बागलुङ । सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनः सञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव-२०७९’ सुरु गरिएको छ ।
काठेखोला गाउँपालिका-५ रामकोट धाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाट धामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्दगिरी महाराजले शुभारम्भ गर्नुभयो । रामकोट धामका संस्थापक दिवङ्गत स्वामीश्री १००८ परमानन्द सरस्वती महाराजले विसं २०३१ मा स्थापना गर्नुभएको उक्त गुरुकुल विसं २०५६ मा बन्द भएको थियो ।
गुरुकुल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाट धाममा रहेको गुरुकुल विद्यापीठमा लगिएको थियो । पुनः रामकोट धामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताउनुभयो ।
यही मङ्सिर २८ गतेसम्म चल्ने महोत्सवमा देशभरबाट सन्त, महात्माहरुको उपस्थिति रहने जनाइएको छ । झाँकी प्रदर्शनी, हेलिकप्टरबाट पुष्प वृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजा अर्चना, भजन सङ्र्कितन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च गरिनेछ ।
“महोत्सव सुरु हुनुभन्दाअगावै रु ६५ लाख जति जुटिसकेको छ, त्यति नै रकम सहयोगको प्रतिबद्धताआएको छ”, उहाँले भन्नुभयो । महोत्सवबाट रु तीन करोड बढी आर्थिक सहयोग जुटाउने लक्ष्य लिइएको छ । गुरुकुल पुनः सञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिएकाले देश विदेशमा रहेका दाता र शुभेच्छुकबाट सहयोग आउने क्रम जारी छ ।
बिहुँकोट अन्तर्राष्ट्रिय समाजको सञ्जालमार्फत बढीमात्रामा सहयोग जुटिरहेको हो । संस्कृत पाठशाला पुनःसञ्चालन भएमा संस्कृत विद्या र सनानत संस्कृतिको संरक्षणमा टेवापुग्ने विश्वास लिइएको छ । परमानन्द सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले राजनीतिक परिवेश प्रतिकुल हुँदा गुरुकुललाई रामकोट धामबाट देवघाट लैजानु परेको उल्लेख गर्नुभयो ।
“अब फेरि रामकोट धाममा गुरुकुल पुनः प्रतिस्थापन गर्न सकिन्छ की भनेर यो सङ्कल्प लिएका छौँ”, उहाँले भन्नुभयो, “सबैको साथ सहयोगको खाँचो छ ।”आर्थिक स्रोत र संरचनाको जोहो भएमा छिट्टै गुरुकुल सञ्चालनमाआउने उहाँको भनाइ छ ।
गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनुपर्ने ज्ञानानन्द सरस्वतीले बताउनुभयो । “संस्कृतले नै संस्कृतिको व्याख्या गर्छ”, उहाँले भन्नुभयो, “धर्म संस्कृतिको प्रचार, दर्शन शास्त्रसँगै आधुनिक शास्त्रको प्रवर्द्धनमा पनि गुरुकुल शिक्षाले टेवा पुर्याउँछ ।”
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका