सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकतर्फ २१ मध्ये १८ महिला सांसद, ६ वटा दलको प्रतिनिधित्व

हिमालय टाइम्स
Read Time = 5 mins

यज्ञराज जोशी/हिटा
धनगढी । दलहरूले निर्वाचन आयोगलाई समानुपातिकतर्फ सांसद बन्ने उम्मेदवारहरूको नाम बुझाउँदा सुदूरपश्चिम प्रदेशबाट प्रदेशसभामा सांसद बन्ने २१ समानुपातिक सदस्यमध्ये १८ जना महिला परेका छन् । प्रदेशसभामा प्रत्यक्षतर्फ कुनै पनि महिला उम्मेदवार निर्वाचित नभएकाले राजनीतिक दलले समानुपातिक प्रणालीअन्तर्गत २१ जनामध्ये १८ जना महिला छनोट गर्नुपरेको हो । प्रदेशसभामा एकतिहाइ महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी ६ वटा दलको प्रतिनिधित्व छ ।

प्रदेशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले आफ्ना भागमा परेका सातजनै समानुपातिक सांसदमा महिलाहरूलाई पठाएको छ । कांग्रेसबाट सुदूरपश्चिम प्रदेशसभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुलसी देवकोटा तथा थारूबाट गीताकुमारी चौधरी सांसद बन्ने हुनुभएको छ ।

यस्तै, सातवटै सिट पाएको एमालेले पाँचजना महिला र दुईजना पुरुषलाई समानुपातिक प्रतिनिधित्व गराएको छ । एमालेबाट खस आर्यतर्फ सन्तोष कुमारी शमाय (थापा), जानकी बम (ऐर), थारूतर्फ कोइलीदेवी चौधरी, दलिततर्फ हिरा सार्की, पिछडिएको क्षेत्रबाट निर्मलादेवी साउद महिला सांसद बन्ने हुनुभएको छ । त्यसबाहेक एमालेले पुरुष खस आर्यतर्फ राजेन्द्र सिंह रावल र धर्मराज पाठकलाई सांसद बनाउने भएको छ । यस्तै, तीन सिट पाएको नेकपा माओवादी केन्द्रले पनि तीनवटै समानुपातिक सांसद महिला बनाउने भएको छ । माओवादीले दलितबाट लक्ष्मी बिक, महिलाबाट गीतादेवी माल र जानकी कुँवर पौडेलको नाम निर्वाचन आयोगलाई बुझाएको छ ।

यस्तै, दुई सिट पाएको नागरिक उन्मुक्ति पार्टीले दामोदर पण्डित र सुनिता चौधरीलाई समानुपातिक सांसद बनाउने भएको छ । एक सिट पाएको नेकपा एकीकृत समाजवादीले पनि महिला सांसदका रूपमा माया पन्त तथा एक सिट नै पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पनि खेमादेवी विष्ट समानुपातिक सांसद बन्नुहुने भएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा यसपल्ट १२ प्रत्यक्ष र सात समानुपातिक गरी १९ जनासहित कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । प्रत्यक्षतर्फ आठ र तीन समानुपातिक गरी ११ सिटसहित माओवादी केन्द्र दोस्रो ठूलो दल रहेको छ । नेकपा (एमाले)बाट तीनजना प्रत्यक्ष र सात जना समानुपातिक गरी १० सदस्य छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट तीनजना प्रत्यक्ष र एकजना समानुपातिक गरी चार जनाको प्रतिनिधित्व छ ।

पहिलोपल्ट निर्वाचन लडेको नागरिक उन्मुक्ति पार्टीबाट पाँच प्रत्यक्ष र दुईजना समानुपातिकमा गरी सातजना निर्वाचित भएका छन् भने राप्रपाबाट एक र एकजना स्वतन्त्र सांसद छन् ।

प्रतिनिधिसभामा चारजना
प्रतिनिधिसभातर्फ सुदूरपश्चिमबाट चार जनाले समानुपातिकतर्फ सांसद बन्ने अवसर पाएका छन् । नेपाली कांग्रेसबाट डडेल्धुराबाट आरजू राणा देउवा तथा कैलालीबाट ईश्वरी न्यौपाने समानुपातिक सांसद बन्ने सूचीमा पर्नुभएको छ । यस्तै, नेकपा एमालेले खस आर्यबाट बाजुराका दयालबहादुर शाहीको नाम छनोट गरेको छ भने नेकपा माओवादी केन्द्रले थारू महिलातर्फ कैलाली निर्वाचन क्षेत्र नं. १ की रूपा सोसी चौधरीलाई समानुपातिक सांसद बनाउने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?