सडक र पुल निर्माणका विषयमा गुल्मी काँग्रेसको ध्यानाकर्षण

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । नेपाली काँग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

काँग्रेसले गुल्मी क्षेत्र नम्वर १ को सुदुरपुर्व कालीगण्डकी गाउँपालिका भित्र ठेक्का भएर रोकिएका र निर्माण भएकाहरुको स्तरोन्नती गर्न सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।

शुक्रबार पार्टी सचिव जगदीश भट्टराईले सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख इं.प्रदीपमणी निरौलालाई सडक र मोटरेवल पुल निर्माणका विषयमा ध्यानाकर्ष पत्र बुझाउनुभएको छ । उहाँले कार्यालयमै गएर डिभिजन प्रमुख निरौलालाई कालीगण्डकी गाउँपालिका भित्र ठेक्का भएर पनि पुल निर्माणको काम रोकिएको र खाल्डाखुल्डीका कारण सडक समेत अस्तव्यस्त भएको भन्दै तत्काल रोकिएका र स्तरन्नोतिको काम अगाडि बढाउनका लागि विभागमा पहल गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

कालिगण्डकी गाउँपालिका–४ स्थित, पूर्तिघाट नजिकै पातीखोलामा पुल निर्माणको काम सुरु भए पनि बर्षाको समयमा त्यसको बेस नै बगाएका कारण अलत्रप अवस्थामा रहँदा समेत अहिलेसम्म कुनै पनि काम अगाडि बढ्न नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । मदन भण्डारी सडक कार्यालयबाट पुल निर्माणका लागि गत वर्षदेखि नै निर्माण कम्पनीले काम सुरु गरे पनि अहिले काम रोकिएकाले तत्काल काम अगाडि बढाउनका लागि विभागमा अनवश्यक पहल गरिदिन पार्टी सचिव भट्टराईले डिभिजन प्रमुख निरौलालाई आग्रह गर्नुभएको छ ।

यस्तै, दुई बर्ष अघि ग्राभेलको कामको ठेक्का गरी सम्पन्न भएको र कालोपत्रेको काम गर्नुपर्ने बाँकी रहेका सडकहरुको काम समेत अगाडि बढाउन विभागलाई काँग्रेसले आग्रह गरेको छ । मिर्मी र हर्मिचौर जोड्ने, कालिगण्डकी विद्युत परियोजनाको ड्यामदेखि हर्मिचौर जिरो अर्थात् करिडोरसम्म जोड्ने बाटोको ग्राभेल तथा नालीको काम सम्पन्न भईसके पनि कालोपत्रे नहुँदा सवारी आवागमनमा समस्या भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । स्थलगत अनुगमन गरी यथाशक्य छिटो लागत स्टेमेट गराई सो कार्यका लागि आवश्यक बजेट विनियोजनका लागि पहल गरिदिन सचिव भट्टराईले सडक कार्यालयलाई आग्रह गर्नुभयो । तत्कालीन सडक पूर्वाधार कार्यालय तम्घासले ठेक्का गरी दुई वर्ष अघि नै पुर्ननिर्माण कार्यालय अन्तर्गत कालिगण्डकी– ४ पूर्तिघाटदेखि वडा न.५ लुङ्गखोला फोक्सिङ्ग सम्मको १२ किलो सडक ग्राभेल भइसकेको तर कालो पत्रे हुन नसकेको काँग्रेसले जनाएको छ । यो सडकले कालिगण्डकी, सत्यवती लगायत सुदुुरपुर्वका तीन वटा स्थानीय तहलाई समेट्ने भएकाले यसको कालोपत्रेका लागि तत्काल कार्य सञ्चालन गर्ने व्यवस्था मिलाइदिन पनि काँग्रेसले आग्रह गरेको छ । यस्तै हर्मिचौर, दिहीङ्ग, गिदुवा, ठूलोलुम्पेक हुँदै सत्यवती गाउँपालिका जोड्ने १५ किलोमीटर मोटरबाटोलाई ग्राभेल र कालोपत्रे गर्नका लागि २०७३ सालमै विस्तृत अध्ययन (डीपिआर) भएता पनि काम हुन नसकेकाले पुनः स्थलगत अवलोकन गरी कार्य अगाडि बढाउनका लागि विभागमा पहल गरिदिन पनि सचिव भट्टराईले डिभिजन प्रमुख निरौलालाई आग्रह गर्नुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै डिभिजन प्रमुख निरौलाले सडक र पुल निर्माणका विषयमा भएको ध्यानाकर्षणलाई आफुले सक्दो पहल गर्ने बताउनुभएको छ । उहाँले अहिले ति क्षेत्रको सडक र पुल निर्माण योजनामा समावेश नभएकाले तत्काल योजनामा समावेश गर्न पहल गर्ने बताउनुभयो । प्रमुख निरौलाले डिपिआर भए पनि योजना नहुँदा समस्या भएकाले त्यसको समधानमा आफुले विभागमा तत्काल पहल थाल्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?