डस्ट्रिज प्रालि, वेलकम टेक्नोलोजी प्रालि, ट्रान्सवेल्ड नेपाल प्रालि, एनआइसी एसिया बैंक, सिद्धार्थ इन्स्योरेन्सलगायतले सहकार्य गरेका छन् । भृकुटीमण्डपमा आयोजित मेला मंसिर २५ गतेसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?