नविताको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय च्याम्पियन नेपालकी नविता श्रेष्ठले विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्सको समूह ‘एच’ मा नविताले श्रीलंकाकी तमाद काभिन्द्या अलागीयावाडुलाई ११-३, ११-९ र १२-१० को सोझो सेटमा पराजित गर्नुभयो । सोही समूहको अर्को खेलमा भने तमादले बंगलादेशकी कोइ कोइ साइ मामालाई सिधा सेटमा ११-५, १३-११ र ११-९ ले हराउनुभयो ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला सिंगल्सको समूह ‘इ’ मा पाकिस्तानकी हुर फवादले नेपालकी सिक्का सुवाल श्रेष्ठलाई ३-० तथा भारतकी दिया पराग चितालेले सिक्कालाई ३-० कै सोझो सेटमा हराउनुभयो ।
समूह ‘जि’ मा नेपालकी एलिना महर्जन श्रीलंकाकी मनीषा र माल्दिभ्सकी फथिमाथसँग समान ३-० को नतिजामा पराजित हुनुभयो । समूह ‘डी’ मा नेपालकी रविना महर्जन श्रीलंकाकी कासुनीसँग ३-१ तथा भारतकी अर्चनासँग ३-० ले चुक्नुभयो समूह ‘सी’ मा भारतकी रिथले नेपालकी इभाना थापालाई ३-० ले पाखा लगाउनुभयो ।

पुरुष सिंगल्सको समूह ‘ए’ मा भारतका सनिलले नेपालका शिव सुन्दर गोथेलाई ३-०, समूह ‘डी’ मा नेपालका संयोग कपालीले बंगलादेशका नफिज इक्बाललाई ३-०, समूह ‘इ’ मा पाकिस्तानका फैजान जाहुरले नेपालका प्रदीप रोकालाई ३-२ र समूह ‘एफ’ मा नेपालका विनेश खनियाँले बंगलादेशका फहाद ख्वाजालाई ३-२ ले हराउनुभयो ।

प्रतियोगिताको पुरुषमा १८ तथा महिलामा २४ खेलाडी सहभागी छन् । नेपालबाट पाँच-पाँच पुरुष/महिला, भारतबाट दुई पुरुष र पाँच महिला, पाकिस्तानबाट चार पुरुष र तीन महिला, बंगलादेशबाट चार पुरुष र पाँच महिला, श्रीलंकाबाट दुई पुरुष र पाँच महिला तथा माल्दिभ्सबाट एक-एक पुरुष महिला सहभागी छन् । प्रतियोगितामा भुटान सहभागी भएको छैन । समान १६-१६ पुरुष/महिला खेलाडी अर्को चरणलाई छनोट हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?