विदेशिन बाध्य जनता र मिश्रित अर्थतन्त्र

Read Time = 13 mins

✍️ स्वयम्भुनाथ कार्की

विश्वका केही मुलुकहरू विश्व रोजगारदाता भएका छन् । केही रोजगारदाता मुलुकहरू कोही अस्थायी रोजगारदाता भने श्रमआज्ञा दिएर आफूलाई चाहिने जनशक्ति लिन्छन् । विश्व अन्य धेरै मुलुक भने श्रमिक उत्पादन कारखाना शरह भएका छन् । श्रमिक उत्पादक मुलुकका नागरिकहरूमा अमेरिका जस्ता मुलुकमा बसोवासको अनुमति पाउनु वा कोरिया जस्ता मुलुकमा श्रमिक भएर जान पाउनुलाई भाग्यको रूपमा हेर्ने चलन बढ्दै गएको छ । पराइ मुलकमा बसाइँ जान पाउनु वा कमाई हुने मुलुकमा श्रम गर्न जान पाउनुलाई भाग्यको रूपमा हेर्ने मुलुकमा प्रायः समाजवादी अर्थ व्यवस्था पाइन्छ । अनि जुन मुलुकका जाने सपना यस्ता मुलुकका नागरिकले लिएका हुन्छन् ती सबैजसो मुलुकहरूले पुँजीवादी अर्थ व्यवस्था अपनाएको पाइन्छ ।

समाजवादले साम्यवादी अर्थ व्यवस्था अपनाउँदैन । त्यसै गरेर पुँजीवादी अर्थ व्यवस्था पनि अपनाउँदैन । ज्यादा बामझुकाउ भएको मिश्रित अर्थव्यवस्था साम्यवादी समाजवाद हो । त्यसै गरेर दक्षिण झुकाउ भएको मिश्रित अर्थव्यवस्था प्रजातान्त्रिक समाजवाद हो । त्यसैले समाजवाद मिश्रित धारणा हो अनि यसअन्तर्गतको अर्थव्यवस्था मिश्रित अर्थव्यवस्था हो । यस्तो मिश्रणमा पुँजीवाद र साम्यवादको कुन अनुपात छ त्यो मात्र फरक हो । अनि यो युगमा देखिएको अवस्था भने श्रमिक आपूर्तिकर्ता मुलुकमा मिश्रित अर्थ व्यवस्था भेटिन्छ । रोजगारदातामा मिश्रित अर्थव्यवस्था पाइँदैन । कुनै मिश्रित अर्थव्यवस्था भएको मुलुकमा भएका रोजगारदाताले वैदेशिक श्रमिक खोजे पनि त्यो अल्पसमयको निमित्त हुन्छ । किनभने समाजवादी अर्थात् मिश्रित अर्थतन्त्र अपनाउने मुलुकहरूको संरचनाले विदेशी कामदार सहज ग्रहण गर्दैन ।

रोजगारदाता र श्रमिक आपूर्ति गर्ने मुलुकहरूमा आपसीसम्बन्ध समानस्तरको नहुन सक्छ, रोजगारदाता मुलुक श्रमिकको मुलुकभन्दा आफूलाई उच्च ठान्ने मानसिकताले ग्रस्त हुन्छ । बेलाबेलामा यस्ता मुलुकका राजदूतहरूले आफ्नो मान्यताक्रमभन्दा माथि उक्लेर व्यवहार गरेको पनि देख्न पाइन्छ ।

रोजगारमा जाने यस्ता कतिपय मुलुकहरूमा प्रवेश पाउन त्यहाँको भाषा ज्ञान अनिवार्य जस्तो हुन्छ । आफ्ना नागरिक श्रमिक भएर काम गर्ने मुलुकमा जान पाउन भनेर सीप सिकाउने, सम्बन्धित मुलुकको भाषा सिकाउने जस्ता काम श्रमिक आपूर्तिकर्ता सरकारहरूले गरेको पाइन्छ । श्रमिक आपूर्ति गर्ने यस्ता मुलुकका सरकार कतिपय अवस्थामा आफ्ना श्रमिक र रोजगारदाताको बीचमा सहजकर्ताका भूमिका निर्वाह गर्ने गर्दछन् ।

रोजगारदाता मुलुकमा रहेका राजदूतहरू दूतभन्दा श्रमसहचरीको भूमिकामा ज्यादा हुन्छन् । श्रम गन्तव्यमा अरूले भन्दा सहज र किफयती खर्चमा जान सक्ने व्यवस्था गर्ने वाचा निर्वाचनमा मतदाता तान्ने कार्यक्रम हुन पुग्छ श्रमिक अपूर्तिकर्ता मुलुकका दलहरूको । यस्तो अवस्थामा चाहे श्रमिक आपूर्तिकर्ता र रोजगारदाता मुलुक समान मर्यादामा हुनु भनेको आदर्श कुरा हुन्छ । व्यवहारमा समान मर्यादा देखिन्न । यो एक तीतो घुट्को हो जो अनेकौं अवसरमा देखिने गर्दछ ।

