स्रष्टा बलदेव मजगैयाँ अनि ‘मानसी’ प्रतिको मानस बिम्ब

बलदेव मजगैयाँ नेपाली साहित्यमा सुपरिचित नाम हो । धेरै चर्चा मन नपराउने, चुपचाप लेखिरहने र नेपाली साहित्यलाई गुणात्मक योगदान गरिरहने स्रष्टा मजगैयाँका केही कृतिहरू साँच्चै उच्च तहका छन् । ‘मानसी’ उपन्यास मजगैयाँको २०६३ सालमा साझा प्रकाशनबाट प्रकाशित त्यस्तै विशिष्ट कृति हो । यो कृति पढेपछि पाठक प्रतिक्रियास्वरूप लेखेको यो लेखलाई समालोचक डा.एकनारायण पौड्यालले नि ! समालोचनाको कोटीमा राखेका छन् ।

त्यस्तै एकदिन कुरैकुरामा वरिष्ठ कवि विष्णुविभू घिमिरेले बलदेवजीको मानसी पढ्नुभएको छ भाइ ? साँच्चै उच्चस्तरको कृति छ त्यो भन्नुभयो । यस्ता केही प्रतिक्रिया आइरहेको परिप्रेक्ष्यमा यो कृति एकपटक फेरि पढिनुपर्छ भन्ने लागेर केही आत्मपरक, केही चेतनप्रवाह र केही अनौपचारिक शैलीको यो पाठक प्रतिक्रिया दोहोर्‍याएको छु । नेपाली साहित्यमा लेखिएका यस्ता गुणात्मक कृतिका बारेमा पाठकवर्ग सुसूचित हुँदै रहनुपर्छ भन्ने पनि लागेको छ ।

यो नारी पात्र प्रधान उपन्यास हो । नारी हक र स्वतन्त्रताको पक्षमा यो उपन्यास उभिएको छ । शैली पारम्परित जस्तो भए पनि नयाँ कुराको उद्घोष गरिएको छ । पुरुषको इच्छाधनी चरित्रलाई प्रकाशमा ल्याएर, सामाजिक संरचनामा परिवर्तनको चाहना छ ।

‘मानसी’ नारी भूमिकालाई सम्मानका आँखाले हेरिएको उपन्यास हो । यहाँ अलग-अलग चरित्रका पुरुषको इच्छामा नारीलाई उपयोग गर्ने प्रयास गरिएको छ तर नारी सबैको प्रतिनिधित्व गर्न चाहने मानसी, प्रतिनिधि पात्र बन्न नसके पनि मानसीको निजी जीवन नितान्त निजी सन्देशमूलक मात्रै छैन । निश्चय नै आफ्नो इच्छा चलेको भए सम्भवतः संसारको यो गति रहन्नथ्यो । त्यो मानसीमा पनि भएन, अनपेक्षित छैन, अपेक्षित छ, घटना नाटकीयताले नछोडेको जस्तो भएर आएको छ ।

मानसी आफ्नो दृढतामा ठेस लागे पनि तिमीले रोजेको बाटो तिम्रो हितमा रहेछ भन्ने पुष्टि गरेरै छोड्यौ होइन ? तिमी मेरी हुन सक्दिनौ, मलाई कुनै गुनासो छैन । मैले बुझ्नु पर्छ यो बाध्यता, मेरो कोखबाट जन्मिनौ, मेरो मानस संसारमा मानसीको उपस्थिति थिएनलाई’ मैले अन्यथा मान्नु हुन्न । तिमी जसकी भयौ त्यहाँ ठीक छौ, तिमीलाई जसले जन्मायो त्यसमा गौरव गर । तिम्रो विचारको सम्मान हुने ठाउँ तिम्रो हो, त्यहाँ तिमी हाँस्न, नाँच्न सबै गर्न सक्छ्यौ । जहाँ तिमीलाई ‘तिमी’ हुने अधिकारमाथि प्रतिबन्ध लगाइयो, त्यहाँ तिमी कसरी बस्न सक्छ्यौ ? जे भयो तिम्रो इच्छामा भयो ।

