काठमाडौंवासीलाई बाह्रै महिना पानी खुवाउने खानेपानी मन्त्रीको प्रतिवद्धता

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताउनु भयो ।

मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्र मास नै काठमाडौंवासीलाई पानी खुवाउन सकिने उल्लेख गर्नुभयो । उहाँले काठमाडौंवासीलाई बारम्बार मेम्चीकै पानीको लागि पर्खिनुपर्ने बाध्यता हटाउनका लागि सरकारले मेलम्चीको विकल्पको रुपमा यस वर्ष वर्षातको बेलामा वागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा जम्मा गरिएको, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरी अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको र काम पनि भइरहेको बताउनु भयो । उहाँले काठमाडौंवासीलाई बाह्रै महिना खानेपानी खुवाउन महादेव खोलाको पनि विकल्पमा काम भइरहेको बताउनु भयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘१२ महिना नै अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउँछु । यसको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको छ । एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको छ र दोस्रो प्रतिवदेन बुझाउने क्रममा छ । भूक्षय भएको ठाउँमा त्यसको रोकथाम कसरी गर्ने ? र कसरी संरचना सुरक्षा गर्ने र स्थायी रुपमा समाधान गर्न कसरी अघि बढ्ने भन्ने बारेमा पनि हामी सोचिरहेका छौँ । हामीले विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्र मास नै काठमाडौंवासीलाई पानी खुवाउन सक्छौँ । मानव जीवनको लागि खानेपानी अपरिहार्य आवश्यक्ता हो । काठमाडौंवासीलाई बारम्बार मेम्चीकै पानीको लागि पर्खिनु नपरोस्, त्यसकारण मेलम्चीको विकल्पको रुपमा यस वर्ष वर्षातको बेलामा वागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा ल्याएर खसालेका थियौँ । यसको विकल्पको रुपमा याङ्ग्री र लार्केको योजना पनि हामीले बनाइसकेका छौँ । सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको छ, काम पनि अघि बढेको छ । महादेव खोला पनि विकल्पमा छ । अब आउने दिनमा काठमाडौंको पानीलाई व्यवस्थापन गर्नको लागि अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले पानीको लागि कसैको मुख हेर्न पर्दैन । बाह्रै मास काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउनु हुनेछ ।’

मन्त्री चौधरीले आगामी दिनमा काठमाडौंमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले कसैको मुख हेर्न नपर्ने बताउनु भयो । उहाँले अबदेखि १२ महिना नै काठमाडौंवासीले मेलम्चीको पानी पिउनसक्ने पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?