बुटवलको ट्राफिक, ठेला, इ-रिक्सा र पार्किङ व्यवस्थापनको काम एकसाथ अघि बढ्ने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । बुटवलको बजार व्यवस्थापनका लागि बुटवलस्थित सरकारी कार्यालयहरु एकसाथ अघि बढ्ने तयारी गरेका छन् ।

बुटवल उपमहानगरपालिकाको संयोजनमा बुटवलमा बसेको सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले बुटवल नगर क्षेत्रभित्रका सडक, सडकबत्ती, पार्किङ, ट्राफिक व्यवस्थापन, विद्युत्, खानेपानी, टेलिफोन तार तथा केवलहरु, छाडा चौपाया, ठेला, इरिक्सा व्यवस्थापनका लागि एकसाथ काम गर्न तयार भएका हुन् ।

नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक र अन्य भित्री सडकहरु निर्माणलाई तीब्र पार्ने, विद्युत र खानेपानी पाइप विस्तारमा सहजीकरण गर्ने निर्णय गरेको छ ।

यस्तै, भित्री सडकहरु निर्माणमा थप तीब्रता दिने गरी डिभिजन सडक कार्यालयले समन्वय गर्ने र टेलिफोन, खानेपानी तथा विद्युतका तार तथा पाइप व्यवस्थापनमा सम्बन्धित कार्यालयहरुले तत्काल काम अघि बढाउने निर्णय बैठकले गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

बैठकले मुख्य सडकहरुमा सवारी चालकलाई लेन अनुशासन पालना गराउने, आकाशे पुलको प्रयोग नगर्ने पैदलयात्रीलाई कारबाही गर्ने र सडक क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

सडक क्षेत्रभित्र मालसामान राखेर बिक्री गर्ने, निर्माण सामग्री राख्ने र फोहोरमैला गर्नेलाई पहिलो चरणमा सचेत गराउने र अटेर गरेमा जरिबाना तिराउनेसम्मका कारबाही गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

‘बुटवलको मुख्य सडकको ८२ फुट क्षेत्रभित्र कुनैपनि सामग्री राख्ने, बिक्री वितरण गर्ने, व्यवसाय गर्ने र निर्माण सामग्री राख्ने गरेको पाइएमा सडक नियम अनुसार डिभिजन सडक कार्यालयले कानूनबमोजिम जरिवाना गराउने र ८२ फुटभन्दा भित्रपट्टिको सडकको क्षेत्र या फुटपाथमा कुनै सामान राखेमा बुटवल उपमहानगरपालिकाले कारबाही गर्ने निर्णय भएको छ ।’ उहाँले भन्नुभयो, ‘अब सडक क्षेत्रलाई व्यापार व्यवसायको क्षेत्र होइन, फुटपाथलाई पैदलयात्रीको क्षेत्र र अन्य सडक सवारीका लागि नै प्रयोग हुन्छ, कसैले अटेर गरेमा कानुनबमोजिम कारबाही हुन्छ ।’
यस्तै, बैठकले बुटवल नगरभित्र अव्यवस्थित रुपमा सडक क्षेत्रभित्र राखिएका ठेला व्यवस्थापनका लागि छिटै नै कार्यविधि बनाएर काम अघि बढाउने गरी सहमति जनाएको छ ।

‘अब नगरक्षेत्रभित्र ठेला र इरिक्सा तथा पार्किङका लागि निषेधित क्षेत्रहरु तोकिनेछन्, उहाँले भन्नुभयो–ती क्षेत्रमा राखिने ठेला, इरिक्सा र पार्किङ गर्नेलाई जरिवाना लगाइनेछ, दर्ता नगरी व्यवसाय सञ्चालन गर्न पाइदैन, यसका लागि हामीले कार्यविधि कार्यान्वयनमा ल्याउँदैछौं ।’
यस्तै बैठकले बुटवल क्षेत्रभित्र विद्युतका पोल प्रयोग गर्ने र भाडा नतिर्ने केवल तथा इन्टरनेट सेवा प्रदायकहरुका तार हटाउनका लागि विद्युत प्राधिकरणलाई सहयोग गर्ने निर्णय गरेको छ ।

केही सेवा प्रदायकहरु पटक पटक सम्पर्कमा आउन आग्रह गरेपनि सम्पर्कमा नआएकाले पोलको भाडा नतिर्ने सेवा प्रदायकहरुका तार हटाउन विद्युत प्राधिकरणले तयारी गरेको छ ।

बैठकमा बुटवलका नगरप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत, विद्युत प्राधिकरण बुटवलका सुरेश कुमार महतो, सडक डिभिजन बुटवलका होम बहादुर एसी, ट्राफिक सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका बाबुराम बस्नेत, ज्ञानु पाण्डे, खानेपानी संस्थान बुटवलका मोहनदत्त भट्ट, सडक डिभिजनका महेश्वर लम्साल, बुटवल उपमहानगरपालिकाका गौतम रौनियारलगायतको उपस्थिति रहेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?