मित्र देशमा आफ्नो देशको राजदूत राख्ने प्रचलन छ । यस्ता राजदूतले आफू कार्यरत रहेका मुलुकमा आफ्नो मुलुकको प्रतिनिधित्व गर्दछ । राजनीतिक वा कूटनीतिक जिम्मेबारीको साथसाथै आफ्नो मुलुकको आर्थिक हित हेर्नु पनि राजदूतको कर्तव्यभित्र पर्न आउँछ । आफ्नो मुलुकको व्यापारिक हित हेर्ने क्रममा कहिले काहीँ रोजगारदाता मुलुकका राजदूतहरू श्रमिक आपूर्ति गर्ने मुलुकमा मान्यताक्रमको उलंघन पनि गर्न पुग्छन् । यसै गरेर रोजगारदाता मुलुकमा श्रमिक आपूर्ति गर्ने मुलुकको राजदूत कहिलेकाहीँ श्रमिक आपूर्तिकर्ता गल्लावालको भूमिकामा पुग्ने गर्दछ ।

यस्ता मुलुकहरूमा आपसीसम्बन्ध समानस्तरको नहुन सक्छ, रोजगारदाता मुलुक श्रमिकको मुलुकभन्दा आफूलाई उच्च ठान्ने मानसिकताले ग्रस्त हुन्छ । बेलाबेलामा यस्ता मुलुकका राजदूतहरूले आफ्नो मान्यताक्रमभन्दा माथि उक्लेर व्यवहार गरेको पनि देख्न पाइन्छ । सरकार प्रमुखसँगको भेटमा उपरखुट्टी लगाउने विदेशी राजदूतहरूको नेपाल जस्तो मजदुर आपूर्तिकर्ता मुलुकमा बाहुल्य नै छ ।
मुलुकमा रोजगारीको कमी, आफ्नो योग्यताअनुसारको काम र दाम नपाएको गुनासोले विदेशिन बाध्य भएकाको मुलुकमा अधिकांश मुलुक साम्यवादी वा समाजवादी आर्थिक व्यवस्था भएका मुलुकहरू छन् भने यस्तालाई रोजगारी दिनेहरू साम्यवादी वा समाजवादीहरूले दिनरात धारे हात लगाउने गरेको पुँजीवादी अर्थ व्यबस्था नै भएका मुलुक छन् । यो सत्य उजागर गर्नुको अर्थ यो आलेखको प्रयोजन पुँजीवादको समर्थन कदापि होइन ।पुँजीवादी आर्थिक प्रणालीमा पनि प्रसस्त नराम्रा पक्ष छन् तर यसले अपनाएको अर्थिक स्वतन्त्रताले नै पूर्ण सरकार नियन्त्रित साम्यवादी अर्थव्यवस्था वा अर्धनियन्त्रित समाजवादी व्यवस्थाभन्दा ज्यादा आर्थिक उन्नति हुँदोरहेछ भन्ने कुरा चाहिँ सावित हुन्छ । उदाहरणका रूपमा साम्यवादी वा समाजवादी मुलुकका आफ्नो मुलुकमा उच्च तहमा बसेर काम गरिसकेका प्रसस्त व्यक्तिहरू अमेरिका, क्यानडालगायत मुलुकका पेट्रोल पम्पमा पेट्रोल भर्ने काम गरिरहेका भेटिन्छन् ।

हुन त आर्थिक रूपले जति नै सबल भए पनि पुँजीवादी मुलुकहरूमा मानवीय सम्वेदना, पारिवारिक अपनत्व जस्ता कुराहरू दुर्लभ हुँदै गएको कुरा सुनिन्छ । आफ्नो शिशुलाई वात्सल्य दिन पनि कानुनले बाध्य पर्नुपर्ने तथा एक्लो हुँदै गएको बुढ्यौली उत्पादनका साधनहरूको कुनै एक ठाउँमा केन्द्रित हुनु नै हो । चाहे सरकारको हातमा, चाहे समुदायको वा केही पुँजीपतिको हातमा होस् उत्पादनका साधनहरूको र अर्थतन्त्रको संग्रह मानव जीवनको निमित्त त हानीकारक नै हो । साम्यवादी वा समाजवादी मुलुककाहरू पुँजीवादी मुलुकहरूमा आफ्ना परिवार तथा प्रियजन छोडेर श्रम गर्न जानुपर्ने अवस्थालाई राम्रो अवस्था भन्न सकिँदैन ।