यहाँ सबै नाटकै त छ, भ्रमको संसारमा भ्रामक खेतीले प्रश्रय पाउने यो बेला ‘मानसी’ को इच्छा दुर्घटना स्वाभाविक भयो । मानौँ हुनु थियो जो त्यसको अपवादमा ‘मानसी’ का इच्छा परेनन् त के भयो ? एउटा सत्य त्यहीँबाट जन्मिएको छ, भविष्यको निम्ति । ‘मानसी’ भविष्यमा म तिम्रो हुन सकूँ÷तिम्रा भावनाको हुन सकूँ, तिम्रो युगको हुन सकूँ । तिमीलाई जन्माउन सकूँ, संस्कार दिन सकूँ । त्यसो त आज पनि म तिमीबाट टाढा बस्न कहाँ सकेँ र ? म डोरिँदै हुत्तिँदै तिम्रा विचारको अब्बल समर्थक बन्ने इच्छा राख्छु ।

मेरो समयकी प्रतिनिधि तिमी हौ । उपन्यासको प्रारम्भदेखि नै म तिम्रो पक्षमा छु । तिमीले गरेको प्रेम, आकाङ्क्षा, घृणा र तिरस्कार सबैमा म सामेल छु । तिम्रो निर्णय उचित लाग्यो र म हर्ष भएँ, तिमीलाई भरमग्दूर प्रेम गरेँ, भावनात्मक आत्मिक, पवित्र र निश्वार्थ । मलाई तिमीमाथिको विश्वासघातको मोहले छोप्यो, हर्षको आँखामा सजिएको तिम्रो तस्वीर मेरो हुनु पथ्र्यो भन्ने कुतर्क र घृणित मोहले लठ्याएछ म विनय बनेर तिम्रो वरिपरि गर्न चाहेँ । मसँगै थिएँ तर तिमी मसँग थिइनौ ‘ले’ मलाई बेलाबेला भित्र पोलेको हो । मैले तिम्रो विकल्प रोजको पनि हुँ, तर तिम्रो विकल्प नै रहेनछ । मलाई जल्ने गरी तिमीलाई खार्नु रहेछ । तिमी हारिनौ जित्दै गयौ । म हार्दै रहेछु । जितेको भ्रममा ।
कुरा जसरी पनि उठ्न सक्छन्, मानसीको दाँजोमा म जान हुने हो वा होइन ? मानसीको कथा मेरा हातबाट विनिर्मित हुनु हुने हो वा होइन ? मेरो कद मानसीको उचाइसँग नापिने हदसम्म जाने चेष्टा सामाजिक स्वीकृतिमा पर्छ पर्दैन ? मलाई मानसी लेख्ने हक छैन । निश्चय नै छैन, अस्वीकृत प्रयत्नको चेष्टा म गर्दै छु बुझ तर सङ्कोचले मानसीमाथिको शीर्ष लेखन मेरो होइन भन्ने बुझ्नै पर्छ र त म मानसीलाई सम्मानमात्र गर्न सक्ने भएँ । अनधिकृत मेरो तिमीप्रतिको अनुरागले नै आँट भरेछ, म तिमीलाई आफ्नो कलममा प्राथमिकतापूर्वक राख्दैछु । इतिहासले तिम्रो र मेरो सम्बन्ध भन्ला ।

मैले तिमीलाई प्रोमिकाजस्तो प्रेम गर्नु हुन्छ हुँदैन ? मेरो व्यवहार सम्भवतः तिमीप्रति सम्मानित हुनुपर्ने हो । म छोरीजस्तो स्नेहालु भई तिमी मेरा अगाडि उभिएकोलाई राम्रो मानुँला । त्यो मेरो हक होइन आग्रह मान । जहाँ म पुग्नै सक्दिन वा हुन्नथ्यो को कल्पनाले किन यसरी बारम्बार मथिङ्गल छोप्छ ? सम्भवतः आत्मिक मोहले म व्यापकतामा रम्न सक्ने हुनै सकेको छैन । म साँघुरोमा संसारको पूर्णता खोज्ने आकुञ्चन मोहमा छु । विभ्रममा छु, सम्मोहनमा छु, ऐंठनमा छु ।

तिमीबारे लेखिएला- शिष्ट र सम्मानित हातका उचाइमा तिम्रो नाम सुहाउँदिलो भई आउँछ । तिम्राबारे भनिने केही आधारभूत भनाइहरू छन्, मेरा दृष्टिका मात्र म भन्न सक्छु– यो नारी पात्र प्रधान उपन्यास हो । नारी हक र स्वतन्त्रताको पक्षमा यो उपन्यास उभिएको छ । शैली पारम्परित जस्तो भए पनि नयाँ कुराको उद्घोष गरिएको छ । पुरुषको इच्छाधनी चरित्रलाई प्रकाशमा ल्याएर, सामाजिक संरचनामा परिवर्तनको चाहना छ । यहाँ आत्मिक प्रेम र मांशल प्रेमको साधन नारीलाई बनाउन खोजिएको छ । नारी, अधिकारसचेत भइकन पनि कर्तव्यको परिबन्धले विपरीत इच्छानिर्णय स्वीकार्न बाध्य छे । पुरुष सत्तात्मकताको गन्धले उपन्यासैभरि लठ्याउने प्रयास गरे पनि परिणति नारी आस्मिताको हकमा भएको छ । सबैमा जस्तो प्रेम, घृणा, छल, प्रपञ्च आदिका पारम्परिक चरणमा उपन्यास हिँड्दै गएर आफ्नो नारी अधिकार अस्मिताप्रतिको लेखकीय अठोट कार्यान्वयन भएको छ ।

उपन्यास पढेजस्तै गरी जीवन पढ्न पाइने आख्यान योजना यसको यथावत् बाटो हो । यथार्थवादी दृष्टि, सुधारवादी चाहना नारी, हकको सचेतता पुरुषसत्तात्मक परम्पराको धङ्धङी, नवीन मूल्य र मान्यताप्रतिको सजगता, लोकतान्त्रिक चेतनाको पदार्पण अभिधात्मक अभिव्यक्ति योजना, भाषिक सरलताको कारण सम्प्रेषणीयता, शिष्ट जैविक बोध, मनोजैविक निकासको खोजी प्रचलित मान्यतामाथिको आस्था र विश्वासले याथार्थिक मार्गप्रशस्तिको खोजी, उत्तरोत्तर मार्मिकता, प्रभावकारिता र स्वाभाविकता आधुनिक आरोहण यात्रारत रहेको छ । विचारको परिवर्तनशील चञ्चलता नभएर दृढतामा अर्थ गाम्भीर्यको खोजी, सन्देश मूलकता आदि केही भनिने विशेषताहरू तिम्रा मेरो तर्फका भनेँ । यी तिम्रा आफ्ना हुन् कति ग्रहणीय, कति त्याज्य सबै समयको काखमा निर्णयार्थ छोडिने छ ।

तर, मानसी अबको वास्तविक समीक्षक तिम्रो पाठक हो । पाठकलाई बाध्य पारेर तिमीले अनपेक्षित उचाइ लिने मोह पाल्नु पनि हुन्न र पाठकले तिम्रो विश्वासलाई ठेस लगाउन पनि हुन्न । चेतनाको बजारमा तिमी उपस्थित हुनेछ्यौ त्योबेला तिम्रो उपस्थितिको मूल्य निर्धारण हुने छ । जीवन बोल्न खोजेको तिम्रो भाषा, जगत् उतार्न खोजेको तिम्रो चित्रले कतिसम्म प्रतिनिधित्व गर्न सक्यो, तिमी बसेको समाजको चरित्रको, व्यवहारको भूमिकाको, त्यसमा तिम्रो वास्तविक स्वरूप निखरा भई आउने छ ।

मेरो उन्मुक्त प्रशंसा मेरो तिमीप्रतिको हेराइ, जहाँ तिम्रा र मेरा भावनामा समता भएकाले म मीठो गरी तिम्रो पक्षमा बोलेँ । सायद म भावुक भएँ- वस्तुको हेराइ वस्तुगततामा अझ राम्रो पनि हुन सक्छ । एकै वस्तुमाथि भिन्न दृष्टिको लीला आजको व्यावहारिक सत्य प्रमाणित हुँदैछ । हुनु नहुनुको मानसिक द्वन्द्वमा मानसीका तमाम आकाङ्क्षाहरूसँग एकछत्र खेलेर एक तुष्टिको संकीर्ण मोह पूरा होला तर विराट दृष्टि, विषद् व्याख्या, विविध शैली, एकात्मक विचार, तिमीलाई चिनाउने आफ्ना- आफ्ना विशेषता हुनेछन् ।

