काठमाडौं । १९औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल हस्तकला महासंघद्वारा आयोजित मेला उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको चुलिँदो व्यापार घाटा नियन्त्रणका लागि हस्तकला व्यवसायको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । हस्तकला क्षेत्रले नेपालकै स्रोतसाधन उपयोग गर्दै निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने भएकाले हस्तकलालाई तुलनात्मक लाभको क्षेत्र मानेर सोहीअनुसार राज्यले संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हालको चुलिँदो व्यापार घाटा सन्तुलनमा ल्याउने लक्ष्य प्राप्तिका लागि हस्तकलाको निकासी बढाउनु आवश्यक छ, यसका निमित्त हस्तकलालाई व्यापक उत्पादनका तहसम्म पुर्याउँदै अन्तर्राष्ट्रिय बजारमा पनि उत्तिकै प्रचारप्रसार गरिनुपर्छ ।’ उहाँले स्वदेशी वस्तुको खपत बढाउन सरकारले सार्वजनिक निकायका लागि लागू गरेको १५ प्रतिशतसम्म महँगो भए पनि खरिद गर्नुपर्ने नीतिअनुसार सार्वजनिक निकायले सकेसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमार्फत् हस्तकलालाई संरक्षण र संवद्र्धन गर्न सकिने बताउनुभयो । नेपाली हस्तकला मौलिक र सजिलै अरूले नक्कल गर्न नसकिने खालका रहेकाले संसारभर विशिष्ट महत्व रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले हस्तकलालाई पुस्तान्तरण गरिनुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले हस्तकला क्षेत्रले स्वदेशी स्रोत साधन उपयोग गर्दै निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने भएकाले हस्तकलालाई तुलनात्मक लाभको क्षेत्र मानेर सोहीअनुसार राज्यले संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले विदेशी बजारमा वार्षिक १२ अर्बको निकासी रहेको हस्तकला क्षेत्रले पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै टेवा पुर्याइरहेको बताउनुभयो । व्यापार घाटा कम गर्न तथा स्वदेशी साधन स्रोत उपयोग गर्दै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने क्षेत्र भएकाले हस्तकला क्षेत्रलाई राज्यले नीतिगतरूपमा सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हस्तकला र पर्यटन क्षेत्र एकअर्काका परिपूरक भन्दै नेपाली हस्तकलाले नेपाललाई विश्वमा चिनाएको बताउनुभयो भने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ पुस्तालाई हस्तकलासम्बन्धी सीप र कला हस्तान्तरण गर्न प्रदेश सरकारले हस्तकला विश्वविद्यालयको अवधारणा अघि सारेको जानकारी दिनुभयो । हस्तकलाका मुख्य कच्चा पदार्थको समुचित उपयोग र स्वदेशी वस्तु खपतमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
मेला संयोजक दिल्लीरत्न तुलाधरले हस्तकला मेलालाई अन्तर्राष्ट्रिय ट्रेड डाइरेक्ट्रीमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन हुने मेलामा पाँच पेभिलियन र एक सय ३० स्टल रहेका छन् ।
विगत वर्षमा जस्तै यस वर्ष पनि वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा बागमती प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्डलगायत निजी क्षेत्रका विभिन्न छाता संगठनसँगको सहकार्यमा मेला आयोजना गरिएको हो । मेलामा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पस्मिना, छालाजन्य सामान, प्राकृतिक रेसाका सामानका स्टल रहेका छन् ।
उत्कृष्ट निर्यातकर्ता तथा व्यवसायी सम्मानित
मेलाकै अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ता तथा व्यवसायीलाई सम्मान प्रदान गरेको छ । निर्याततर्फ एभरेष्ट फेसन प्रालि, एभरेष्ट फेल्ट एण्ड निट प्रालि र फेल्ट एण्ड यार्न प्रालि सम्मानित भएका छन् भने निर्यातमा योगदान पुर्याउने बागमती आर्ट्स एण्ड हृयान्डीक्राफ्ट, माइन्डफुल क्राफ्ट प्रालि, ओम साइराम फेल्ट प्रोडक्ट, गिफ्ट एण्ड इन्टरप्राइजेज, प्रपोज फेल्ट नेपाल, कृति क्राफ्ट, पिपल्स क्राफ्ट, एसियाटिक ट्रेडर्स एण्ड एक्सपोर्ट्स, वनदेवी ट्रेडर्स, लस भेगस एक्सपोर्ट एण्ड इम्पोर्ट, नेपाल क्राफ्ट ग्यालरी, आर्टिजन वर्कसप र बिएल हृयान्डीक्राफ्ट सम्मानित भएका छन् । त्यसैगरी कल्पना क्राफ्ट, बिड्स फर लाइफ, क्रियसन क्राफ्ट, आरबी जेम एण्ड ज्वेलरी, कुम्भेश्वर ट्रेडिङ सेन्टर, न्यु गजमेर सुनचाँदी पसल, युनाइटेड कलर्स फेसन पनि सम्मानित भएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका