नाटकीय खेल जित्दै अर्जेन्टिना सेमिफाइनलमा

Read Time = 5 mins

दोहा । क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्ससँग चार–तीन गोलअन्तरको जित हात पारेसँगै लियोनल मेस्सीको विश्वकप सपना जीवितै रहेको छ । निर्धारित ९० मिनेटको खेल दुई-दुईको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । नाटकीय बनेको खेलमा मेस्सी नायक बन्नुभएको थियो । निर्धारित समयमा अर्जेन्टिनाले गरेको दुवै गोलमा मेस्सीको भूमिका रहृयो । यस्तै, उहाँले पेनाल्टी गोलसमेत गर्नुभयो । पहिलो र दोस्रो हाफमा गोल गर्दै अर्जेन्टिनाले आरामदायी अग्रता लिएको थियो । तर, अन्तिममा नेदरल्याण्ड्सले दुई गोल फर्काउँदा खेल नाटकीय बन्यो ।

नाहुल मोलिनाले ३५औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाउनुभयो । लियोनल मेस्सीले दिएको सानदार पासमा उहाँले गोल गर्नुभएको हो । पेनाल्टी क्षेत्रको बायाँतर्फ अघि बढ्न लागेको अवस्थामा नेदरल्याण्ड्सको पूरै डिफेन्सलाई छक्काउँदै मेस्सीले मोलिनालाई पास दिनुभएको थियो । मोलिनाले सहजै वान भर्सेस वानको अवस्थामा गोल गर्नुभयो ।

७३औँ मिनेटमा अर्जेन्टिनालाई मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले दिएको पेनाल्टीमा मेस्सी चुक्नुभएन । उहाँले गोलरक्षकलाई विपरीत दिशातर्फ पठाउँदै गोल गर्नुभएको थियो ।
८३औँ मिनेटमा नेदरल्याण्ड्सका लागि वुट वेघस्र्टले एक गोल फर्काउनुभयो । उहाँले क्रसमा गरेको हेडर गोलरक्षक एमिलियानो मार्टिनेजको हातमुनिबाट गोलमा परिणत भएको थियो । त्यसपछि इन्जुरी समयमा नेदरल्याण्ड्सले बराबरी गोल फर्कायो । फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघस्र्टले नै गोल गर्नुभएको थियो ।

अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेज नायक बन्नुभयो । उहाँले नेदरल्याण्ड्सका लागि कप्तान भर्जिल भान डाइकको पहिलो प्रहारलाई दायाँतर्फ उत्कृष्ट डाइभ गर्दै बचाउनुभाये । अर्कातर्फ अर्जेन्टिनी कप्तान मेस्सीले सहजै गोल गर्नुभयो ।

यस्तै, अर्जेन्टिनी गोलरक्षक मार्टिनेजले डच टोलीका लागि स्टिभन बर्घिअसले गरेको दोस्रो प्रहार पनि विफल पारेपछि अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाउने निश्चित भयो । उहाँले यसपल्ट बायाँतर्फ डाइभ दिँदै बर्धिअसको प्रयास विफल पार्नुभएको थियो । त्यसपछि डच टोलीका लागि तिउन कुपमेनर्स, अर्जेन्टिनाका गोन्जालो मोन्टिएल र नेदरल्याण्ड्सका वुट वेघस्र्टले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।

अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेजको प्रहार बाहिर गएपछि नेदरल्याण्ड्सले खेलमा फर्कने अवसर पाएको थियो । तर, लौटारो मार्टिनेजले अन्तिम पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको जित पक्का गर्नुभयो । अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?