मानसी एक्काइसौं शताब्दीको संघार कटेर युग प्रवेश गर्दै छौँ । निश्चय पनि यो समयको वास्तविकता तिम्रो र मेरो पनि वास्ताविकता हो । हामीहरू जस्तैको वास्तविकता पनि हो । युगसापेक्ष तिम्रो आँकलन र मूल्याङ्कन हुन तिमी पुरानै प्रचलित बाटो हिँडेर पुग्दैन । तिमीलाई बाटो चाहिन्छ युग भ्रमण गर्ने र पुग्ने । तिम्रो निधारमा लगाइने कुनै रङ्गको विन्दु (टीका) तिमीलाई सुहाउने र मनपर्ने हुनुपर्छ होइन र ?
तिम्रो इच्छा र तिम्रो निर्णय तिमीलाई प्रिय भए जस्तै तिमीले रोजेको व्यक्ति तिम्रो पति, प्रेमी, हुन पर्ने तिम्रो सजग आग्रह जस्तै, छल र प्रपञ्चको संसारले तिमीमाथि खेलबाड गरेजस्तै, भावनाको आत्महत्या आफ्नै आँखाले टुलुटुलु हेर्नु परेजस्तै, चरित्रका नक्कली खेलमा अकुशल खेलाडीले कुशलताको भ्रम पालेजस्तै, घिनलाग्दो भोकलाई नचिने जस्तै वा प्रेम भनिए जस्तै, नारी अपूर्णता सबैभन्दा तीतो सत्य भए जस्तै, भ्रममा हो ? हठमा हो ? समर्पणमा हो ? वा भोकमा हो नारीले स्वनिर्णयको साधिकार दाबी गरे जस्तै, सवर्गीय जाति सत्ताको सिकार बनेर घाँटी अँठ्याउन तम्सिए जस्तै, विश्वासघातीमाथि घोर निन्दा घृणा र तिरस्कार गरेर अमर्यादित कार्यलाई शिष्टता र मर्यादा दिए जस्तै, तिम्रा इच्छाका हरेक एकाइहरूमा तिमीमाथि न्यायिक हेराइ तिम्रो आकांक्षा हो कि होइन ?

हरियो चश्मा लगाएर सुकेको घाँसलाई हरियो पार्ने परम्परागत व्याख्या अबको माग होइन, तिम्रो माग होइन । स्रष्टा मजगैयाँले तिमीप्रति हेरेको न्यायिक हेराइ न्यायपूर्ण छ । तिम्रो पक्षमा छ, समाजको पक्षमा छ, समयको पक्षमा छ । विचारको प्रक्षेपण स्रष्टा मजगैयाँको जो निजी विशेषता नै हो जुन अन्य औपन्यासिक कृतिहरूले पनि गरेका छन् त्यसभन्दा थप तिमी के हौ भने स्रष्टाको पछिल्लो दर्शनको उपज हो । मात्र आख्यानात्मकता तिमीलाई खुसी पार्न संयोजित छैन, विभिन्न दर्शनका सारभूत कुराहरूले मानवजातिलाई सहज असहज पारिस्थितिमा प्रभाव पर्ने गरेको छ, त्यो यसमा छ, तिमीमा छ । आस्थावादी, नियतिवादी, परम्परावादी, जीवनभोगाइका विविधरूपमा तिमी उपस्थित भएर यथार्थवादभित्रको मनोवैज्ञानिकता र यथार्थमयता यसमा केन्द्रका विचारको रूपमा आएका छन् । जुन तिम्रा पक्षमा छन्, मेरा पक्षमा छन्, समाजका पक्षमा छन् समयका पक्षमा छन् ।

