अनुदानमा उन्नत जातको गाई वितरण

फाईल तस्बिर

रासस
Read Time = 2 mins

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘अर्ग्यानिक मैवाखोला’ अभियानअन्तर्गत अनुदानमा उन्नत जातको गाई वितरण गरेको छ । किसानको आयआर्जन बढाउन गाई वितरण गरिएको हो ।

गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा करिब रु आठ लाखमा १३ वटा उन्नत जातको गाई खरिद गरी किसानलाई वितरण गरेको गाउँपालिकाका पशु शाखाका प्रमुख वमप्रसाद वनेमले बताउनुभयो । वनेमका अनुसार होलस्टेन र जर्सी जातका गाई चितवन जिल्लाबाट खरिद गरी गाउँपालिकाको वडा नम्बर १ ढुङ्गेसाँघुका किसानलाई वितरण गरिएको छ । किसानलाई आम्दानीको स्रोत बढाउन र दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई वितरण गरिएको पशु शाखाले जनाएको छ ।

गाई वितरण गरिएसँगै कम्पोष्ट मल उत्पादन हुने गरेर किसानले खेतीपाती उत्पादन वृद्धि तथा अर्ग्यानिक सागसब्जी उत्पादन गर्ने गाउँपालिकाले अपेक्षा गरेको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले बताउनुभयो । गाउँपालिकाले अगाडिनै अर्ग्यानिक गाउँपालिका बनाउने घोषणा गरिसकेको छ ।

अभियानका लागि उन्नत जातका गाई, बाख्रासमेत खरिद गर्ने तयारी भइरहेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । वनेमले भन्नुभयो, “गाउँपालिकामा दूध सङ्कलन तथा प्रशोधन गर्न डेरी उद्योग सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?