प्रतिनिधिसभाको समानुपातिकतर्फ सबै दलको सूची ठिक, प्रदेशसभामा भने केही सच्याउनुपर्ने

नारायण भण्डारी
Read Time = 5 mins

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरूलाई समय दिएको छ । आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरूलाई सच्याएर पुनः विवरण पठाउन सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो । आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभा अन्तर्गत दलहरूले बुझाएको समानुपातिक उम्मेदवारहरूको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताउनुभयो । केही राजनीतिक दलहरूले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरूलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । दलहरूले समानुपातिकतर्फ पाएको मतको आधारमा निर्वाचन आयोगले सिट संख्या तोकेर नाम पठाउन दलहरूलाई पत्राचार गरेको थियो । त्यसपछि शनिबार दलहरूले आ–आफूले पाएको सिटमा नाम पठाएका थिए ।

‘प्रतिनिधिसभातर्फ पेस भएको बन्दसूचीको विवरणमा कुनै पनि सच्याउनुपर्ने अवस्था छैन । सबै दलले पेस गरेको विवरण ठिक छ’ उहाँले भन्नुभयो । प्रदेशसभामा पेस गरेको नाममा भने केही त्रुटि देखिएको सहप्रवक्ता वाग्लेले बताउनुभयो । अल्पसंख्यक दुईजना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरेको, मुस्लिममा एक नम्बरको सिफारिस नगरेर दुई नम्बरको प्राथमिकता क्रममा रहेको व्यक्तिलाई सिफारिस गरेको, अल्पसंख्यक पुगिसकेपछि फेरि अल्पसंख्यककै समूहको व्यक्ति सिफारिस गरेको पाइएको आयोगले बताएको छ ।

त्यस्तै, अल्पसंख्यक एकजना हुनुपर्नेमा दुई जनाको नाम सिफारिस गरेको, खस आर्यको पहिलो प्राथमिकता क्रमको सिफारिस गर्नुपर्नेमा दोस्रो प्राथमिकता क्रमको सिफारिस गरेको, सातजना सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरेको, महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस गरेको पनि भेटिएको वाग्लेले बताउनुभयो ।

उहाँले आयोगले दलहरूबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरूलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने बताउनुभयो । उहाँले १४ वटा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारहरूको नामावली पेस गरेका उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले सात, जसपाले पाँच, जनमत पार्टीले पाँच सांसदको नाम पठाएका छन् । आयोगले मंसिर २९ भित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ । त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ ।

आजदेखि निर्वाचन आचारसंहिता नरहने
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (आज) देखि लागू नरहने निर्णय गरेको छ । आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो । उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?