रविलाई उछिन्दै भुवन शीर्षस्थानमा

Read Time = 4 mins

काठमाडौं । काठमाडौं सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्षस्थानमा उक्लिनुभएको छ । १-अन्डर ६७ को स्कोरमा समग्रमा १०-अन्डर १९४ सहित शीर्षस्थानमा उक्लन सफल हुनुभएको हो । दुई दिनका लिडर रबि खड्काले बिर्सनलायक प्रदर्शन गर्दा भुवनको उपाधि होड निकै मजबुत बनेको छ । भुवनले रबि र शुक्रबहादुर राईलाई अन्तिम १८ होलको खेल बाँकी छदा नौ स्ट्रोकले पछि पर्नुभएको छ ।

शुक्रले १-अन्डर ६७ मा तेस्रो दिनको खेल सकाउनुभयो । रबिले ९-ओभर ७७ को खराब प्रदर्शन गर्नुभयो । दुवैजना समग्रमा १-अन्डर २०३ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा हुनुहुन्छ । धनबहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १-ओभर २०५ का साथ संयुक्तरुपमा चौथो स्थानमा रहनुभएको छ । धनले ३-अन्डर ६५, दिनेशले २-अन्डर ६६ र कृष्णमानले इभन-पार ६८ मा खेल सकाउनुभयो । ३-ओभर ७१ को नतिजासहित प्रदीपकुमार लामा समग्रमा ३-ओभर २०७ सहित सातौ स्थानमा हुनुहुन्छ । रमेश अधिकारी र सूर्यप्रसाद शर्माले समग्रमा ४-ओभर २०८ को नतिजामा संयुक्तरुपमा आठौ स्थान बाड्नुभयो ।

३६ होलको समाप्तीमा भुवनमात्र एक स्ट्रोकले पछि हुनुहुन्थ्यो । तर, तेस्रो दिन १-अन्डर ६७ को स्कोर बनाउदा उहाँले नौ स्ट्रोकलो अग्रता बनाउनुभयो । दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाउनुभयो । यसपछि १२औं, १३औं र १७औं होलमा एक-एक सट बचाउँदा १०औं, १५औं र १८औं होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सिध्याउनुभयो ।

भुवनले नौ स्ट्रोकको अग्रता बनाउनुको प्रमुख कारण रविको खराब प्रदर्शन नै हो । उहाँले ९-ओभर ७७ को अत्यन्त खराब खेल खेल्नुभयो । दोस्रो, चौथो, छैटौ र नवौ होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन ४-ओभर ३८ मा पुरा गर्नुभयो । यसपछि पनि सम्हालिन सक्नुभएन । १०औं र १८औं होलमा डबल बोगीको सामनामात्र गरेनन ११औं र १६औं होलमा एक-एक सट खेर फाल्नुभयो । १३औं होलमा एक सट बचाए पनि ब्याक नाइन ५-ओभर ३९ मा सकाउनुभयो ।

शुक्रबहादुर राईले १-अन्डर ६७ को नतिजामा दोस्रो स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गर्नुभयो । उहाँले पहिलो र चौथो होलमा बर्डी प्रहार गर्नुभयो । ब्याक नाइनको सुरूवातमै डबल बोगी प्रहार गरे। १३औं होलको बर्डीले १-ओभर ३५ मा ब्याक नाइनको खेल सकाउनुभयो ।

एमेच्योरतर्फ समग्रमा ११-ओभर २१५ को नतिजामा अजित विके शीर्षस्थानमा हुनुहुन्छ । उहाँले ५-ओभर ७३ मा खेल सकाउनुभयो । समग्रमा २३३ अंक जोडेका प्रज्वल गुरुङ दोस्रो स्थानमा हुनुहुन्छ । कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले एक लाख १६ हजार प्राप्त गर्नेछन् । उपविजेता प्रो खेलाडीले ७४ हजार तथा तेस्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?