६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरीयतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट हुनुभयो ।

पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनियाँ, शिवसुन्दर गोथे र प्रदीप रोक्का गरी पाँचै खेलाडी छनोट हुनुभयो । महिलातर्फ नेपाल वरीयता एककी नविता श्रेष्ठमात्रै छनोट हुन सफल हुनुभयो । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठ भने १६ वरीयतामा पर्न असफल हुनुभयो ।

समूह चरणमा विजयी हुँदै संयोग, रुविन, बिनेश र नविता छनोट भइसक्नुभएको थियो । शिव र प्रदीप शीर्ष १६ वरीयतामा स्थान बनाउँदै छनोट हुन सफल हुनुभयो ।
अन्तिम खेलमा शिव पाकिस्तानका हसिव ख्वाजासँग सोझो सेटमा हार्न पुग्नुभयो । शिवले अब नवौँ वरीयताका लागि बंगलादेशका नाफिज इक्वालसँग प्रतिस्पर्धा गर्नुहुनेछ । यसैगरी प्रदीप बंगलादेशका रामहिमलियान वानसँग तीन-दुईको सेटमा पराजित भए पनि १६औँ वरीयतामा रहन सफल हुनुभयो ।

पुरुषतर्फ नेपालका पाँच खेलाडी छनोट हुँदा पाकिस्तानका चार, बंगलादेश, भारत र श्रीलंकाका दुई-दुई खेलाडी तथा माल्दिभ्सका एक खेलाडी छनोट हुनुभयो । पुरुषतर्फ पाकिस्तानका हसिव खवाजा, मोहम्मद शाह खान, फहाद खवाज र फइजान जाहुर छनोट हुनुभयो । भारतका सनिल शंकर सेटी र हर्मित राजुल देसाइ छनोट हुँदा श्रीलंकाका प्रसाद जयशंका डी सिल्भा र भुवनेका निर्मला बन्दरा जयासिंघे भएका हुनुभएको छ । यसैगरी बंगलादेशका रामहिमलिआन बाव र नाफिज इक्वाल तथा माल्दिभ्सका मुसा मुन्सिफ अमहेन छनोट हुनुभयो ।

महिलातर्फ शीर्ष वरीयतामा भारत र श्रीलंकाका पाँच-पाँच खेलाडी छनोट हुँदा पाकिस्तान तीन र माल्दिभ्स, नेपाल र बंगलादेशका समान एक खेलाडी छनोट भएका छन् । भारतकी मनिका बट्रा, श्रीजा अकुला, रीथ रिस्या टेनिसन, अर्चना गिरिस कमाथ र दिया पाराङ चितल छनोट हुनुभयो । यसैगरी श्रीलंकाबाट विमन्दी सन्दिन्सा स्वा, मनिषा शालिन्दी, तामादी काभिन्ध्या, कसुनी हिमाय पितिगला, ओनेली लेहान्सा डोना छनोट हुनुभयो । पाकिस्तानकी हुर फवाद, पेनिया जहान खान र हाइक्वा हसन गरी तीन खेलाडी छनोट हुनुभयो । यस्तै, माल्दिभ्सकी फाथिमथ धिमा अलि, बंगलादेशकी आइशे रोहमन र नेपालकी नविता छनोट हुन सफल हुनुभयो ।

एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?