आस्थावादी, नियतिवादी, परम्परावादी, जीवनभोगाइका विविधरूपमा तिमी उपस्थित भएर यथार्थवादभित्रको मनोवैज्ञानिकता र यथार्थमयता यसमा केन्द्रका विचारको रूपमा आएका छन् । जुन तिम्रा पक्षमा छन्, मेरा पक्षमा छन्, समाजका पक्षमा छन् समयका पक्षमा छन् ।

मानसी- केही गुनासा तिमीमाथि रहेका छन् र सायद रहने छन् । आत्मनिर्णयको अधिकार पाएकी तिमी शिक्षित नारी युगको असङ्गतिले तिमीलाई आक्रमण गर्न खोजेपछि विद्रोह बोल्न सक्नु पथ्र्यो होइन र ? तिमी आधुनिक युगकी सचेत नारी भएर पनि समयमै आफ्नो अधिकारको दाबी गर्नुको साटो निरीह भई स्वीकार्ने र पछि सामाजिक मर्यादालाई चुनौती दिएर विद्रोहिणी हुने गरी गरिएको तिम्रो व्यवहारमा मातृत्वको आधार प्रमाण प्रस्तुत गरेकैले सहानुभूतिकी पात्र भयौ । अन्यथा सामाजिक तिरस्कार नै तिम्रो पनि नियति हुन सक्थ्यो । अन्धविश्वासको छायाँले तिमीलाई घम्लङ्गै ढाकेर घोर परम्परावादी बन्ने तिम्रो कमजोर मानसिकतालाई सबल बनाउनु पर्छ । भोलिका दिनमा शिक्षित नारी युग सुहाउँदो ढङ्गमा अघि बढ्न सक्नुपर्छ ।

तिम्रो पात्रतालाई केही नारीहरूसँग तुलना गर्न मन हुन्छ । पल्लोघरको झ्यालकी मिसरी, अनुराधाकी अनुराधा, शिरीषको पूmलकी सकम्बरी, तीन घुम्तीकी इन्द्रमाया, सुम्निमाकी सुम्निमा, नरेन्द्र दाइकी गौरी, आदि केही नारी पात्रका आंशिक स्वभाव तिमीमा आएका छन् तर माथिका सबै पात्र आफ्नो भूमिका सबल निर्बल जे भए पनि निर्णायक हुन सकेझैँ तिम्रो भूमिका निर्णायक हुन सकेको छैन । तर, नारीले समयका विभिन्न मोडहरूमा आ-आफ्नै समस्या झेल्ने र भोग्ने गरेकामा तिमी पनि परेकीले तिम्रो स्थान, तिम्रै निम्ति बनेको मानौँ । अबका दिनमा तिम्रो भूमिका समयसापेक्ष उज्जर र निर्णायक भएर आउनु पर्छ तर नारी सचेतता, सजगता र हठको परिचय दिएको तिमीले नारीको हकमा भएको मान्दा तिमी निर्णायक नै छौ । पुरुष पात्रलाई ओझेल पार्ने गरी तिम्रो उपस्थिति नारी हुनुको हकमा हुनेछ ।

तिमी मूल्याङ्कनको कठघरामा उभिने छौ, त्यहाँ ओल्टाई पल्टाई तिम्रो छिद्रान्वेषण हुनेछ । कुशल द्रष्टाबाट सम्यक् हेराइ हुँदा आउने तिम्रो वास्तविक स्वरूप तिम्रो हुनेछ । समाजको सापेक्षता तिम्रो र स्रष्टा मजगैयाँको सिर्जनशील विशेषता भएको छ । यो समयको सँघारमा स्रष्टाको काखमा हुत्तिएर आएको सामयिक तथ्य अविश्रान्त भएको सुखद खबर म तिमीमार्फत् स्रष्टा मजगैयाँसम्म पुर्‍याउन चाहन्छु । मैले थप भन्दै आएको मजगैयाँबारेको कुरा के हो भने साहित्यकार बलदेव मजगैयाँको समग्र साहित्यिक योगदानलाई एकमुष्ट मूल्याङ्कन गर्ने समय अब भएको छ । उत्तरोत्तर नवीन विचारधर्मी सिर्जनाहरूले मजगैयाँको साहित्यिक उर्वरताको सङ्केत गरेका छन् र गर्दै जानेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?