विश्वकपबाट बाहिरियो ब्राजिल

Read Time = 3 mins

दोहा । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलबाट बाहिरिएको छ । उपाधि दाबेदार मानिएको टोली क्वाटरफाइनलमा क्रोएसियासँग पराजित हुँदै बाहिरिएको हो । कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा चार-दुई गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

ट्राइबेकरमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गर्नुभयो । ब्राजिलका लागि भने क्यासिमेरो र पेड्रोले गोल गर्दा रोड्रिगो र मार्कविववन्होस पेनाल्टीमा गोल गर्नबाट चुक्नुभयो ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको खेल एक-एक गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका नेमारले गोल गर्दै पहिलो अग्रता दिलाउनुभएको थियो । उहाँले पाक्वेटाको पासमा गोल गर्नुभएको थियो । खेलको ११७औँ मिनेटमा क्रोएसियाका ब्रुनी पेट्कोभिचले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभएको थियो ।

क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले पदबाट राजीनामा दिनुभएको छ । प्रतियोगिता सुरु हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आए पनि आफू जिम्मेवारीमा नरहने बताउनुभएको थियो । ६१ वर्षीय प्रशिक्षकले पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहनुभएको थियो । उहाँले सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाए पनि विश्वकपमा क्वाटरफाइनल चरण पार गर्न सक्नुभएन ।

टिटेको प्रशिक्षणमा ब्राजिलले ८१ खेल खेल्दा ६१ जित हासिल गरेको थियो । १३ खेल बराबर हुँदा सात खेलमा भने टोली पराजित भयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?