चित्रकारितामा अब्बल गोकर्ण घाँस खेतीमा

घाँस खेतीमा रमाउँदै गोकर्ण नेपाली । तस्वीर : रमेश विश्वकर्मा

Read Time = 5 mins

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-३ गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो । चित्रकारका रूपमा अब्बल नेपाली स्वदेशमै क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ । त्यस्तो त उहाँ फुर्सद भयो कि बस्नु हुन्छ चित्र कोर्न । उहाँ जो कोही व्यक्तिको जस्ताको त्यस्तै चित्र उतार्न सक्ने दक्षता राख्नुहुन्छ । विद्यालय तहबाटै आफूले चित्र बनाउँदा शिक्षकको प्रशंसा पाएकाले अझै प्रेरित भएको उहाँले सुनाउनुभयो । उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महावीर पुन, विजय लामा र कुलमान घिसिङलगायतको स्केच तयार पारेर उपलब्धसमेत गराइसकेको बताउनुभयो ।

चित्रकारितालाई व्यासायिक रूपमा भने उहाँले अपनाउनुभएको छैन । उहाँले घाँस खेती अभियानमा आफूलाई संलग्न गराँदै आउनुभएको छ । नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरी २०७६ साउनबाट ८० हजार रुपैयाँ लगानीमा घाँस खेती सुरु गर्नुभएको थियो ।
उहाँले १२० रोपनी जग्गामा इपिल-इपिल, राईखन्यु र नेपियरलगायत ५२ प्रजातिका घाँस खेती गर्दै आउनुभएको छ । जसमध्ये ८० रोपनी जग्गा नेपाली आफ्नैको हो । बाँकी ४० रोपनी जग्गा उहाँले भाडामा लिनुभएको छ । घाँसखेतीसँगै उहाँले बाख्रापालन गर्नुभएको छ । उहाँले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपायस्वरूप बाख्रापालन रोजेको बताउनुहुन्छ । नेपालीको आधुनिक खोर छ । जसमा ३८ वटा बाख्रा छन् । भौतिक संरचनासँगै अहिलेसम्म ३० लाख बढी लगानी गर्नुभएका गोकर्णले यो वर्ष २० लाख आम्दानी गर्नुभएको छ ।

आफू घाँस खेतीमा लाग्न पशुपालनबाटै प्रेरित भएको उहाँ बताउनुहुन्छ । पशुपालन धेरै ठाउँमा गरिरहेको देख्नुभएका नेपालीले पशुको आहार पु¥याउने कार्य शहरबाट भइरहेको देखेपछि गाउँघरमै घाँस खेती गर्ने उद्देश्यका साथ घाँसको व्यावसायिक उत्पादनमा लागेको बताउनुहुन्छ । ‘पशुपालन धेरै ठाउँमा गरेको देखियो । आहार भने व्यवस्थापन नभएको अवस्थामा मैले दीर्घकालीन फाइदा देखेर घाँस खेती सुरु गरें’, नेपाली भन्नुहुन्छ, ‘अझै घाँस खेतीमा कमी रहेकाले अरूले सुरुवाती गरेमा निकै फाइदा पुग्ने देख्छु ।’

आफूले परदेशमा कमाएको रकमबाट किनेको मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरेको उहाँले सुनाउनुभयो । ‘८० हजारमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरुवा किने’, नेपालीले भन्नुभयो, ‘पछि घाँस खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल भएँ ।’ आफू उत्पादित घाँस भण्डारणमा जुट्न थालेको उहाँले सुनाउनुभयो । फागुन, चैत, वैशाख र जेठ महिनामा घाँस हाहाकार हुन्छ । त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उहाँले बताउनुभयो ।

गुल्मीका स्थानीय तहसँगै लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र अन्य प्रदेशमा पनि घाँस बिक्री गर्ने सोच बनाएको उहाँले बताउनुभयो । नेपालीले आफूजस्तै अरुलाई पनि रोजगारी दिनुभएको छ । आफूसँगै दिनभर अर्को एकजना र मौसमी रूपमा १०/१२ जना गरि औसतमा दैनिक आठ जनाले रोजगार पाइरहेका छन् । सरकारले आफूजस्ता कृषकका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँ सुझाउनुहुन्छ ।

‘चित्रकारिता क्षेत्रमा पनि केही उल्लेखनीय कार्य गर्ने इच्छा छ तर अहिले व्यवसायको रूपमा घास खेती गर्दै आएको छु । यसले राम्रै भइरहेको छ । म चित्रकारिता र व्यवसायलाई सँगसँगै लैजाने योजनामा छु’, उहाँले आफ्नो भविष्यको योजना यस्तो सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?