गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका-३ भाडगाउँ सुन्तला, तरकारी र माहुरीका लागि प्रख्यात छ । अहिले सुन्तलाको सिजन हो । बोट नै झुक्ने गरी गाउँभरि नै लटरम्म सुन्तला फलेका छन् । अहिले गाउँ नै सुन्तलामय बनेको छ । सुरुमा घरमा खानका लागि उत्पादन हुँदै आएको सुन्तलाले व्यावसायिक रूप लिँदै जान थालेपछि सुन्तला कृषक पनि बढेका छन् । थोरै मिहिनेत र एकपटक लगाएको बोटले वर्षौंसम्म उत्पादन दिने भएपछि दिनप्रतिदिन कृषकहरू यसप्रति आकर्षित हुँदै गएका हुन् ।
स्थानीय पदमलाल पाण्डे उमेरले ६८ वर्ष पुग्नुभयो । उहाँले सुन्तला उत्पादन गर्न थालेको २० वर्ष भयो । उहाँसँग सुन्तला उत्पादन गर्नुको गजबको अनुभव छ । भाडगाउँको शिरमा रेसुंगा पर्छ । रेसुंगालाई सिद्धस्थानका रूपमा लिने गरिन्छ । ‘भाडगाउँको शिरमा बालासिद्ध भगवान्को मन्दिर छ । यो सिद्धस्थान क्षेत्र हो,’ पाण्डेले भन्नुभयो, ‘सिद्धस्थान क्षेत्रमा फलफूलको कमी हुनुहुँदैन भन्ने मान्यताले सुन्तला खेती गर्न सुरु गरेको हुँ ।’
उहाँ एकै सिजनमा साढे दुई लाख बढीको सुन्तला बिक्री गर्नुहुन्छ । भाडगाउँका सुन्तला स्वादिला र रसिला हुने भएकाले यहाँको सुन्तलाको माग अत्यधिक हुने गरेको पाण्डेले बताउनुभयो । यहाँ उत्पादन भएका सुन्तला ढोरपाटन, बुटवल, नारायणगढसम्म पुग्ने गरेको उहाँले सुनाउनुभयो ।
अर्का कृषक इन्द्रजंग बस्नेतले १७ रोपनी जग्गामा सुन्तला खेती गर्दै आउनुभएको छ । उमेर ४५ वर्ष पुग्नुभएका बस्नेतले वार्षिक कुल सात लाख बढीको सुन्तलामात्र बिक्री गर्नुहुन्छ । बस्नेतको सुन्तला बगैंचामा चार सयभन्दा धेरै सुन्तलाका बोटले उत्पादन दिन्छन् । मंसिर महिनादेखि सुरु गरी माघ महिनासम्म सुन्तलाको बिक्रीवितरण गरिसक्ने उहाँले बताउनुभयो ।
स्थानीय थम्मनबहादुर खत्रीले सुन्तलाको उत्पादन लिन थालेको तीन वर्ष भयो । ४४ वर्षीय खत्रीले विगतको तुलनामा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको बताउनुभयो । अहिले १३५ सुन्तलाका बोटले उत्पादन दिँदै आएका छन् । एक सिजनमा एक लाख रुपैयाँसम्म आम्दानी गर्नुभएका खत्रीले यस वर्ष सुन्तलाको उत्पादन राम्रो भएकाले आम्दानी पनि बढ्ने बताउनुभयो ।
खेतबहादुर खत्रीको बगैंचामा ११७ वटा सुन्तलाका बोटले उत्पादन दिइरहेका छन् । गत वर्ष त्यति राम्रो सुन्तलाको उत्पादन नभए पनि यस वर्ष भने राम्रो उत्पादन भएको उहाँले बताउनुभयो । सुरुमा ७० हजारसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्नुभएका खत्री अहिले भने उत्पादन वृद्धि भएसँगै उत्साहित हुनुहुन्छ । आफ्नो बगैंचामा थुप्रै व्यापारी खरिदका लागि आए पनि राम्रो मूल्य दिने व्यापारीलाई सुन्तला बेच्ने दाउमा उहाँ हुनुहुन्छ ।
सोही स्थानकी राधिका खत्रीले गत वर्षभन्दा यस वर्ष सुन्तलाको राम्रो उत्पादन भएको बताउनुभयो । गत वर्ष सुन्तला बिक्रीबाट दुई लाख रुपैयाँ आम्दानी गर्नुभएकी खत्रीले अहिले तीन लाख रुपैयाँको सुन्तला बिक्री भएको बताउनुभयो । सुन्तलाको उत्पादन वृद्धि भएसँगै खत्री सुन्तलाको खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ ।
त्यहाँका तीन सयभन्दा धेरै घरमा सुन्तलाको उत्पादन हुने गरेको वडाध्यक्ष बाबुराम खत्रीले जानकारी दिनुभयो । स्वादिलो र गुणस्तरमा चर्चा कमाएका त्यहाँका सुन्तला खरिद गर्न व्यवसायी बगैंचामै आउने गरेको खत्रीले बताउनुभयो । उहाँका अनुसार वार्षिक झण्डै डेढ करोडको सुन्तला त्यहाँबाट निकासी हुन्छ ।
कृषकहरूलाई सिँचाइको पूर्ण व्यवस्थापनका लागि आफूहरूले पहल गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुन्तला खेतीका लागि पर्याप्तमात्रामा सिँचाइको व्यवस्था गर्नुपर्छ । सिँचाइको व्यवस्थापनका लागि पहल गरिरहेको छु ।’ वडाध्यक्ष खत्रीले सुन्तला बोटमा कुनै समस्या आए तत्काल परीक्षण गर्न प्राविधिकको समस्या रहेको उल्लेख गर्नुभयो । पूर्ण प्राविधिक ज्ञानको अभावमा पनि त्यहाँका कृषकहरूले सुन्तलाको राम्रो उत्पादन गर्दै आएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका