नेपाल रेडक्रसद्वारा ‘द चेञ्ज मेकर’ अभियान सुरु

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी (नेरेसा) आबद्ध युवा स्वयंसेवकले ‘द चेञ्ज मेकर’ नामक जलवायु परिवर्तनसम्बन्धी देशव्यापी अभियानको सुरुआत गरेका छन् । रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले सहजीकरण गरेको सो अभियानले देशभरका १३ देखि ३० वर्ष मुनिका युवालाई नेपालमा जलवायु परिवर्तनसम्बन्धी कार्यको लागि संलग्न गराउने ध्येय राखेको छ ।

यसका लागि ती उमेर समूहका युवालाई जलवायु परिवर्तनमा आफ्ना नवीनतम् विचार र समाधानका उपाय भिडियोमार्फत पेस गर्न आहृवान गरेको छ । कार्यक्रममा अभियानको नेतृत्व गरिरहेका युवा समूहका सदस्यले अभियानको हिस्सा बन्नका लागि उद्देश्य, आवेदन प्रक्रिया, अनुदान कार्यान्वयन र छनोट संयन्त्रका बारेमा युवाले नेरेसो केन्द्रीय कार्यालयमा हालै औपचारिक कार्यक्रम आयोजना गरी अभियानको थालनीसमेत गरेका छन् ।

कार्यक्रममा नेरेसोका युवा स्वयंसेवक बन्दना पोखरेल, गीता रावल, सुजन खतिवडा र प्रतिभा दवाडी लगायतले अभियानका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अर्जुनबहादुर श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्दै सबै पालिकामा नेपाल रेडक्रसका जुनियर युवा रेडक्रस सर्कललाई सहभागी गराएर जलवायु परिवर्तनको अभियान सञ्चालन गर्न सकिएमा अझ प्रभावकारी हुने बताउनुभयो । उहाँले नेपाल रेडक्रसले सञ्चालन गरेको यस अभियानमा सहयोग र सहजीकरणका लागि मन्त्रालयको साथ रहने जानकारी दिनुभयो । नेरेसोका निर्देशक उमेशप्रसाद ढकालले जलवायु परिवर्तन वर्तमान र भावी पुस्ताका लागि सबैभन्दा महत्वपूर्ण मुद्दामध्ये एक भएको बताउनुभयो ।

सोसाइटीका जुनियर तथा युवा विभागका निर्देशक मोना अर्यालले जलवायु परिवर्तन विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न युवालाई नेतृत्व दिने, उनीहरूलाई संलग्न गराउने, उनीहरूका नवीनतम् विचारलाई सहयोग गर्ने र स्थानीयस्तरमा समाधानका लागि नवीनतम् सोचप्रवद्र्धन गर्ने नेपाल रेडक्रसको प्रयास रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा आइएफआरसी एशिया प्रान्तीय क्षेत्रका युवा प्रतिनिधि मारिको हिराइले जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानमा नेपाली युवाको भूमिका महत्वपूर्ण रहने विचार व्यक्त गर्नुभयो । नेरेसो आबद्ध स्वयंसेवक र अन्य युवालाई सो कार्यक्रममा आबद्ध हुन आवेदन दिन आहृवानसमेत गरिएको छ । नेरेसो र आइएफआरसीले जलवायु परिवर्तनका प्रभावलाई कम गर्ने नवीन विचार आदानप्रदान गर्नका लागि परिवर्तनको वाहक बन्न आग्रहसमेत गरेको छ ।

निर्देशक अर्यालका अनुसार सो अभियानले प्रारम्भिक चरणमा १०० भिडियो छनोट गर्ने र सोही क्रममा अभियानलाई अगाडि बढाउँदै लैजाने योजना रहेको छ । आवेदनसम्बन्धी आवश्यक जानकारी नेरेसोको हटलाइन सेवा ११३० रे वेवसाइटबाट समेत प्राप्त गर्न सकिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?