दिक्तेल नगरपालिकाकाे बजार एरियामा जडान भएका सीसी क्यामेरा एक बर्षदेखि काम विहीन

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा जडान गरेको सीसी क्यामेरा बेकामे भएको छ । बजारमा हुने अपराधिक क्रियाकलाप र शान्ति सुरक्षालाई सहयोग पुग्ने उद्देश्यले चार वर्षअघि जडान गरेको क्यामेरा बिग्रिएर नचलेपछि बेकामे भएको हो ।
दिक्तेलबजार व्यवस्थापन कार्यक्रम अन्तरगत नगरपालिकाको १० लाख लगानीमा २०७५ मंसिर महिनामा दिक्तेलबजारको आठ स्थानमा दुई–दुई वटाका दरले जडान गरेको १६ वटा क्यामेरामध्ये ११ वटा सीसी क्यामेरा करीव वर्षदिन अघिबाट बिग्रिएर थन्किएको छ । पोलहरुमा राखिएको अधिकांश क्यामेरा नै देखिन्दैन भने, भएका पनि टुटफुट अवस्थाका छन् ।

तत्कालिन मेयर दिपनारायण रिजालको कार्यकालमा दिक्तेलबजारस्थित घरभाडा लिएर नगरपालिका सञ्चालन हुँदा त्यहाँ क्यामेराको मनिटर राखेर पुस ४ गते रिजालले उद्घाटन गर्नुभएको थियो । अर्को मनिटर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । अहिले प्रहरीमा भएको मनिटर मात्रै सञ्चालनमा छ । नगरपालिकाले राखेको मनिटरको चिनोबानो छैन ।

हाईटेक आईटी सोलुसनले दिक्तेलको हाँटडाँडा, भानुचोक, अस्पताल चोक, पूरानो बैंकचोक, त्रिवेणीचोक, भवनगैरा, बेशक्याम र रत्नपार्कमा सीसी क्यामेरा तथा नगरपालिका र जिल्ला प्रहरी कार्यालयमा एक/एक वटा मनिटर जडान गरेका थिए । मिलेमत्तोमा कमसल क्यामेरा र तार जडान गर्दा समस्या उत्पन्न भएको आशंका हुन थालेको छ ।

सीसी क्यामेराले अपराध नियन्त्रणका अलवा अव्यवस्थित दिक्तेलबजारलाई व्यवस्थित बनाउन टेवा पुग्ने, अव्यवस्थित पार्किङ, सडक पेटीमा सामान राख्ने, सार्वजनिक स्थानमा मध्यपान/धुम्रपान गर्ने र बजारमा जथाभावी निर्माण सामग्री थुपार्नेजस्ता गतिविधिलाई नियन्त्रर्ण गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको थियो । तर, लाखौ बजेट खर्चेर जडान गरिएको सीसी क्यामेरा नै नचलेपछि तत्कालिन नेतृत्व र नगरपालिकाको आलोचना भईरहेको छ ।
शान्ति सुरक्षामा सीसी क्यामेरा टेक्नोलोजी बेस्ट भए पनि सबै फङ्सन नचल्दा सुरक्षा चुनौतीमा समस्या भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले बताउनुभयो । 'अनुसन्धानका सिलसिलामा विभिन्न कोणबाट अनुसन्धान गर्नुपर्ने हुन्छ । सबै क्यामेरा नचल्दा ठोस प्रमाण संकलन गर्न नै अफ्ठ्यारो भईरहेको छ ।' मुकारुङले भन्नुभयो ।

क्यामेराका विषयमा नगरप्रमुख तीर्थराज भट्टराईलाई सम्पर्क गर्दा फोन उठेन । सडक बत्ती र सीसी क्यामेराको विषयमा कुरा उठिरहेकाले छानविन गरिदिन भनि चार महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्रचार गरिएको उपमेयर बिसन राईले बताउनुभयो । 'हामी निर्वाचित भएको तीन महिनामै छानविन गरिदिन भनि पत्रचार गरेका थियौ । अहिलेसम्म रिप्लाई आएको छैन । सायद अब छानविन सुरु हुन्छ होला ।' उपमेयर राईले भन्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?