पुँजीवादी मुलुकहरूमा पारिवारिक मूल्य र मान्यताको ह्रास हुँदै गएर विखण्डन हुँदै गएका परिवार हुन वा यस्तै पुँजीवादी मुलुकहरूमा श्रम गर्न गएर मनमा माया तथा स्नेह भएर पनि विखण्डित हुनुपरेको परिवारिक अवस्था होस् दुवैको परिणाम परिवारिक विखण्डन नै हो । आफ्ना बन्धुबान्धवबाट टाढा, आफू जन्मे हुर्केको परिवेशभन्दा टाढा केवल जीवनयापनको निमित्त मात्र इच्छाविपरीत बस्नुपर्ने अवस्थामा पीडा हुन्छ । उपभोगवादी जीवनशैलीका कारण स्वेच्छाले परिवार विखण्डन रोजेका र आपूm जन्मे हुर्केको ठाउँप्रति कुनै लगाव नभएका विकसित मुलुकका नागरिकहरूमा पनि पीडा हुन्छ । यी दुई पीडा एकै किसिमका त होइनन् तैपनि दुवैको परिणाम त एकै हो एक्लो हुँदै गएको बुढ्यौली ।

साम्यवादी वा समाजवादी अर्थव्यवस्था भएका मुलुकका सर्बसाधारणले भोग्नुपरेको यस्ता पीडाको एउटै ओखती भनेको मध्यमवर्गीय आर्थिक व्यवस्था नै हो जसमा उत्पादनका साधनको स्वामित्व सर्वसाधारण व्यक्तिहरूमा हुन्छ, कसैको हस्तक्षेपबेगर काम गरेर आफ्नो परिवेश, थातथलोमा आफ्ना बन्धुबान्धवसँग प्रसन्न भएर जीवनयापन गर्छ ।

शैशव अवस्थाबाट श्रम गर्नसक्ने अवस्थासम्म पुर्‍याउने आफ्नो परिवेशलाई त्यसले आफूप्रति गरेको स्नेहलाई चटक्कै छोडेर जानुपर्ने कुरा सहज होइन । पाखुरीमा बल हुन्जेल अर्काको मुलुक बनाउन श्रमिक भएर जानुपर्ने विवशता । अनि आसक्त भएपछि काम गर्ने तागत समाप्त भएपछि वा प्राण सकिएपछि रस निचोरेको खोष्टोसरह भए आफ्नो थातवास फर्कनुको पीडा कल्पना गर्न त कठिन हुन्छ भने भोग्न झन् कस्तो होला ?

साम्यवादी वा समाजवादी अर्थव्यवस्था भएका मुलुकका सर्वसाधारणले भोग्नुपरेको यस्ता पीडाको एउटै ओखती भनेको मध्यमवर्गीय आर्थिक व्यवस्था नै हो जसमा उत्पादनका साधनको स्वामित्व सर्वसाधारण व्यक्तिहरूमा हुन्छ, कुनै प्रकारको कसैको पनि हस्तक्षेपबेगर स्वतन्त्र काम गरेर आफ्नो परिवेश, थातथलोमा आफ्ना बन्धुबान्धवसँग प्रसन्न भएर जीवनयापन गर्छ । आफ्ना परिजनबीचमा बुढ्यौली बित्छ र आफन्त वरिपरि भएको अवस्थामा आफ्नै पिँढीमा प्राण त्याग गर्न पाउँछ । आफूसँग उत्पादनको साधन भएका सर्वसाधारण कुनै विशाल यन्त्रका पुर्जा नभई एक एकाइ स्वतन्त्र व्यक्ति हुन्छन् ।

सरकारको काम जनताको हित गर्नु हो, बलियालाई निर्धामाथि अत्याचार गर्न नदिनु हो अनि उन्नति गर्ने प्रयत्नमा सहायक बन्नु हो । कसैको गाँस गनेर बस्नु सरकारको काम होइन, व्यापार वा उद्योग चलाएर घाटानाफाको हिसाब गर्नु होइन । जनताप्रति गर्न पर्ने कर्तव्य पूरा नगर्नु सरकारको घाटा हो । यो मान्यता नै मध्यमवर्गीय अर्थतन्त्रको मेरुदण्ड हो । मिश्रित अर्थव्यवस्था अपनाएर जनतालाई गल्लावाल भैmँ विदेशमा श्रम गर्न पठाएर रेमिट्यान्सको कमाइमा रमाउने शासन व्यवस्था कि आत्मनिर्भर तथा स्वाभिमानी मध्यम वर्गीय अर्थव्यवस्था अब विश्वभरका मध्यमवर्गले छान्नुपर्ने बेला आउँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?